अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एक पत्रकारको मध्यपहाड डायरी

एक पत्रकारको मध्यपहाड डायरी


मध्यपहाडी मन्थन-१०

नेपालको पूर्वी सिमाना देखि पश्चिमीसिमा सम्म पहाडै-पहाड सडक सुविधाको प्रयोग गरेर यात्रा गर्ने सुविधा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ट्रयाक खुलेपछि मिल्यो।

यो लोकमार्गको प्रारम्भ विन्दु चिवाभञ्ज्याङलाई मानिएको छ। जो पाँचथरको याङवरक गाँउपालीकामा पर्छ। पुरानो च्याङ्थापुबजारबाट उकालो लागेको केही घण्टामा चिवाभञ्याङ पुग्छ। चिवाभञ्ज्याङ भारतको सिक्किमसँग सिमाना जोडिन्छ।

सुखद् के छ भने मध्यपहाडी लोकमार्ग चिवाभञ्ज्याङमा बनेसँगै सिक्किम सरकारले पनि सडक ल्यायो। कञ्चनजङ्घा संरक्षण क्षेत्रमा परेपनि अनेकन प्रयास गरी सिक्किमले उत्तरे भन्ने ठाँउबाट चिवाभञ्ज्याङसम्म सडक जोडेको छ। सिक्किमको नेपालसँग जोड्ने एकमात्र सडकमार्ग हो यो।

उत्तरेलाई अन्तराष्ट्रिय बजारको रुपमा विकास गर्दै यो सडकलाई बढिनै उपयोग गर्ने सिक्किम सरकारको योजना छ।
चिवाभञ्ज्याङबाट प्रारम्भ विन्दुमानिएको यो लोकमार्ग बैतडिको झुलाघाटमा पुगेर टुङ्गीन्छ। जो भारतको पृथडागडसँग सिमाना जाडिन्छ। यहाँनेर महाकाली नदीमा पुल बनाउन स्थानियले माग गरेको धेरै भईसकेपनि प्रक्रिया अघि बढ्न सकेको देखिदैन।
मध्यपहाडी लोकमार्ग नेपालका मध्यपहाडका जिल्लालाई जिवन्त राख्ने महत्पूर्ण विकासको योजना हो। धेरैलाई थाहा छ पहाडबाट तराई झर्ने, सहरबाट विदेश जाने क्रम बढेकै छ। पहाडबाट तराई बसाई सर्ने क्रम पुरानै हो। शिक्षा, स्वास्थ्य र अन्य सुविधाका कारण बाध्यताले सुविधासम्पन्न क्षेत्र पुग्दै गएको देखिन्छ। पहाडमा राजनीतिक, आर्थिक विकल्प खुम्चिदै जाँदा विस्तारै सपना सहर र तराईको देख्न थालेको पाईन्छ। पहाडबाट तराई नझरी राजधानी लगायतका जिल्लाको यात्रा गर्न नसकिने अवस्थामा मध्यपहाडीले पहाडै पहाडको विकल्प दिनका साथै विकासको मुख्य आधार मानिएको सडक निर्माणसँगै अन्य सुविधा विस्तार भएको देखिन्छ।

खासगरी विगतमा राम्रो सडक सुविधा नभएका जिल्लाका साना सहर, बजार र ग्रामिण क्षेत्रलाई बढी सुविधा दिएको देखिन्छ। विकशित जिल्ला भन्दा पनि विकासमा पछि परेका दुर्गम जिल्लालाई बढी सुविधा दिएको पाइन्छ।

मध्यपहाडी लोकमार्गले छोएका पाँचथर, तेह्थुम, भोजपुर, खोटाङ, रामेछाप, बाग्लुङ, पूर्व रुकुम, पश्चिम रुकुम, जाजारकोट, दैलेख, अछाम जस्ता जिल्लामा बढी सुविधा पुगेको देखिन्छ। अरु जिल्लामा सुविधा नदिएको होइन तुलनात्मक रुपमा सडक सञ्जालले कमजोर भएका जिल्लाको फाइदा देखिन्छ। तर मध्यपहाडका धेरै जिल्लाको जनससंख्या ऋणात्मक बन्दै छ।

