अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान दिवसको अवसरमा सरकारले विभूषण वितरण नगर्ने

संविधान दिवसको अवसरमा सरकारले विभूषण वितरण नगर्ने


काठमाडौं-संविधान दिवसको अवसरमा सरकारले राष्ट्रपतिबाट प्रदान गर्ने विभूषण वितरण कार्य स्थगित गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। विगतका वर्षमा संविधान दिवसको अवसरमा विभूषित हुनेको नामावली सार्वजनिक हुँदै आएको थियो। 

‘संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने। हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने’, मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ। 

त्यसैगरी, सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण स्वीकृत गरेको छ। 

यस्तै, कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय पनि भएको छ। 

यसैगरी, बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०–१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने गरेको छ । 
सरकारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितको न्यायिक समस्या स्थायी रुपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णयसमेत गरेको छ।

Skip This