अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेम्वाङको पार्थिव शरीर च्यासलबाट घर लगियो

नेम्वाङको पार्थिव शरीर च्यासलबाट घर लगियो


काठमाडौँ-नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलबाट निवासमा लगिएको छ। 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिएको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो। निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ। 

मङ्गलबार बिहान हृदयघातका कारणले निधन हुनुभएका नेता नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि उहाँको पार्थिव शरिर मङ्गलबार दिउँसोदेखि आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालयमा राखिएको थियो।

 पार्टी कार्यालयमा नेता श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत नेता तथा कार्यकर्ता एवं सर्वसाधारण पुग्नुभएको थियो। 

 नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ।