अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको चरित्र हत्या गरी धमिलो पानीमा माछा मार्ने दुस्साहस नगर्न राजेन्द्र गौतमको चेतावनी

अध्यक्ष ओलीको चरित्र हत्या गरी धमिलो पानीमा माछा मार्ने दुस्साहस नगर्न राजेन्द्र गौतमको चेतावनी


काठमाडौं-नेकपा (एमाले)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको भ्रामक प्रचारको निन्दा र भर्त्सना गर्नुभएको छ।

प्रचार विभाग प्रमुख गौतमले अध्यक्ष ओलीविरुद्ध राजावादी ‘भरौटे’हरुले आपत्तिजनक प्रचार गरेको भन्दै खेद प्रकट गर्नुभएको हाे।

सामाजिक सञ्जालमार्फत् उहाँले अध्यक्ष ओलीको राष्ट्रवादी अडान, समृद्ध नेपाल-सुखी नेपालीका योजनाकारविरुद्ध पुनरात्थानवादी, प्रतिगमनकारीले हमला गरेको भन्दै भर्त्सना गर्नुभएको छ।

गौतमले भन्नुभएको छ, ‘राष्ट्रवादी अडान, मौलिक विकासका प्रणेता, समृद्ध नेपाल: सुखी नेपालीका मुख्य योजनाकारका विरुद्ध केही पुनरात्थानवादी, प्रतिगमनकारी कथित राजावादीका भरौटे, दलालहरुद्वारा गरिएको हमलाप्रति घोर भर्त्सना र निन्दा गर्दछौं।’

उहाँले प्रायोजित रुपमा अध्यक्ष ओलीमाथि आक्रमण गरी कम्बोडिया टेलिकममा लगानी भएको दुश्प्रचार गरिएको बताउनु भयो। उहाँ सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘घोर दक्षिणपन्थी, पुनरूत्थानवादी, राजावादी भरौटे तत्वहरूबाट टेलिकममा लगानी नामको कथित समाचार प्रायोजित गरी गरिएको हमला पुष्टि गर्न चुनौती दिन्छु।’

गौतमले ओली जस्तो राष्ट्रवादी र विकासको भिजन भएको नेताको विरुद्ध गरिएको हर्कत तत्काल रोक्न चेतावनी पनि दिनुभएको छ। प्रमुख गौतमले भन्नुभएको छ, ‘एउटा राष्ट्रवादी, विकासप्रेमी, परिवर्तनकारी नेताको चरित्र हत्या गरी जनताको विश्वासलाई धुमिल बनाएर धमिलो पानीमा माछा मार्ने दुस्साहस/ दुस्प्रयास नगर्न चेतावनी दिन्छु।’