अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जाजरकोटका भूकम्प भूकम्पपीडितलाई आवास निर्माण गर्न ५० हजार दिइने

जाजरकोटका भूकम्प भूकम्पपीडितलाई आवास निर्माण गर्न ५० हजार दिइने


काठमाडौँ-विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न रु ५० हजार दिने निर्णय गरेको छ। समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सिंहदरबारमा आज बसेको समितिको १९औँ बैठकले भूकम्पपीडित प्रति परिवारलाई रु २५/२५ हजार गरी दुई किस्तामा सो रकम दिने निर्णय गरेको हो।

उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि तत्काल रकम र प्राविधिक पठाइने बताउनुभयो। 'भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न रकम र प्राविधिक पठाउनुपर्छ', उहाँले भन्नुभयो, 'तत्काल अस्थायी आवास बनाउन सकिएन भने भूकम्पपीडित चिसोले कठ्याङग्रिने डर हुन्छ।' विपद् कोषबाट रकम सिधै स्थानीय तहमा पठाउने र पालिकाले नै प्रभावितलाई प्रदान गरेर जतिसक्दो छिटो अस्थायी आवास निर्माण गर्नुपर्ने उहाँले बताउनभयो।

सहरी विकासमन्त्री सीता गुरुङले अस्थायी आवासका लागि जस्तापाता प्वाल नपारिकन प्रयोग गर्नुपर्ने तथा अस्थायी आवास नबनाउनेलाई थप किस्ता नपाउने गरी मापदण्ड बनाउनुपर्ने बताउनुभयो। बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी प्रभावित हुने भएकाले तत्काल अस्थायी आवास बनाउन जरुरी भएको उहाँको भनाइ थियो।

समितिका विज्ञ सदस्य डा गङ्गालाल तुलाधरले अस्थायी अवास निर्माणका लागि तत्काल रकम निकासा गर्नुपर्ने र विपद् व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई दिनुपर्ने, प्रदेश सरकारले अनुगम गर्ने र सङ्घीय सरकारले स्रोत साधनको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो।

 बैठकमा समितिका सदस्य सचिव अनिल पोखरलले जाजरकोट भूकम्पमा भएको क्षतिको विवरण प्रस्तुत गर्नुभएको थियो। यही कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो। उक्त भूकम्पमा परी १५४ जनाको मृत्यु भएको छ भने ३४६ घाइते भएका छन्। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको थियो।

Skip This