मध्यपहाडी मन्थन-१४
पुष्पलाल (मध्यपहाडी) राजमार्गको काम हुँदै थियो। तराईमा बनेको पूर्व-पश्चिम राजमार्गले झैं मध्यपहाडी राजमार्गले पहाडमा सम्भावनाको ढोका खोल्ने वातावरण बन्दै थियो। त्यही सम्भावनालाई देखेर भोजपुरको टेम्केमैयुङ गाउँपालिका-८ गोगने सल्लेनीका शम्भु नेपाल २२ वर्षपछि २०७० सालमा गाउँ फर्के। सुविधा खोज्दै बसाइँ सरेर विराटनगर झरेका नेपाल आफ्नै थाँतथलोमा फर्किएर व्यवसायीक रूपमा कागती खेती सुरू गरे। २०६७ सालमै दानाबोटे फलफूल तथा कृषि फर्म दर्ता गरेका नेपालको कागती खेतीको क्षेत्रफल अहिले पनि फैलिँदो छ। यो वर्ष मात्रै ६ टन कागती काठमाडौं पुर्याएर बिक्री गरेको नेपाल बताउँछन्। कुनै वर्ष नौ टन कागती काठमाडौं पुर्याएका नेपालले पाँच वर्ष अघिदेखि बगानमा ड्रागन फ्रुट खेती थप गरेका छन्। तीन/चार सिजनको ड्रागन बजारमा पठाइसकेका छन्।
गाउँ फर्किएर एकल व्यवसायीक कृषि पेशामा तल्लिन नेपालले सामुहिक खेतीमा पनि हात हालेका छन्। मन मिल्ने साथीहरूसँग मिलेर भोजपुर नगरपालिका-१२ मा सामुहिक रूपमा ड्रागन फ्रुट खेती लगाएका छन्। सामुहिक बगानमा १२ हजार बिरूवा र तीन हजार पिलरमा ड्रागन फ्रुट लगाइएको छ। ड्रागन खेतीका लागि २०७९ सालमा जुनु राईको नेतृत्वमा इन्दिरा नेपाल, सावित्रा कट्वाल र गीता कोइराला गौतम सञ्चालक रहेको भोजपुर ड्रागन फ्रुट उत्पादन कम्पनी लिमिटेड दर्ता गरिएको छ। सामुहिक ड्रागन खेतीमा स्वयं नेपाल र पत्रकार एक्सन राईले व्यवस्थापकीय भूमिका निर्वाह गर्छन्। राई नेपाल पत्रकार महासंघ शाखा भोजपुरका अध्यक्ष हुन्।
यस्तै, मध्यपहाडी राजमार्ग छेउमा घर भएका खोटाङको बाहुनीडाँडा कदुवाका फौदसिं कार्कीले २०७२ सालदेखि केराको लसी पसल सुरू गरे। २०६८ सालमा जिष्ट कृषि फर्म दर्ता गरेर व्यवसायीक रूपमा खेतीमा लागेका कार्कीले मध्यपहाडीमा बाक्लो आउजाउ सुरू भएपछि कदुवा भञ्ज्याङमा लसी पसल सुरू गरेका हुन्। लसी बनाउनका लागि आफ्नै खेतमा उत्पादन भएको केरा प्रयोग गर्छन्। गर्मी याममा दैनिक तीन/चार सय ग्लास लसी बिक्री हुने गरेको कार्कीले बताए। गाउँका किसानले पालेका गाईभैंसीको दूध लसी पसलमा खपत गर्ने वातावरण बनेको छ। गत असारदेखि कार्कीले ग्राहकलाई कुराउनी र पेडाको स्वाद चखाउन थालेका छन्।
खोटाङ नेर्पाका वडा सदस्य लोकेन्द्र राईले साथीभाइसँग मिलेर २०७९ देखि दिक्तेलमा डेरी चलाइरहेका छन्। उनीहरू गाईभैंसीको दूध संकलन गरेर नेर्पाबाट दैनिक मध्यपहाडी राजमार्ग पार गर्दै डेरीमा पुर्याउने गरेका छन्। मध्यपहाडी राजमार्ग नजिकै दोर्पाचिउरीडाँडाका पूर्वगाविस अध्यक्ष शुभचन्द्र राईले व्यवसायीकरूपमा किवीको फल तथा बिरूवा उत्पादन गर्दै