चिवाभञ्ज्याङ देखि झुलाघाटसम्म मोटरबाइकमा गुड्दा…

हामीले २०७६ सालको पुस १६ गते पाँचथरबाट मध्यपहाडी लोकमार्गको यात्रा प्रारम्भ गरेका थियो। यही दिन देखि नेपाल सरकारको भ्रमण वर्ष २०२० सुरु भएको थियो। हाम्रो लागि चिवाभञ्ज्याङसम्मको सडक चिरपरिचित थियो। अझै पनि चिवाभञ्ज्याङ थुर्पसडक खण्डको ५१ किलोमीटर सडक कालोपत्रे गर्न बाँकी छ।

हुन त चिवाभञ्ज्याङ पटक-पटक पुगिएको ठाँउ हो। हिँउमा हिउले छोपिने यो ठाँउमा मध्य पहाडी लोकमार्गको ट्रयाक पुग्दा, कहिले हिड्दै कहिले गाडीमा पुगिएको छ नै।

पुसको जाडोमा मोटरसाइकलमा हामी यात्रामा निस्किएका थियौँ। मोटरसाइकलमा पहाडै पहाड पूर्व पश्चिम गर्ने चुनौती ठूलै थियो। अहिले १ हजार ८ सय ७९ किलोमीटरमध्ये ४ सय ७७ किलोमीटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ। मध्यपहाडीबाट ९ सय ४० किलोमीटर र अन्य आयोजनाको ४ सय ६२ किलोमीटर कालोपत्रे भएको छ। लोकमार्गमा पर्ने १ सय ३७ मध्ये १ सय २ वटा पुल सम्पन्न भएका छन्।

फिदिम, यात्राको सुरुवात गर्ने मुकाम थियो। फिदिम मध्यपहाडी लोगमार्गले छोएका दश सहरलाई नयाँ सहर बनाउने सरकारी योजना मध्ये एक पर्छ। उपत्यका जस्तै लाग्ने फिदिम सुन्दर छ र पछिल्ला डेढदशकमा विकासले फड्को मारेको छ। तर सरकारले भनेको नयाँ सहर बनाउने नयाँ सहरको गतिभने धिमा छ। यो दश सहरकै दुखान्त बाध्यता हो।
मध्यान्ह पाँचथर सदरमुकाम फिदिमबाट ६ वटा मोटरसाईकलमा ११ जना अगाडी बढयो। यात्राको रोमाञ्कता थियो भने कतिपय अन्योल पनि।

२६ जिल्लाका २ सय १५ भन्दा बढी बस्ती छुदै अघि बढ्नु पर्ने यात्राले हामीमा उत्साहनै थियो। हामीले लिम्बु, राई, गुरुङ, मगर, खस लगायतका जातजातीको सांस्कृतिक महत्व समेत भेटेका थियौँ। पहिला देश घुमौँ भन्ने सकल्पले यो यात्रा जुरायो।
तमोर नदिको पुल तरेपछि हामिले तेह्थुमको आठराई टेक्यौँ। तमोरमा पुल बने पनि आठराई क्षेत्रमा सडक सुविधा सहज भयो। माझिटारमा चहलपहल पनि बढायो। तमोरको पानी छोएर हामी महाकालीको पानी छुन अघि बढ्यौँ।

आठराई शैक्षिक, राजनीतिक रुपमा अग्रणी मानिन्छ। चुवानडाँडामा रहेको पुरानो क्याम्पस जहाँ पाँचथर, तेह्थुम र ताप्लेजुङका विद्यार्थीले पढ्थे तर अहिले सुनासान झै थियो। मध्यपहाडीले छोएका पुराना बजारको काया बद्लिदै गएको देखिन्छ। स्थानीय तहको केन्द्र भएपछि आर्थिक गतिविधिको शैलि फेरीएको छ। यस्तैमा पर्छ आठराईको संक्रान्ती बजार।

पुरानो बजार सक्रान्तीमा ढुङ्गा माटोको घर घट्दै सिमेन्ट, इँटाका घर बढ्दै गरेको देख्यौँ। संक्रान्तिभन्दा अगाडीको यात्रा निक्कै कठिन भयो। कच्ची धुलाम्मेबाटोमा यात्रा गर्नु पर्ने बाध्यता थियो। त्यहिबेला कालोपत्रेको ठेक्का लागेको थियो। तर यहाँको २४ किलोमीटर कालोपत्रे हुन बाँकि रहेको छ।

