अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई

चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई


काठमाडौँ-चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले नेपाल इन्टरमोडल यातायात विकास समितिसँग सम्झौता गरेको छ।

ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रालि दर्ता गरी पाँच वर्षका लागि रु दुई करोड ८८ लाख न्यूनतम पट्टा वहाल र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी आज समितिसँग सम्झौता गरेको हो।

समितिको टर्मिनल पट्टाबहालमा दिनेसम्बन्धी नियमावली, २०७० बमोजिम समिति र उक्त कम्पनीबीच आज भएको सम्झौता अनुसार कम्पनीले यही मङ्सिर २९ गतेदेखि चोभार सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन गर्नेछ । समितिका कार्यकारी निर्देशक आशीष गजुरेलको उपस्थितिमा कम्पनीका निर्देशक युवक डङ्गोल र सञ्चालक कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले करार सम्झौतामा हस्ताक्षर गर्नुभयो।

नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ बमोजिम समिति एक नियामक निकायका रुपमा रहेकाले समिति अन्तर्गत रहेका टर्मिनल ९सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी र कन्टेनर फ्रेट स्टेसन०को सञ्चालन तथा व्यवस्थापनका लागि समितिले गत साउन ८ गते अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको थियो।

त्यस अवसरमा कार्यकारी निर्देशक गजुरेलले चोभार सुक्खा बन्दरगाह सञ्चालन शुरु भएको करिब २० महिनामा व्यापारिक प्रयोगमा वृद्धि भइरहेको र सुक्खा बन्दरगाहको सञ्चालन र व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिँदा सरकारलाई प्राप्त हुने राजस्व बढ्ने बताउनुभयो।

गजुरेलले बन्दरगाहलाई पूर्णक्षमतामा सञ्चालनमा ल्याउनका लागि बल्खु–दक्षिणकाली सडक खण्डको कीर्तिपुरस्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्यद्वारदेखि चोभार सुक्खा बन्दरगाहसम्मको सडक चौडा गरी चार लेनको बनाउन र निजगढ-काठमाडौँ द्रुतमार्ग निर्माण चाँडो सम्पन्न गर्न अत्यावश्यक भएको बताउनुभयो।

सञ्चालक कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक राठीले सुक्खा बन्दरगाहको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनमा नेपाल इन्टरमोडल यातायात विकास समिति लगायत अन्य सरकारी तथा सरोकारवाला निकायबाट विगतमा प्राप्त गरेको साथ र सहयोग आगामी दिनमा समेत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।

Skip This