अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेवार समुदायप्रतिको टिप्पणीमा कमेडियन अपूर्व क्षितिज सिंह दोषी ठहर

नेवार समुदायप्रतिको टिप्पणीमा कमेडियन अपूर्व क्षितिज सिंह दोषी ठहर


काठमाडौँ-नेवार समुदायप्रति दिएको अभिव्यक्तिका सम्बन्धमा कमेडियन अपूर्व क्षितिज सिंह दोषी ठहर भएका छन्। आइतबार काठमाडौँ जिल्ला अदालतले सिंहलाई दोषी ठहर गरेको हो। 

काठमाडौँ जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माका अनुसार मङ्सिर १० गते आइतबार न्यायाधीश कपिलमणि गौतमको इजलासले सिंहलाई दोषी ठहर गर्दै १० हजार जरिवाना गराउने फैसला सुनाएको छ। 

स्ट्यान्ड अप कमेडीमा नेवार समुदायको परम्पराको सम्बन्धमा गरेको प्रस्तुति युट्युबमा अपलोड गरेपछि नेवार समुदायले सिंहको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। मुख्यतः नेवार समुदायमा प्रचलित बेल विवाह लगायतका विषयमा सिंहले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै उनीविरुद्ध आवाज उठेपछि सिंहले माफी माग्दै उक्त भिडियो युट्युबबाट हटाएका थिए। त्यस लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौँमा नेवार समुदायका तर्फबाट पृथविन्दु महर्जन लगायतका व्यक्तिले जाहेरी दिएका थिए । जाहेरीपछि सिंह २०७९ भदौ १२ गते पक्राउ परेका थिए । 

हिरासतमा रहेकै समयमा सिंहलाई कोरोना सङ्क्रमण भएपछि प्रहरीले सिंहलाई हाजिरी जमानीमा छाडेको थियो। तर कोरोना निको भए लगत्तै सिंहलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। सिंहविरुद्ध सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुर, सामाजिक रीति स्थितिमा खलल सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। 

सो मुद्दामाथि आइतबार फैसला गर्दै काठमाडौँ जिल्ला अदालतले सिंहलाई दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो। अदालतले मुलुकी अपराध संहिता, २०७४ को दफा १६५ बमोजिम ‘सामाजिक रीति स्थितिमा खलल पार्न नहुने’ कसुरमा दोषी ठहर गरेको हो। सो कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै गर्न सकिने कानुनी व्यवस्था छ। सिंहलाई भने १० हजार रुपैयाँ जरिवाना मात्रै गरिएको हो।