तेह्थुम सदरमुकाम म्याङलुङ सुस्ताएको बजार जस्तो लाग्छ। जसरी यो सहरमा रुपान्तरण हुदै जानु पथ्र्यो तेसरी भइहेको देखिएको छैन। अवसर र सम्भावनाले पनि यसो गर्छ। यहाँको ढाका निक्कै चर्चित छ। ढाकाबाट विभिन्न पोशाक बनेका छन्। तेह्थमुको धेरै घरमा ढाका बुन्ने गरिन्छ। बजारमा पनि ढाकाका धेरै पसल छन्।

बिहान म्याङलुङ बजारमा रहेका केहि ठाँउ घुम्यौँ। जनप्रतिनिधिसँग भेटघाट भयो। म्यालुङमा चर्चित ढाकाको खदाको स्वागत भयो। म्याग्लुङमा रहेको विरालोको स्तम्भ भएको ठाँउसम्म स्थानीय साथीहरुले साथ दिए। यस्ता स्तम्भ तेह्थुम, धनकुटा, भोजपुरमा पनि भेटिए। अन्यत्र देउता, सहिद, राजनीतिज्ञ, साहित्यकार, राजामाहाराजा लगायतको स्तम्भ भएपनि पूर्वी पहाडका यि जिल्लामा स्थानीय पहिचान झल्काउने किसिमका स्तम्भ सडकमै भेटिन्छन्। ढुङ्गामा विरालोको आवाज आएका किंवन्ती अनुसार यो ठाँउको नाम म्याङलुङ हुन गएको जानकारी प्राप्त भयो। लिम्बु भाषामा म्याङ भनेको विरालो र लुङ भनेको ढुंङ्गा भएको जानकारहरु बताउँछन्। स्थानीय उत्पादन, साँस्कृतिक तथा प्राकृतिक महत्वलाई जोडेको देखिन्छ।

तेह्थुमको बसन्तपुरमा गुराँस, लसुनेमा लसुनको स्तम्भ भेटियो। धनकुटाको सिधुवामा फूल कोभी, हिलेमा तोङ्बा र भोजपुको जरायोटारमा जरायोको स्तम्भ थिए। अहिले यस्ता स्तम्भ बनाउने लहरै चलेको छ। ठाँउको पहिचान दिने नाममा यस्ता संरचना गाँउ गाँउमा बनाईदै छ। गुराँसको बगैचाको काखमा बसन्तपुर बजार छ। यो पनि नयाँ सहरमा पर्छ। बसन्तपुरमा बर्षेनी ठुलो संख्यामा पर्यटक आउछन्। गुराँस हेर्न टिएमजे चढ्छन्, फर्किन्छ। उनीहरुलाई म्याङलुङसम्म पु¥याउनका लागि राम्रो योजना बन्न सकेको छैन्।

तेह्थुमको बसन्तपुरमा चोलुङ पार्क बनाइएको छ। लिम्बु जातीको परम्परागत सस्कृतिमा आधारीत रहेको यो पार्कले ऐतिहासीक पक्षलाई देखाउन खोजेको देखिन्थ्यो। लिम्बु सार्वोच्च शिरलाई चोलुङ मानिन्छ। सिद्धप्राप्तीगर्ने थलोको रुपमा रहेको रहेको छ । परम्परागत शैलिका संरचना आर्कषण छन्।

बसन्तपुरबाट अघि बढेर धनकुटाका गाँउहरु थिए। कोशी राजमार्गलाई मध्यपहाडीले छाएको। देशभरमा ४ सय ६२ किलोमीटर सडक अन्य राजमार्गको पर्छन्। धनकुटाको सिदुवा कृषिका लागि महत्पूर्ण मानिन्छ। मध्यपहाडमा कृषि पेशा गर्ने क्रम घट्दै छन्। कृषिमा लागेकाहरु पनि निरास बनेर पेश परिवर्तन गर्दै गरेको पाइन्छ। उत्पादन लागत बढी हुने, बिक्री वितरणमा समस्या हुने समस्या छन्।

हिलेबाट ओरालो लाग्दै गर्दा बारीमा काम गर्नेहरु कम देखियो। अरुण नदिको किनारमा रहेका खेत धान काटेर बाझै देखिन्थे। तमोर र अरुण सप्तकोशीका महत्पूर्ण नदी हुन्।
तर मध्यपहाडका ठूला नदीका काखमा रहेका गाँउमा भने खानेपानीको अभाव नै देखियो। मध्यपहाड घुम्दैँ गर्दा यो समस्या धेरै देखिन्थ्यो।

