काठमाडौं-संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
नेम्वाङको पार्थिव शरीरमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन्।त्यसक्रममा नेपाली सेनाको एक टुकडीले नेम्वाङलाई अन्तिम सलामी अर्पण गरेको थियो।
नेम्वाङको राजकीय सम्मानसहित बिदाइ गरिएको हो। त्यसक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका शीर्ष नेताहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरे।
प्रधानमन्त्री दाहालले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएका थिए भने अध्यक्ष ओलीले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो ।
यसअघि बालुवाटारस्थित निवासबाट आर्यघाटसम्म शव यात्रा गरिएको थियो । सोमबार मध्यराति निधन भएका नेम्वाङको पार्थिव शरीर दुई दिन पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । विदेशमा रहेका दुई छोराहरु मिङ्सो र सुहाङ बुधबार स्वदेश फर्किएपछि आज उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।




प्रतिक्रिया