अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै पूर्व शिक्षक

फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै पूर्व शिक्षक


चौतारा-सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-५ सिन्धुकोटका ५९ वर्षीय पूर्व शिक्षक कृष्णजङ्ग रायमाझीले फलफूलखेतीबाट वार्षिक रु ३५ लाख आम्दानी गर्दै आउनुभएको छ।

तीस वर्ष शिक्षण पेसा गरेर अवकाश लिनुभएका पूर्व शिक्षक रायमाझीले परीक्षणको रुपमा लगाएको केही बोट सुन्तला, कागती र जुनारले राम्रो उत्पादन दिएपछि उत्साहित भएर ५५ रोपनी जग्गा भाडामा लिएर फलफूल खेती गर्न थाल्नुभएको हो।

पाखोमा फलफूलको बिरुवा लगाउन झण्डै ८० लाख खर्च गर्नुभएका रायमाझीले दोस्रो वर्षदेखि वार्षिक ३५ लाख आम्दानी गर्न सफल हुनुभयो। पहिलो पटक कागती ३० रोपनीमा, जुनार र सुन्तला १० रोपनी गरी जम्मा ४० रोपनीमा लगाएको रायमाझीले बताउनुभयो।

रायमाझीका छोराले पनि १५ रोपनी जग्गामा उस्तै व्यवसाय गर्नुभएको छ। सबै गरेर ५५ रोपनीमा फलफूल खेती लगाएको उहाँले बताउनुभयो। उहाँका अनुसार कागती सुन्तला र जुनार एक हजार बोट लगाएको तीन वर्ष भयो। दुई वर्षमै कागती बोटले थामी नसक्ने गरी फलेका छन्।

रायमाझीका अनुसार पहिलो वर्षमा कागती पाँच हजार किलो फलेको थियो। त्यसबाट चार लाख बढी आम्दानी गर्न सफल भएको रायमाझीको भनाइ छ। अब उहाँसँग दुई लाख बराबरको बिक्री हुन बाँकी छ। कागतीको माग बढेकाले भनेजति पुर्‍याउन नसकिएको रायमाझी बताउनुहुन्छ। उहाँका अनुसार भारतबाट आउने कागतीभन्दा चिसो ठाउँमा रहेको सिन्धुकोटकोको कागती लामो समय नबिग्रिने हुँदा व्यापारीले मनपराएका छन्।

आगामी वर्ष १५ देखि ३० हजार किलो कागती उत्पादन हुने उहाँको अनुमान छ। ती कागतीको मूल्य २५ देखि ३० लाख पर्न आउँछ। सुन्तला र जुनार करिब १० लाख बराबरको बिक्री गरिसक्नुभएका उहाँले गत साल कागती, जुनार र सुन्तला गरी करिब १५ लाख आम्दानी गरेको बताउनुभयो ।

पुस सुन्तला र जुनारको समय हो। आगामी वर्ष सुन्तला र जुनार गरेर १० लाख र कागतीबाट २५ लाखसम्म आम्दानी हुने उहाँको अनुमान छ। अबको दुई वर्षमा सबै लगानी उठिसक्नेसमेत किसान रायमाझीले दाबी गर्नुभयो। पूर्व शिक्षक रायमाझीको लगनशीलता र मेहनतलाई देखेर यस आर्थिक वर्षमा मेलम्ची नगरपालिकाले कोल्डस्टोर बनाउन रु पाँच लाख अनुदान दिएको नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयो।

Skip This