भोजपुर सदरमुकाम पुग्दा साँझ परेको थियो। पहाडको सदरमुकाम साँझमा चहलपहल कमै थियो। हामीले हिडेको मध्यपहाडका धेरै बजारमा चहलपहल कमै देख्यौँ। भोजपुरको ट्याम्के मैयु गाउँपालिका-२ मा गोठसिंह होमस्टेमा हाम्रो बास थियो। कतिपयले गाँउमै मेहनत गरेर उदाहरण दिइरहेका छन्। यस्तो मध्ये एक थियो यो होमस्टे।

बिहानको खाना खाएपछि भोजपुरका खोटाङसँगको सिमाना चखेवा भन्ने ठाँउमा पुर्‍याउन आए। यहिबाट मुन्दुम ट्रेल सुरु हुँदो रहेछ। चखेवा–साल्पाशिलि-ट्याम्के डाँडाको सात दिनको पदमार्ग रहेछ। यो पदमार्ग निक्कै सुन्दर छ। मध्यपहाडी जिल्लाहरु पर्यटनका लागि महत्पूर्ण हुन सक्छन्।

खोटाङका गाउँहरु पातला नै देखिन्थे। सदरमुकाम दिक्तेल निक्कै पुरानो बजार रहेछ। सहरले नयाँ रुप ग्रहण गर्न सकेको रहेन छ। सहरी क्षेत्रमा पानीले सडक हिलाम्मे थियो। पानीले सडक हिलाम्मेमात्र पारेन हामीलाई नि रोक्यो। यी ठाँउहरुबाट मध्यपहाडी बनेपछि राजधानीहरुसँग यात्रा छोट्याएको रहेछ।

अर्को दिन विहान दिक्तेल खुल्यो। दिक्तेलमात्र हैन डाँडाहरु खुले, हिमाल देखियो। चिसो भए पनि हाम्रो यात्रालाई दृष्यको मादकताले रमाईलो बनाईदियो। हिमाल र कुहिरोको लुकामारी गजबै देखियो।

खोटाङमा हलेसी दर्शन नगरी अघि बढ्ने कुरै थिएन। हलेसी त्रिधार्मीक स्थल रहेछ। किराँत, हिन्दु र बौद्ध धर्म मान्नेहरुको महत्पूर्ण आस्थाको केन्द्र रहेछ। त्रिधार्मीक स्थल कमैमात्र भेटिन्छन्। हलेसी गुफा, मारातिका गुम्बा, चट्टानले भरीएको महादेव गुफा लगायतको क्षेत्रको भ्रमण गरीयो। किरातहरुको महत्पूर्ण स्थान तुवाचुङ पनि नजिकै रहेछ।

हलेसी दर्शनपछि सागुरोबाटो हुँदै यात्रा अघि बढ्यो। ओखलढुङ्गा, उदपुरको सानो भए पनि क्षेत्र टेकियो। हर्कपुर भन्ने ठाँउमा निक्कै चहलपहल रहेछ। घुर्मीमा विभिन्न ठाँउबाट आएका बाटो ठोकिने। सिन्धुलीमा वीपी राजमार्ग, मध्यपहाडी राजमार्ग भेटिने।
बाटो, पुलले कति सुविधा दिन्छ भन्ने कुरा सिन्धुलीको फिक्कलमा भेटिएकि एक महिलाको भनाईले पनि पुष्टि गर्छ। उनी भन्दैथिन ‘पुल नहुँदा ढुङ्गा चढ्नु पथ्र्यो, कति पल्ट वेहुला-बेहुली नै बगायो।’

खुर्कोटमा महोत्सवको चहलपलह थियो। महोत्सवको नाममा रमाईलो मेला लगाएर गाँउको पैसा सहर र भारत पठाउने काम भईरहेको छ। खुर्कोटपनि नयाँ सरह बनाउने सूचिमा छ। खुर्कोटबाट मध्यपहाडी रामेछाप जान्छ। तर रामेछापमा बाटो बनि सकेको थिएन्। मध्यपहाडीका इन्जीनियरहरुले सुझाएपछि हामी धुलिखेल भएर सिन्धुपालचोकको मेलम्चि तर्फ अघि बढ्यौँ।
अझैपनि यो खण्ड पुरा भएको छैन्। सिन्धुपालचोक-खोटाङ खण्डको ३ सय ४० किलामीटर मध्ये १ सय ३९ किलोमीटर कालोपत्रे भएको छ। यतिबेला मेलम्ची भूकम्पबाट उठेको थियो। मेलम्चीका गाँउमा केहिक्षण अन्तक्रिया गरियो । यस्ता छलफल हामीले हिडेदेखि नै गरेका थियौँ। स्थानीय तह बनेपछिका परिवर्तन, विकृतिका कुरा गर्यौ।

