काठमाडौँ-नेपाली कांग्रेसले पदाधिकारीहरूको अनौपचारिक बैठक आज (बिहीबार) बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
दुलालका अनुसार काठमाडौँमा उपलब्ध पदाधिकारीहरू सहभागी हुने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। ‘दिउँसो ३ बजे काठमाडौँमा उपलब्ध पदाधिकारीको अनौपचारिक बैठक आह्वान भएको छ। समसामयिक राजनीतिबारे कुराकानी हुन्छ,’ कार्यवाहक मुख्यसचिव दुलालले भने।
उपसभापति मधु आचार्यले बैठकमा पदाधिकारीहरूको कार्यविभाजन र पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुने जानकारी दिए ।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीहरूको कार्यविभाजन अझै हुन सकेको छैन। सोही कार्यविभाजनलाई टुङ्गो लगाउने विषयमा पनि बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।
यसैबीच, सभापति गगन थापा पक्राउ पर्न सक्ने चर्चाका बीच कांग्रेसले बैठक बोलाएको हो। सहमहामन्त्री रामहरि खतिवडाले सभापति थापालाई पक्राउ गर्ने कुनै आधार नरहेको दाबी गर्दै कांग्रेसको आवाज कमजोर बनाउन सरकारले पक्राउको अफवाह फैलाएको आरोप लगाए।
उनले सरकारका पछिल्ला गतिविधि र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने बताए। खतिवडाका अनुसार कांग्रेसले सरकारका विवादास्पद कदमबारे यसअघि नै ६ बुँदे धारणा सार्वजनिक गरिसकेको छ।
यसैबीच, कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीले पनि सरकारले आफूलाई पक्राउ गर्न खोजेको भन्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु।’



प्रतिक्रिया