अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनसेलको लगानी फिर्ताबारे सभामुख घिमिरेको चासो

एनसेलको लगानी फिर्ताबारे सभामुख घिमिरेको चासो


काठमाडौं-सभामुख देवराज घिमिरेले व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले एनसेलको शेयर बिक्री गर्दै बाहिरिने घोषणा गरेकोमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ। उहाँले आफ्नो निर्णय पुनर्विचार गर्न भन्नुभएको छ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवौं नेपाल अन्तर्राष्ट्रिय ब्यापार मेलाको बिहीबार भृकुटीमण्डपमा उद्घाटन गर्दै सभामुख घिमिरेले केही व्यापारिक समूहले लगानी फिर्ता गर्ने निर्णयबारे आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको हो । ‘हामी प्रतिकूल अर्थतन्त्रलाई अनुकूलतामा लैजान खोजिरहेका छौं,’ उहाँले आजियाटाको नाम उल्लेख नगरी भन्नुभयो, ‘मुनाफामा रहेका संस्थाले नाफा लैजाने भन्दा पनि थप लगानी गर्नेतर्फ सोच्न आग्रह गर्दछु ।’

आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सूदले बुधबारमात्रै एनसेलबाट बाहिरिने घोषणासँगै कम्पनी बिक्रीमा राख्ने घोषणालगत्तै सभामुखको धारणा आएको हो । उहाँले लगानीमैत्री कानून निर्माणको नेतृत्वका लागि सदैव आफ्नो पहल र प्रयत्न हुनेसमेत बताउनुभएको छ ।

सभामुख घिमिरेले आर्थिक मन्दी रहेको, व्यवसायिक वातावरण नभएको जस्ता हल्ला र प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउने भन्दा पनि सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउनतर्फ लाग्न अपिल गर्नुभयो । ‘हामीसँग पर्याप्त सम्भावना बोकेका कृषि, पर्यटन पूर्वाधार र आइसिटी लगायतका सेवा तथा उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नेतर्फ अग्रसर हुनुपर्ने आवश्यकता देखेको छु,’ उहाँको भनाइ थियो ।

संविधानले निजी क्षेत्रलाई मुलुकको आर्थिक विकासको खम्बाकै रूपमा लिएको स्मरण गर्दै सभामुख घिमिरेले संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति लिएको उल्लेख गर्नुभयो । उहाँले पूँजीगत खर्च असाध्यै कम रहेको अवस्थामा वर्षा र चाडवर्प सकिएसँगै अब खर्च बढाउने कामलाई गति दिनुपर्नेमा जोड दिनुभयो ।

नेपालको आयात र निर्यातबीचको असन्तुलन दिनप्रतिदिन बढिरहेको बताउँदै सभामुख घिमिरेले मेला महोत्सवहरुले पनि अर्थतन्त्र सुधारका लागि भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्यात दिनानूदिन कम हुँदै गएको र आयात दिनानुदिन बढिरहेको छ । यहीबीच आयोजना गरिएको व्यापार मेलाले नेपाली उत्पादनको निर्यात बढाउन राम्रो सहयोग पु¥याउँछ भन्ने मेरो विश्वास रहेको छ ।’

कोभिड महामारीपछि थलिएको अर्थतन्त्र सुधार गर्न, नेपाली व्यवसायीहरुको आत्मविश्वास बढाउन र लगानीमैत्री वातावरण बनाउँदै आर्थिक गतिविधि बढाउन मेलाले सहयोग गर्ने सभामुखले विश्वास व्यक्त गर्नुभयो ।

Skip This