मेलम्चिका मान्छेहरु प्रायः काठमाण्डौँ बस्दा रहेछन्। बृद्धवृद्धामात्र गाँउमा। पुषमा खेतबारी बाँझै देखिन्थे।
पाती भञ्याङमा खाना खायौँ । तरकारी भारतबाट आएको। चामल तराई थियो। मध्यपहाडका गाँउमा स्थानीय उत्पादन खान पाईन छाडेको छ। यात्रा भरि धेरै ठाँउमा हामीले यस्तै भोग्यौँ। प्याज, गोलभेडा, आलु बाहिरबाटै आएका। यो देखेर मलाई लाग्यो मध्यपहाडी राजमार्गले परनिर्भर बनाउदैछ कि आत्मनिर्भर ?

यहाँबाट नुवाकोटका लागि हामि अघि बढ्यौँ। बाटोमा कतै उत्साह सुनाउथे त कतै गाँउमा युवा नभएको गुनासो पनि थिए। नुवाकोटको शिवपुरी गाँउपालिकामा जनप्रतिनिधि, शिक्षकहरुसँग भेट भयौँ । स्थानीय तहलाई व्यवस्थित बनाउने र केन्द्रले सहयोग गर्ने हो भने गाँउको विकास राम्रोसँग हुने उनीहरुको भनाइ थियो। शिवपुरीबाट अघि बढेपछि फाँटिलो क्षेत्र आयो । कतै गहुँ, कतै आलु त कतै तरकारी खेती देखिन्थ्यो। आँखाले नभ्याउञ्जेल फाँटहरु हेरौँ। पूर्वको अग्ला पहाडका देखेका हाम्रोलागि नुवाकोटका फाँटहरु लोभलाग्दा लागे।

नुवाकोटमा नयाँ एग्रो टुरीजमका योजनाहरु सुन्न पाइयो। पृथ्वीनारायण शाहको आधार युद्धशिविर, नेपाल–तिब्बत युद्धले यो जिल्लाको महत्व राख्थ्यो। गोरखापछि नुवाकोट आक्रमण गर्दै विजयपश्चात नुवाकोटलाई नेपालको राजधानी बनाएर शासन गरेको साततले दरबार पुग्यौँ। दरबार पुग्दा साझ परेको थियो। उपत्यका जस्तो विदुर झिलिमिल देखिनथ्यो। तर दरबारको पुनः निर्माणमा भने ढिलाई देखिन्थ्यो। यो ढिलाई यहाँमात्र हैन गोरखा, अछामको दरबारमा पनि देखियो।

बिहान आरुघाट पुगेपछि नुवाकोटलाई छाड्यौँ। धादिङका केहि गाँउहरु हिड्नु थियो। झोलुङ्गेपुलबाट बाईक तार्यौ। झोलुङपुलहरु यात्राभरी धेरैठाँउ बाईकमै तर्यौ। अहिले पनि यो खण्डमा लोकमार्ग कता भएर लैजाने भन्ने टुङ्गो भएको थिएन। ३० किलोमीटर सडक कताबाट लैजाने भन्ने यकिन हुन सकेको छैन्। धादिङका विभिन्न गाँउहरुमा घाँसको ठुला ठुला भारी बोकेर हिडिरहेकाहरु भेटिन्थे । हामी बुढीगण्डकीको किनारै किनार अघि बढ्यौँ। सल्यानटार गजबै रहेछ। बुढीगण्डकी जलाशययुक्त आयोजना बन्योभने यो टापुमात्र रहने स्थानीयको भनाई थियो । तर यहाँ पनि खानेपानी समस्या उस्तै। आरुघाटमा चहलपहल थियो।

