अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर नेपाल अघि बढेको छ: अध्यक्ष तिमिल्सिना

दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर नेपाल अघि बढेको छ: अध्यक्ष तिमिल्सिना


लुवाण्डा, एङ्गोला-राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संघीय संसदले दिगो विकास लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर अघि बढेको बताउनुभएको छ। 

एङ्गोलाको लुवाण्डामा आयोजित अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४७ औं महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले सो कुरा बताउनुभएको हो । संसदमा आउने विधेयकलाई दिगो विकास लक्ष्यको दृष्टिकोणबाट मापन गरी औचित्य परीक्षण हुँदैआएको उहाँले बताउनुभयो।

नेपालको सङ्घीय संसदको तर्फबाट सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘दिगो विकास लक्ष्य हासिल गर्न सरकारले कार्यान्वयन गर्नुपर्ने विषयमा संसदले सरकारलाई निरन्तर खबरदारी गरेको छ। सङ्घीय संसदका दुई सदनमध्येको राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन समिति गठन गरिएको छ। यो समितिले दिगो विकास लक्ष्यका प्रगति र कार्ययोजनाका अवस्थाबारे तीनै तहका रकारसँग निरन्तर छलफल गर्ने र आवश्यक नीतिगत निर्देशन दिने काम गर्दैआएको छ।’

उहाँले नेपालले दिगो विकास लक्ष्यलाई मूलभूत रूपमै आन्तरिकीकरण गरेको बताउँदै संविधानको प्रस्तावनामै नेपाली जनताको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षालाई उल्लेख गरेको चर्चा गर्नुभयो ।  सामाजिक न्याय र समावेशितालाई मौलिक हकका रूपमा संरक्षण गर्दै सबै किसिमका भेदभाव, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने नीति राज्यले अवलम्बन गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले नेपालले तीन तहको सङ्घीय शासन प्रणाली अवलम्बन गरेसँगै सङ्घमा रहँदैआएको राष्ट्रिय योजना आयोगका अतिरिक्त प्रदेशमा प्रदेश नीति तथा योजना आयोग स्थापना गरी केन्द्रीय तथा प्रादेशिक योजनाहरू दिगो विकास लक्ष्यसँग तादात्म्य हुने सुनिश्चित भएको बताउनुभयो।