अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री किराँतीको भनाइप्रति एमाले सांसद सुनिता बरालको आपत्ति 

मन्त्री किराँतीको भनाइप्रति एमाले सांसद सुनिता बरालको आपत्ति 


नेकपा एमाले सांसद सुनिता बरालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा उपस्थित मन्त्री किराँतीलाई बरालले ‘मन्त्रालय कसले चलाउँछ भन्नेबारे थाहा नभएको भन्ने अभिव्यक्ति गैरजिम्मेवार भएको उल्लेख गर्नुभयो।

उहाँले मन्त्रालयको बजेट कसले बनाएको भन्नेबारे थाहा नभएको र टिकटमा लगाइएको भ्याटबारे पनि अनभिज्ञता प्रकट गरेकामा आपत्ति जनाउनु भयो । उहाँले भन्नुभयो, ‘मन्त्रीज्यूले मन्त्रालय नै कसले चलाउँछ भन्ने थाहा नभएको बताउँदै हिँड्नुभएको छ। टिकटमा भ्याट लागेको कुरा थाहा छैन, मन्त्रालयको बजेट कसरी बन्यो भन्ने पनि थाहा पाइन भन्ने उहाँको कुरा ठीक भएन। पर्यटन मन्त्रालयसँग सम्बन्धित विषयमा मन्त्रीलाई थहा हुँदैन भने हामीले कसलाई थाहा हुन्छ ?’

उहाँले आफूलाई मन्त्रालयबारे केही थाहा छैन भन्नुभन्दा काम गर्न नसकेको स्वीकार गर्नु बुद्धिमानी हुने सुझाव किराँतीलाई दिनु भयो।

मन्त्रालय कसले चलाइहरेको छ र कसले काम गर्न नदिएको हो भन्नेबारे समितिलाई जानकारी चाहिने उहाँको भनाइ थियो।

प्रधानमन्त्रीको तहबाट काममा अवरोध आएको भए आफूहरूलाई जानकारी गराउन भन्दै बरालले त्यसमा सहजीकरण गर्न समिति लाग्ने उल्लेख गर्नु भयो ।

‘मन्त्रीले नै त्यस्ता कुरा गर्दै हिँडेपछि पर्यटन मन्त्रालयको नेतृत्व को हो भन्ने प्रश्न उठेको छ’, उहाँले भन्नुभयो, ‘मन्त्रीज्यूले थाहा छैन होइन मेरो ठाउँबाट मैले सकिन मभन्दा माथि प्रधानमन्त्रीज्यूकहाँ जानुपर्छ भनेर लाग्नुभयो भने हामी पनि लागौंला।’