लोकमार्गलाई छाडेर हामी गोरखा सदरमुकाम पुग्यौँ । केहिक्षण भेटघाट पछि गोरखा दरबार पुग्यौँ। नेपाल एकिकरणको महत्पूर्ण इतिहास गोरखासँग छ। साँझ हामी पालुङटार पुुग्यौँ। फाँटिलो पालुङ्टार राम्रो रहेछ।
विहान लिगलिगकोट पुग्यो। कुदेर राजा बन्ने भन्ने इतिहासि सुनेका थियौँ। गोरखा छोडेर लम्जुङमा यात्रा भयो । बाटो कच्चि थियो। मौसम धुम्मिएर हिमाल देखिएन। कृषकहरु काममा खटिएका देख्यौँ। पानी परेकाले यो यात्रामा दुःख थियो तर त्यस भित्रको आनन्द बेग्लै। यहाँबट अघि बढेर हामी कास्कीको यात्राकालागि निस्कियौं। बाटो छेउमा घरहरु नयाँ किसिमले बन्दै गरेका देख्यौँ। पानीले हामीलाई कास्कीमा रोक्यो।

लम्जुङ–नुवाकोट खण्डका २ सय ३५ रहेको छ। यहाँ लोकमार्गका विभिन्न ठाँउमा समस्या छ।
कास्कीबाट पर्वत हुदैँ बाग्लुङ पुग्यौँ । यहाँ धेरै अगाडीदेखि सडक भएकाले सुविधा थिए। बाक्लो गाडी कुदेका देखिन्थे। बाग्लुङमा लोकमार्गको निक्कै लामो सडक रहेको छ। १ सय ३६ किलोमीटर सडक यहाँ पर्छ।

गाँउ गाँउ छिचोलेको रहेछ। बाग्लुङ सदरमुकामबाट उकालो लागेपछि लेकाली क्षेत्र पर्दो रहेछ। ढोरपाटन जाने बाटो रहेछ । सदरमुकामबाट बुर्तिबाङ ९० किलोमीटर रहेछ। बुर्तिबाङ द्वन्द्वपछि जागेको बजार रहेछ। शान्ति प्रक्रिया सुरु भएपछि यो ठाँउ सहरमा रुपान्तरण भएको रहेछ । गाँउ गाँउबाट मान्छेहरु यहाँ आएका रहेछन्। चेपेखोलाको किनारमा रहेको यो बजार पनि नयाँ सहरमा पर्छ।

तर अर्को फसाद पर्यो। बाग्लुङ र रुकुम पूर्वको सिमानामा रहेको पातीहाल्ने भन्ने ठाँउमा निक्कै धेरै हिँउ जमेकाले जान नसकिने सुझाव प्राप्त भयो। लोकमार्गको आयोजना कार्यालयले खासै सहयोग गरेन। हिँउ पन्छाएर जाने भनेर हिडयो तर सारै दुख पाइयो। हिउँले बाटो थिएन, कहाँ पुगिन्छ भन्ने अन्योल थियो । पाँच घण्टा हिँउमा संघर्ष गरेपछि पातिहाल्ने पुगियो। यहाँ एउटा घर रहेछ, बास बस्न पाइयो। बाक्लो हिँउ पर्ने यो ठाँउ लोकमार्गकालागि चनौती हुन सक्छ।

बिहान पनि हिँउ मै बाईक ठेल्नु पर्यो। अपरान्हमात्र हिउँ कटियो। रुकुमको लुकम पुगेपछि गाँउहरु भेटिन थाले। सडक आएपछि यहाँका बासिन्दालाई ठुलो सुविधा पुगेको रहेछ। जनजीवनमा गरिबी प्रष्ट देखिन्थ्यो। विकास हुने प्रयासमा थिए गाउँहरु।

रुकुम पूर्वको रुकमकोट पुगेर बास बसियो। विकासको प्रयासमा देखिन्थ्यो पूर्वी रुकुम । कान्छो जिल्ला रुकुममा विकासको आधार सडक पुगेको थियो। रुकुमकोटबाट दाङ निस्किएर काठमाण्डौँ जादा दुई दिन लाथ्यो, अहिले ११–१२ घण्टामा पुगिन्छ । यो मध्यपहाडी लोकमार्ग कै उपलब्धी थियो।तीनवटा स्थानिय तह रहेका यो जिल्लामा जनसंख्या पनि कम छ । रुकुमकोटमा धामधम निर्माणका कामहरु भईरहेका देखिन्थे।

