काठमाडौं-आज बडादसैँको प्रमुख दिन विजयादशमी। गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ। असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो।
त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ।
हाम्रा मान्यजनहरूले दसैँ टीका लगाउँदै सँस्कृतको श्लोकमार्फत आशिर्वाद त दिन्छन् तर त्यो श्लोकले के भनेको होला भन्ने धेरैलाई थाहा नहुन सक्छ। त्यसमाथि पनि छोरा मान्छेलाई टीका लगाउँदा एकथरी र छोरी मान्छेलाई टिका लगाउँदा अर्कैथरी मन्त्र पढेने गरेको पनि पाउँछौं। यस्तो किन होला भनेर धेरैको मनमा प्रश्न उठ्न सक्छ।
हामी हाम्रो संस्कार र सँस्कृतीबारे जानकार भए पनि ती संस्कार र सँस्कृतीका कारणबारे अनविज्ञ भयौं भने पुस्तान्तरणमा समस्या देखिन सक्छ। अहिलेका नयाँ पुस्तालाई हरेक कुराको कारण चाहिन्छ। यदि हामीले ती कुराको पुष्टि गर्न सकेनौं भने नयाँ पुस्ताले स्वीकार्न गाह्रो मान्छ। हाम्रा बालबच्चामा हामीले मानेको संस्कार र सँस्कृतीको हस्तान्तरण गर्न पनि ती सबैको बारेमा पहिला आफैं जानकार हुन आवश्यक छ। अब कुरा गरौं दसैँको टीका लगाउँदा भनीने मन्त्रको।
लोग्ने मानिसलाई आशीर्वाद दिने मन्त्र :
आयुद्र्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।

यस मन्त्रमा गुरु द्रोणाचार्यको पुत्र अश्वत्थामाको जस्तै आयु होस्। दशरथ राजाको जतिकै सम्पत्ती होस्। शत्रुको नाश गर्न भगवान राम झैं पराक्रमी हुनु। नहुष राजाको जस्तै ऐश्वर्य होस्। हावाको जस्तै गती र दुर्योधनको जस्तैं मान–सम्मान मिलोस्। सूर्यपुत्र कर्ण जस्तैँ दानी हुनु। शक्तिमा बलराम जस्तै हुनु। सत्यमा कुन्तीको पुत्र युधिष्ठिर जस्तै हुनु। विद्धवानमा विदुर बराबर हुनु। भगवान नारायणको जस्तो कीर्ति होस् भनेर भनिएको छ। यो नै मन्त्रको सार हो।
स्त्रीलाई आशीर्वाद दिने मन्त्र
जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवधात्री स्वाहा स्वधा नमोस्तुते।
अर्थात् तिम्रो भलो होस्, कल्याण होस्, महालक्ष्मी दुर्गा भवानी प्रसन्न हुन्, सधैँ देवताहरूले तिमीलाई रक्षा गरुन् । जयन्ती, मंगला, काली भद्रकाली, कपालिनी। दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा यी नामले प्रसिद्ध जगदम्बिके तपाईंलाई मेरो नमस्कार छ । देवी चामुण्डे, तपाईंको जय होस् ।
सम्पूर्ण प्राणीहरूको पीडा नाश गर्ने हे देवी ! तपाईंको जय होस् । सबैमा व्याप्त रहने हे देवी ! तपाईंको जय होस् । कालरात्रि तपार्ईंलाई नमस्कार छ ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीकाजमरा लगाई आशीर्वाद लिने गरिन्छ।




प्रतिक्रिया