काठमाडौँ-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न नहुने टिप्पणी गर्नुभएको छ। उहाँले ‘टिकटक’ बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाउनुभयो।
मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको बताउनुभयो। 'सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो, यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने/नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो।' महामन्त्री थापाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ।
सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखिएको महामन्त्री थापाको आरोप छ। उहाँले भन्नुभयो, 'सरकारले यो कदम सच्याउनुपर्छ।'






प्रतिक्रिया