रुकुमले यो लोकमार्गबाट धेरै सुविधा लिएको देखिन्थ्यो। विभिन्न गाँउ छिचोल्दै पश्चिम रुकुमको सदरमुकाम मुसिकोट पुग्यौँ । पूर्वभन्दापश्चिमका सदरमुकामको भुगोल फरक रहेछन्।
राजनीतिक रुपमा पनि चर्चामा आउने रुकुम बाहिर चर्चा गरिए जस्तो रहेन छ।
मुसिकोटबाट चौरजहारी पुग्यौँ । यो पनि नयाँ सहरमा प्रस्तावित छ। यहाँबाट जाजरकोट सरदमुकाम खलाङ्गा नजिकै देखिदो रहेछ।
चौरजहारीमा गहुँ, जौँ र तोरी खेती लगाएको देखिन्थ्यो। पूर्वका गाँउमा जस्तो खेतबारी बाझो त देखिएनन्। पश्चिम नेपालप्रतिको धारणा फेरिदै थियो । चौहरजहारी कृषिका लागि महत्पूर्ण रहेछ।

रुकुमबाट जाजारकोट जानलाई भेरी नदीमा पुल थिएन। झोलुङ्गेपुलबाट बाईक तार्यौ। अहिलेसम्म पनि पुल बनेको छैन् । ठेक्का तोडेर नयाँ लगाइएको छ। अहिले सिम्ले घुमेर जानु पर्छ । जाजाकोटको बाटोमा भेटिएका नानीहरुका अनुहारमा गरिबि प्रष्ट्र देखिन्थ्यो। कर्णालीमा गरिबको खाडल रहेछ। हुनेखाने सिमित मान्छे। नेता पनि उनीहरु, व्यवसायी उनीहरु नै। काठमाण्डौँ, सहरमा बस्ने । गरिबहरु गाँउमा। जाजरकोटको खोलमा पुल रहेनछ घुमेर दैलेख पुगियो।

दैलेख त अथाह रहेछ। २२ देवल, भुईबाट आगो वलीरहने पञ्चकोशि क्षेत्र, दुल्लु, बेलासपुर मन्दीर, कोट गडी, दुल्लु लगायतका क्षेत्र महत्पूर्ण छन्। त्यसो त ३२ थरको उत्पती स्थलको रुपमा दैलखका विभिन्न ठाँउलाई लिईन्छ। हामी पञ्चदेवल, पञ्चकोशी, दुल्लु लगायतका महत्पूर्ण क्षेत्र घुम्यौँ । हाम्रो यात्रा गाउँ गाउँ हुदैँ भएकोले फरक फरक बस्तीहरु भेटिए। तोरी फूलेर पहेंलपुर देखिन्थे, कतै गहुँ तथा कतै जहुँ भेटिन्थे। कर्णाली माछाको स्वाद चाँख्यौँ। साथीहरु ठाँउपिच्छेका गीत सुनाउथे।

अछामको मगलशेन पुग्दा माघे सक्रान्तीको स्वागतका लागि रातभरी आगोबालेर बस्ने चलन देख्यौँ। हामीमध्येका केहिले आगो ताप्यौँ । माघे सक्रान्ती महत्पूर्ण पर्वको रुपमा लिईदो रहेछ। र्‍यार भनिदो रहेछ। अछामको मगलशेन घुमेर विहानै बैजनाथ धाम पुग्यौ । माघे सक्रान्तिमा विशेष पुजा तथा मेला लाग्दो रहेछ। माघेसक्रान्तीको दिन बैजनाथको दर्शन हाम्रालागि महत्पूर्ण थियो। चौखुटेसम्म मध्यहपहाडीको नयाँ सडक रहेछ। चौखुटेदेखि झुलाघाटको पुरानै सडकलाई प्रयोग गरिएको रहेछ। चौखुटिदेखि २ सय ४३ किलोमीटर पुरानो सडक। चौखुटिदेखि पातिहाल्नेसम्मको ४ सय ४० किलोमीटर सडक मध्ये २ सय ६३ किलोमीटर कालोपत्रे भएको छ। जाजारकोटको मन्तभिरमा सडक बनाउन समस्या छ।

