अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धादिङमा बस, माइक्रो र मोटरसाइकल एकआपसमा ठोक्किदा १२ जना घाइते

धादिङमा बस, माइक्रो र मोटरसाइकल एकआपसमा ठोक्किदा १२ जना घाइते


धादिङ-गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिकै यात्रु बाहक बस, माइक्रो र मोटरसाइकल ठोक्किएको छ। बुधबार तीन वटा सवारी ठोक्किएर भएको दुर्घटनामा १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार धादिङबाट काठमाडौं तर्फ जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको बा ६० प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल उछिट्टिएर काठमाडौंतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ९३३६ नम्बरको कारमा समेत ठोकिन पुगेको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक धादिङ गल्छी गागाउँपालिका–६ का २६ वर्षीय जितेन्द्र पाठक, पछाडि सवार पाठकका श्रीमती २४ वर्षीय ज्योति पाठकको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि काठमाडौं रिफर गरिएको जैसवारले जानकारी दिनुभयो।

बसमा सवार काठमाडौं चन्द्रागिरि नगरपालिका–१४ का ३० वर्षीय सुनिता कार्की, उनकी छोरी ३ वर्षकी कृतिका कार्की, धादिङ निलकण्ठ नगरपालिका–११ का ७३ वर्षीय जिव प्रसाद धमला, ७० वर्षीय धनिमाया धमला घाइते भएका छन्।

त्यस्तै धादिङ सिद्वलेख गाउँपालिका–१ का ५५ वर्षीय खुस कुमारी तिमिल्सेना, नौं वर्षीय सन्ध्या तिमिल्सेना, नीलकण्ठ नगरपालिका–११ का ४४ वर्षीय राज कु.श्रेष्ठ, ४३ वर्षीय सोम बहादुर गुरुङ, थाक्रे गाउँपालिका–२ का ४५ वर्षीय नवराज रिजाल र उहाँकी छोरी २१ वर्षीय सम्झना रिजाल पनि घाइते भएका छन्।

तीव्र गतिमा रहेको बस एक्कासि दुर्घटनामा पर्दा बसमा सवार अघिकांशको शरीरका विभिन्न भागमा चोट लागेको छ।

सामान्य घाइतेहरूको गल्छीस्थित अम्वि भरोसा अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमा सवार दुई जना र बसमा सवार तीन जनालाई काठमाडौं पठाइएको छ। तीन वटै सवारीसहित बस चालक र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।