अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गाजामा भएको आक्रमणको एमालेद्वारा निन्दा र भर्त्सना

गाजामा भएको आक्रमणको एमालेद्वारा निन्दा र भर्त्सना


काठमाडौँ-नेकपा एमालेले गएराती प्यालेस्टाइनी राज्यको गाजा शहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्सर्ना गर्नुभएको हाे।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा, आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले एमाले स्तब्ध भएको समेत बताएका छन्। 

‘रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ’, अध्यक्ष ओलीले भन्नुभएको छ, ‘हामी यस आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गर्दछौँ।’

नेकपा (एमाले) शान्तिको पक्षमा रहेको र जुनसुकैखाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्ने सो पार्टीले जनाएको छ।

निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको पनि एमालेले जनाएको छ। 

‘हामी ‘यस किसिमका क्रूर र अमानवीय आक्रमण तत्काल रोकिनुपर्छ। निहत्था नागरिकलाई सुरक्षित गरिनुपर्छ। साथै, उद्धार तथा आपत्कालीन सहयोगका लागि गाजापट्टीमा मानवीय सहायता प्रदायकहरू जानका लागि अनुमति दिनुपर्छ’ भन्ने मान्यता राख्दछौं’ एमालेले सबैखाले आक्रमण रोक्न सम्बन्धित पक्षलाई आह्वान समेत गरेको छ।