अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मंसीर १ बाट सुरक्षित आवास निर्माणका लागि भूकम्प प्रभावित क्षेत्रमा एमाले खटिने

मंसीर १ बाट सुरक्षित आवास निर्माणका लागि भूकम्प प्रभावित क्षेत्रमा एमाले खटिने


जाजरकोट-नेकपा (एमाले) भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा सुरक्षित आवास निर्माणमा जुट्ने भएको छ। 

कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षति गरेका अवासहरुको सुरक्षित निर्माण गर्न एक हजार स्वयंसेवक परिचालन गर्ने केन्द्रीय निर्णय अनुसार एमालेले जाजरकोट र रुकुम पश्चिममा सुरक्षित आवास निर्माणको काम सुरुवात गर्ने तयारी थालेको छ। 

केन्द्रीय निर्णयलाई कार्यान्वयन गर्न एमाले कर्णाली प्रदेश कमिटीको पदाधिकारी बैठकले गरेको निर्णय अनुसार जिल्ला कमिटी जाजरकोट र रुकुम पश्चिमका बैठकहरू सम्पन्न भएका छन्। 

एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा प्रतिपक्षी दलका नेता यामलाल कँडेलको प्रमुख आतित्थ्यमा बसेको बैठकले भूकम्पले क्षति गरेका जाजरकोट र रुकुम पश्चिमका नागरिकका सुरक्षित आवास निर्माणको काम आगामी मंसीर १ गतेदेखि सुरुवात गर्ने निर्णय गरेको छ। 

‘पार्टीको तर्फबाट मङ्सिर १ गते देखि परिचालन हुने स्वयंसेवकलाई परिचालन गर्न वडा तह सम्म संयोजकसहित बढीमा ४ सदस्य समिति बनाउने निर्णय गरेको छ’ बैठकपछि स्थायी कमिटी सदस्य कँडेलले भन्नुभयो।

‘कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कर्णालीमा ६५ हजार भन्दा बढी घरहरूमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। उक्त प्रारम्भिक अनुमानका आधारमा नागरिकलाई खुला आकामा बस्न बाट बचाउन एमालेले सुरक्षित आवास निर्माण गर्ने योजना मुताबिक सिङ्गो पार्टी कमिटीलाई परिचालन गर्ने निर्णय गरेका छौँ’,उहाँले भन्नुभयाे । 

नेता कँडेलका अनुसार बैठकले आगामी मङ्सिर १४ गतेदेखि सुरु हुने ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल पार्न पनि जिल्ला र स्थानीय पार्टी कमिटीलाई परिचालन गर्ने निर्णय गरेको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली आउने उक्त कार्यक्रमलाई सफल बनाउन काममा लाग्न बैठकमा उहाँले निर्देशन दिनुभयो। 

‘पार्टीको केन्द्रीय नेतृत्वसहित समृद्ध नेपालका लागि सङ्कल्प यात्रा आगामी मङ्सिर १४ गते सुरु गर्दै त्यसलाई सफल पार्न यात्रा यात्राको रुट पर्ने जिल्ला र स्थानीय तहका पार्टी कमिटीहरूलाई पूर्णरुपमा परिचालन गर्नतर्फ केन्द्रित हुन जरुरी छ’, बैठकमा स्थायी कमिटी सदस्य कँडेलले निर्देशन दिँदै भन्नुभयो। 

बैठकमा एमाले पोलिटब्युरो सदस्य भैरव सुन्दर श्रेष्ठ, लक्ष्मी पोखरेल, कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह, उपाध्यक्ष टेकराज पछाई, सचिव ध्रुवकुमार शाही र उपसचिव रमेशकुमार शाही लगायतका नेताहरूको उपस्थिति रहेको थियो।