अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहाडको बसाइसराइ रोक्न नसके समृद्ध नेपालको परिकल्पना पूरा हुँदैन: प्रदीप ज्ञवाली

पहाडको बसाइसराइ रोक्न नसके समृद्ध नेपालको परिकल्पना पूरा हुँदैन: प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पहाडमा पनि अवसर छ भन्ने सन्देश दिनु आजको आवश्यकता रहेको बताउनुभएको छ।

 नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग जागरण अभियानको सन्दर्भमा रामेछाप र सिन्धुलीको खुर्कोटमा आइतबार आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले विकास गाउँमा र पहाडमा उक्लिने मानिस भने तराइ र सहर पस्ने क्रम बढ्दै गएको बताउनुभयो। सहर र तराईमा जस्तै पहाडमा पनि सम्भावना छ भन्ने सन्देश दिन आवश्यक रहेको उहाँको भनाइ छ। 

नेपालको आर्थिक, सामाजिक विकास र राजनीतिमा पहाडको ठूलो भूमिका रहेको कुरा बिर्सन नहुने उहाँले बताउनुभयो । विकासको मुख्य आधार सडक भएको बताउँदै पहाडको विकासलाई लक्षित गरी नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको परिकल्पना गरेको ज्ञवालीले बताउनुभयो। मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणसँगै खुर्कोट लगायतका साना सहरको अवधारणा समेत अघि सारिएको उहाँले प्रष्ट पार्नुभयो। 

एमालले सञ्चालन गर्न लागेको मध्यपहाडी पुष्पलाल लोकमार्ग जागरण अभियानले पहाडमा पनि अवसर छ भन्ने सन्देश दिने उहाँले विश्वास व्यक्त गर्नुभयो। पहाडबाट बसाईँसर्ने क्रम रोक्न नसक्न हो भने समृद्ध नेपाल निर्माणको परिकल्पना पूरा नहुने उहाँले प्रष्ट पार्नुभयो। ‘पहाडबाट बसाइसराइको क्रम रोक्न नसक्ने हो भने समृद्ध नेपालको परिकल्पना पूरा हुँदैन’, उहाँले भन्नुभयो। 

जबसम्म पहाड समृद्ध हुँदैन, तबसम्म देश समृद्ध नहुने ज्ञवालीको भनाइ छ। ‘जबसम्म पहाडाले विकासको अनुभूति गर्दैन, तबसम्म सिंगो देशले विकासको अनुभूति गर्दैन’, ज्ञवालीले भन्नुभयो। 

नेकपा एमाले सिन्धुलीका अध्यक्ष कुमारबहादुर कार्कीको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य गणेश पहाडी, माधव ढुङ्गेल लगायतका केन्द्रीय नेताहरू, प्रदेश कमिटीका नेताहरू तथा नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ लगायत रामेछाप र सिन्धुली जिल्ला पार्टीका नेताहरूको सहभागिता रहेको थियो। बैठकमा सो अभियानको सन्दर्भमा रामेछाप र सिन्धुलीले गर्ने तयारीका बारेमा बैठकमा छलफल गरी योजना निर्माण गरिएको छ।