काठमाडौं–सभामुख देवराज घिमिरेले नेपालको अर्थतन्त्र प्रतिकुलताबाट अनुकुलतातर्फ गइरहेकाले ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्तासँग आग्रह गर्नुभएको छ।
बिहीबारबाट नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंमा सुरु भएको नवौं अन्तर्राष्ट्रिय व्यापार मेला-२०२३ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
सभामुख घिमिरेले पछिल्लो समय विदेशी लगानीकर्ता केही नाफा कमाएपछि स्वदेश फर्किने क्रम बढेको बताउनुभयो। उहाँले थोरै नाफा लिएर गइहालौँ भन्ने सोच्नु भन्दा पनि अनुकुलतातर्फ गइरहेको नेपालको अर्थतन्त्रबाट अब झनै फाइदा लिनेगरी लगानी गर्ने बारेमा जोड दिनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘यस्तो बेलामा विदेशीले यहाँ ठूलाठूला लगानी गरेर व्यवसाय गरिरहेका ठाउँमा लगानी फिर्ता लिन खोजेका केही कुराहरु आएका छन्। ती घटनाप्रति मेरो ध्यान गएको छ। म के भन्न चाहन्छु भने अब हामी प्रतिकुलतामा रहेको अर्थतन्त्रलाई अनुकुलतामा लैजाने दिशामा गइरहेका छौँ। कोभिडबाट थलिएको स्थितिबाट अघि बढ्न लागिरहेका छौँ। अहिले मुनाफामा चलिरहेका यस्ता व्यवसाय, खासगरी यस्ता उद्यमी क्षेत्रमा लगानीका महत्वपूर्ण क्षेत्रमा केही नाफा हुँदैमा विदेशीले त्यो नाफा लिएर गइहालौँ भनेर नसोचिकन अझ धेरै नाफा आउने परिस्थिति आइरहेको छ, त्यसलाई पर्खिएर अघि बढ्ने वातावरण बनाउनुपर्छ। देशको संविधानले पनि निजी क्षेत्रलाई मुलुकको आर्थिक विकासको खम्बाको रुपमा लिएको छ।’
सभामुख घिमिरेले सातै प्रदेशमा प्रदर्शनी कक्षको व्यवस्थापन गरेर व्यापार व्यवसायलाई अघि बढाउन प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। उहाँले देशको खस्किँदो अर्थतन्त्रका पछाडि स्थायित्व नहुनु, भौतिक पूर्वाधारको विकासमा कमी रहनु, औद्योगिक असुरक्षा महसुस हुनु, लगानीमैत्री वातावरणको कमी रहनु, करका दरको अनिश्चितता लगायतका कुराहरुले निजी क्षेत्रले लगानी प्रोत्साहन गर्न नसकिरहेको बताउनुभयो। उहाँले निजी क्षेत्रले ढुक्कले काम गर्न पाए आर्थिक विकास, रोजगारी सिर्जना र लगानी आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले लगानीमैत्री कानुन निर्माणको नेतृत्वका लागि आफू प्रयत्नरत रहेको बताउनुभयो।






प्रतिक्रिया