काठमाडौं-कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनलाई पूर्ण इजलासले सोमबार ‘हेर्दाहेर्दै’मा राखेको छ।
सोमबार पूर्ण इजलासमा सुनुवाइ सुरु गरिएको उक्त रिट निवेदनमाथि बहस जारी रहेकाले ‘हेर्दाहेर्दै’मा राखिएको हो। आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिट निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। सोही आदेश अनुसार सोमबार न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीसहितको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ सुरु भएको हो।
कोशी प्रदेशसभाका एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङसहितलाई विपक्षी बनाएर भदौ १७ गते रिट निवेदन दर्ता गराउनु भएको थियो।
प्रदेशसभा अध्यक्षता गरेको व्यक्तिले मतदान गर्न नपाउने भए पनि मुख्यमन्त्री थापालाई प्रदेशसभा अध्यक्षता गरेका व्यक्तिले समेत मतदान गरेको भन्दै रिट निवेदनमा यसरी लिइएको विश्वासको मत असंवैधानिक रहेको दाबी गरिएको छ।




प्रतिक्रिया