काठमाडौं-नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको घटनाको भर्त्सना गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ।
कांग्रेस सहमहामन्त्री समेत रहेका नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष एवम् पूर्वमन्त्री समेत रहेका महेन्द्र यादवमाथि भएको सांघातिक हमलाप्रति ध्यानाकर्षण जनाएको हो ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’नेपाल सरकारको पूर्व मन्त्री जस्तो व्यक्तिलाई दिनदहाडै सार्वजनिक स्थलमा ज्यान मार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार हुनु निन्दनीय छ। यस घटनाको घोर भर्त्सना गर्दछौं। देशमा आम नागरिकको जिउ ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्णरुपले असफल भएको यस घटनाले पुष्टि गरेको छ।
यस घटनाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र गृह मन्त्रालयले लिनुपर्ने पनि नेविसंघले स्पष्ट पार्दै राजीनामा दिनुपर्ने नेविसंघले माग गरेको छ । नेविसंघले भनेको छ, ‘राजधानीको सार्वजनिक स्थलमा पूर्वमन्त्री जस्तो व्यक्तिको सुरक्षा गर्न नसक्ने नालायक गृहमन्त्रीको राजीनामा समेत माग गर्दछौं।’
नेविसंघले आक्रमणमा परी घाइते भएका नेता महेन्द्र यादवको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।
नेविसंले आक्रमणमा संलग्न अपराधी र जोडिएका पक्षबारे सूक्ष्म अनुसन्धान गरी कडाभन्दा कडा कारबाहीको माग गरेको छ।






प्रतिक्रिया