काठमाडौं-सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ। शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो।
योग्यता, क्षमता र अनुभवको आधारमा शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘न्याय परिषदबाट सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तीको लागि सिफारिस गरी मिति २०८५/५/११ मा समितिमा पत्र प्राप्त भएको थियो। संसदीय सुनुवाई समिसतिको मिति २०८०/५/१५ गते बसेको बैठकले प्रश्तावित सर्वोच्च अदालतको न्यायाधीश उपर उजुरीका लागि १० दिनको समयावधि राखि उजुरी सूचना प्रकाशन, प्रशारण गर्ने निर्णय गरेको थियो। उक्त अवधिमा निजउपर कुनैपनि सूचना वा उजुरी समिति समक्ष प्राप्त भएको थिएन। त्यसपछि आजै प्रस्तावित न्यायाधीशलाई समितिमा आमन्त्रित गरी संसदीय सुनवाई कार्य समेत सम्पन्न गरियो।’
शर्मामाथि संसदीय सुनुवाइ समितिमा कुनैपनि उजुरी परेको थिएन । न्याय परिषद्को गत भदौ १० गते बसेको बैठकले उहाँलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नु हुनेछ ।



प्रतिक्रिया