अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लक्ष्मी पूजाको दिन गत वर्षभन्दा बढी विद्युत् माग

लक्ष्मी पूजाको दिन गत वर्षभन्दा बढी विद्युत् माग


काठमाडौँ-यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देशभित्रको विद्युत् माग एक हजार चार सय ३८ मेगावाट अभिलेख गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी पूजाको दिन आइतबार साँझ ६ बजे माग गत वर्षको तुलनामा एक सय ३३ मेगावाटले बढेको जनाएको छ । 

गत वर्षको कात्तिक ७ गते परेको लक्ष्मी पूजाका दिनको विद्युत् माग एक हजार तीन सय पाँच मेगावाट थियो । तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले यो अभिलेख औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले उच्च माग एक हजार तीन सय ५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो । 

लक्ष्मी पूजाको दिनको माग देशभित्रैका विद्युत् गृहबाट उत्पादन गरी आपूर्ति गरेको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको पाँच सय १७ मेगावाट विद्युत् उच्च माग भएको समयमा भारततर्फ निर्यात गरिएको छ ।

गतवर्ष लक्ष्मी पूजाको उच्च माग भएको समयमा चार सय छ मेगावाट मात्र निर्यात गरिएको थियो । लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग एक हजार नौ सय ५५ मेगावाट अभिलेख गरिएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मी पूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा जानुभएको थियो ।

कार्यकारी निर्देशक घिसिङले सात वर्षअघि लक्ष्मी पूजाको दिनको माग पूरा गर्न दुई सय ५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताउनुभयो । उहाँले गत वर्षभन्दा लक्ष्मी पूजाको दिन उच्च माग १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गर्नुभयो । 

Skip This