अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पैसामा पार्टी बेच्नेले कांग्रेस जोगाउन सक्दैनन्: शेरबहादुर देउवा

पैसामा पार्टी बेच्नेले कांग्रेस जोगाउन सक्दैनन्: शेरबहादुर देउवा


काठमाडौं-नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लगाएका छन्। उनले पार्टीको आधिकारिकताबारे अदालतबाट न्यायपूर्ण निर्णय हुने विश्वास व्यक्त गर्दै आफूहरू नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिको १५औँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाएका हुन्। निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिइएको र त्यसपछि अर्को पक्षको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै उनले यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताए।

एक व्यक्तिले १८ करोड रुपैयाँ दिएको भन्ने अभिव्यक्तिसमेत सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै देउवाले पैसाको बलमा पार्टीको आधिकारिकता प्रभावित पार्ने प्रयास भएको आरोप लगाए। उनले पार्टीको राजनीतिक मूल्य, सिद्धान्त र पहिचानलाई पैसासँग साट्न नसकिने धारणा राखे।

देउवाले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गर्दै पैसामा पार्टी बेच्नेहरूले कांग्रेस जोगाउन नसक्ने टिप्पणीसमेत गरे। पार्टी विधि, विधान र कार्यकर्ताको विश्वासका आधारमा सञ्चालन हुनुपर्ने उनको भनाइ थियो।

उनले पार्टीको आगामी महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवारी नदिने स्पष्ट पार्दै पार्टीलाई बलियो बनाएर देशको सेवा गर्ने आफ्नो इच्छा रहेको बताए । आफूले पार्टीबाट धेरै पाइसकेको उल्लेख गर्दै सबैलाई समेटेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

कांग्रेसको रुख चुनाव चिह्न कायम रहनेमा आफू आशावादी रहेको बताउँदै देउवाले आधिकारिकतासम्बन्धी विवादमा अदालतले न्याय दिने विश्वास व्यक्त गरे।