अछाम छोडेर डोटी लाग्यौँ। पश्चिम लागेपनि घरहरु पनि फरक किसिमका । पूर्वी चौउरमा भन्ने ठाँउमा बसेर गाँउलेहरु कुरा सुन्यौँ । मान्छेहरु राजनीतिसँग आश राख्ने तर भर नपर्ने रहेछन्। अहिले जसरी देश बनेर भनेर बहस चलिरहेको थियो त्यसरिनै विभिन्न ठाँउमा गुनासो सुनिन्थ्यो।

सेती नदिका फाँटहरु साच्चै लोभलाग्दा। हेरेसम्म तोरी र गहुँ खेती देखिन्थ्यो। डोटिको तलकोटमा एकछिन गाँउहरुलेसँग गफ गर्दा थाहा भयो यहाँको उत्पादन खासै विक्रि नहुँदो रहेछ। विक्रिगर्ने गरि उत्पादननै नहुने। यत्रो फाँट धेरैको भएकाले खानमात्र पुग्ने उनीहरुको भनाई थियो।

DCIM\100MEDIA\DJI_0653.JPG

डडेलुधारमा विहानै उग्रतारा मन्दीरको दर्शन गरीयो। डडेलधुराका विभिन्न ठाँउमा हिउँ भेटियो। डडलेधुराबाट बैतडी टेकेपछि केहि मौसम खुलेजस्तो भयो। हिमाल देख्न पाईयो। बतैडीको पाटन लगायतका ठाँउहरुको घुमघाम महत्पूर्ण रहयो । पटनमनि नयाँ सहरमा पर्छ। निङ्लाशैनी मन्दीरमामा चहलपलह थियो।

बैतडीको खलङ्गामा समान्य चहलपहल थियो। सहिद दशरच चन्दको घर नजिक भएर अघि बढियो। दिउँसोको समयमा बैतडीको झुलाघाट पुगियो। महाकाली नदिलाई साक्षी राखेर यात्रा सम्पन्न भएको खुसि साटियो। राष्ट्रिय झण्डसहित तश्वीर खिचियो। फिदिमबाट सुरु भएको मोटरसाईकलयात्रा १६ दिनमा झुलाघाट पुगेको थियो।

धेरै कच्ची बाटोबाट यात्रा गरिएको थियो थियो। डाँडाहरु छिचोलीयो, विभिन्न बस्तीहरु पार गरीयो। कतै मोटरसाईकल ठेलीयो, कतै चिसोले मुटु कमायो । सयौँ नागरिक, जनप्रतिनिधि, पर्यटनकर्मी, नेता, पत्रकारहरुसँग भेट भयो। नयाँ नयाँ कुराको जानकारी भयो । धेरै गाँउ नै गाँउको यात्रा भएकाले गाँउको दुख, बसाँइ सराइ, खेतीपाती, अलिअली जागेको उत्साह, कतै छाएको निरासा देखियो। निक्कै धेरै अनुभव, सम्झना बोकेर महाकाली नदीको काखमा पुगीयो।

महाकाली नदीमा पुल थिएन्। त्यहाँको उद्योग वाणिज्य संघको नेतृत्वमा २९ दिन रिले अनसन गर्दापनि भएन । भारततर्फ चहलपहल थियो। झोलुङ्गेपुलबाट समान बोकेर ओसार प्रसार गर्ने नेपाली थिए। भारतीय बजारमा पुगेपछि थाहा भयो त्यहाँका मजदुहरु नेपाली रहेछन्। उनीहरुको दुखः अनेक रहेछन्।

यात्राको क्रममा थाहा भयो कि मध्यपहाडमा कृषिजन्य उत्पादनमा भारत तथा तराई को भर रहेछ । बसाई सराई बढ्दै गएको, गाँउमा युवाको अभाव हुन थालेको देखिन्थ्यो।

विकास पनि सहरतर्फ फर्किएको देखिन्थ्यो। गाँउलाई हेरेर विकास गर्ने नीति देखिएन । राजनीतिज्ञ, व्यवसायी, गन्नेमान्नेको घरजग्गा सहर तथा तराईमा भएकाले गाँउको विकासमा खास चासो देखिएन।

माथि उलेख्ख गरिए झैं संस्कृति, इतिहास, धार्मिक स्थल, प्राकृति सौन्र्दयताको हिसाबले मध्यपहाडी क्षेत्र महत्पूर्ण छ। कृषिलाई रुपान्तरण, सुविधाको विस्तार गर्नेतर्फ ध्यान दिनु पर्ने देखिन्छ।

सबै तस्वीरः गिरिराज बाँस्कोटा