काठमाडौं-संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । स्वर्गीय नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
पशुपति आर्यघाटमा नेम्वाङलाई उहाँका छोराहरुले दागबत्ती दिएका छन्। नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको छ।
स्व.नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, मन्त्रीहरु लगायतका नेता कार्याकर्ताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन्। नेम्वाङलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो।
त्यसअघि निजी निवास बालुवाटारबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्वाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिएको थियो।
नेम्वाङलाई अन्तिम बिदाइ गर्न पशुपति आर्यघाट पुगेकाहरू भारी मनका साथ नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिइरहेका छन्।
अन्तिम बिदाइ गर्नका उर्लिएको जनसागर थेगिनसक्नुको छ। पशुपति आर्यघाट भावविह्वल बनेको छ।
दाहसंस्कार गर्नुअघि उहाँलाई सैनिक तथा प्रहरीको टुकडीले राजकीय सम्मान दिइएको थियो । नेम्वाङको अन्तिम संस्कारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रीहरू, एमाले अध्यक्ष केपी ओली, दलका शीर्ष नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुकको बाक्लो उपस्थिति छ।
नेम्वाङको मङ्गलवार बिहान हृदयाघातबाट निधन भएको थियो । उहाँको सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिइएको छ।







प्रतिक्रिया