अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तातोपानी नाकामा चहलपहल बढ्यो

तातोपानी नाकामा चहलपहल बढ्यो


चौतारा-दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामग्री, विद्युतीय सामान चीनका विभिन्न क्षेत्रबाट नेपाली व्यापारीले ल्याउन थालेका छन्।

तातोपानी नाकाबाट दसैँको सामान बोकेर दैनिक ३० कन्टेरको जाँचपास भई काठमाडौँ भित्रने गरेको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख दयानन्द केसी बताउनुहुन्छ। उहाँका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा रु एक करोड ६२ लाख राजस्व सङ्कलन भएको जनाइएको छ। आयातनिर्यात सहज भएमा सरकारले राखेको लक्ष्यअनुरूप राजस्व सङ्कलन हुने केसीको भनाइ छ। 

ट्रान्स सिल्क ग्रुपका संयोजक विजय शेर्पाका अनुसार जाडोका कपडा, जुत्ताचप्पल, तिहारका सामान, विद्युतीय सामग्री चीनबाट आइरहेका छन्। आयात भएका सामानमध्ये ५० प्रतिशत स्याउ रहेको शेर्पा बताउनुहुन्छ। नाकाबाट मानव आवतजावत खुला हुँदा तातोपानी क्षेत्रका होटल, लजसमेत भरिभराउ हुन थालेका छन्। 

विसं २०७२ को भूकम्प र कोरोना महामारीले थला परेको नाका आठ वर्षपछि सर्वसाधारणका लागिसमेत खुला भएपछि यस वर्ष भने नाकाबाट दसैँको सामान आपूर्ति हुन थालेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठ बताउनुहुन्छ। 

Skip This