अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुवास नेम्वाङको शवयात्राको रुट तय

सुवास नेम्वाङको शवयात्राको रुट तय

बालुवाटार निवासदेखि पशुपति आर्यघाटसम्म यी रुटमा हुनेछ शवयात्रा


काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको शवयात्राको रुट तय भएको छ। नेम्वाङको शव यात्राका लागि बालुवाटारस्थित निवासदेखि पशुपति आर्यघाटसम्मको रुट तय गरिएको हो।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले विज्ञप्ति जारी गर्दै शव यात्राको रुट सार्वजनिक गरेको छ। स्व‍. नेम्वाङको अन्त्येष्टी यही भदौ २८ गते बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिनेभएको छ।

नेम्वाङको शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज-नारायणगोपाल चोक-धुम्वाराही-चावहिल-गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ।

‘उहाँको शवयात्रा त्यसअघि नै हुने हुँदा शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ-आफ्नो अनुकूलतामा निजी सवारी साधन हुनेहरू शङ्खपार्क, धुम्वाराही र सवारी साधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न हुन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

उपाध्यक्ष नेम्वाङप्रति श्रद्धाञ्जली अर्पणका लागि उहाँको पार्थिव शरीर आज दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो। त्यसपछि उहाँको पार्थिव शरीर बालुवाटारस्थित निजी निवासमा राखिएको छ।

संविधान सभाका अध्यक्ष स्व.नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालयमा आज पनि विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, ठूलो संख्यामा पार्टीका नेताकार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति रहेको बिष्टले जनाउनु भएको छ।

चीन भ्रमण छोट्याई आजै स्वदेश फर्कनुभएका महासचिव शंकर पोखरेलले उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।