आएका छन्। २०७१ वैशाख २२ गते शुभकृषि फर्म दर्ता गरेका राईले वार्षिक चार/पाँच हजार केजी किबी उत्पादन गर्छन्। मध्यपहाडी राजमार्गमार्फत शहर बजारमा किबी पठाउँछन्। २०७० सालदेखि किवी खेती सुरू गरेका राईको शुभकृषि फर्म कृषि र बाली विज्ञानका छात्र÷छात्राको सिक्ने थलो समेत बनेको छ। मध्यपहाडीकै आडमा सोल्माका गंगाबहादुर बिश्वकर्मा, रामकुमार राई, दोर्पाचिउरीडाँडाका युवराज गुरुङ, मनोज राई, नेर्पाका यामकुमार श्रेष्ठ लगायतले व्यवसायीक तरकारी खेती गरिरहेका छन्। ‘यो सबै मध्यपहाडी राजमार्गको कमाल हो,’ बिश्वकर्माले भने, ‘बाटो थिएन भने हामीले यसरी तरकारी खेती गर्ने थिएनौं। राजमार्गले सिर्जना गरेको अवसर हो यो।’
यी केही उदाहरण हुन्। पुष्पपाल (मध्यपहाडी) राजमार्गका कारण पुर्वका पहाडी जिल्लामा उत्साहजनक परिवर्तन देखिन थालेका छन्। पूर्व-पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग विस्तार सुरू गरिएसँगै खोटाङ, भोजपुर, ओखलढुंगा लगायतका पहाडी क्षेत्रमा बिकास र परिवर्तनको ढोका खुल्न थालेको हो। लोकमार्गले पहाडी जिल्लामा भौतिक, आर्थिक र सामाजिक क्षेत्रमा परिवर्तनका रूप देखिन थालेका छन्। पहाडी जिल्लाको संमृद्धि र स्थानीय बासिन्दाको आर्थिक परिवर्तनमा महत्वपूर्ण भूमीका खेल्न थालेको छ। लोकमार्गले दुर्गम गाउँ र राजधानी काठमाण्डौंको दुरीलाई नजिक मात्र बनाएको छैन, पहाडमै उद्योग, व्यापार, व्यवसाय फस्टाउनेक्रम सुरू भएको छ। किसानलाई कृषि लगायतका उत्पादनमा थप उत्साहित बनाएको छ। गाउँ-गाउँका किसानले उत्पादन गरेका सुन्तला, अकबरे खुर्सानी, अदुवा, अलैंची, दाल, ईस्कुस, जडिबुटी, काठ, खसीबोका, भेडा, सुँगुर जस्ता कृषि उपजलाई सिधै शहरबजारसम्म पुर्याउने बाटो खुलाएको छ। श्रम गरे पनि उत्पादित थोकबस्तुले बजार नपाउने किसानको समस्या क्रमशः हल हुँदै गइरहेको छ।
सडक, पुल, भवन, जलविद्युत, नहर सम्वन्धी भौतिक बिकासको काममा सहजता ल्याएको छ। जनजीवन सहज बन्दै छन्। शिक्षा र स्वास्थ्यमा गाउँलेको पहुँच बढाउन सघाउ पुर्याउँदै छ। ६/७ घण्टामा काठमाडौंका अस्पताल पुग्ने वातावरण बनेको छ। बाटोका कारण मध्यपहाडका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको भीडभाड देखिन थालेको छ। सुविधा खोज्दै बसाई सरेका कतिपय स्थानीय लोकमार्गले सम्भावनाको ढोका खोल्न थालेपछि गाउँ फर्कनेक्रम सुरू भएको छ। शहर सरिसकेका स्थानीयले पुःन पहाडमै घरघडेरी हेर्न थालेका छन्।
मध्यपहाडीका कारण खोटाङभित्रका सडक आसपासमा शहरीकरण बिस्तार हुने क्रमले तिब्रता पाएको छ। जयराम, च्यास्मीटार, बडहरे, बुद्धचोक, छापडाँडा, हलेसी, अर्खौले, विजुले, नुनथला, हुर्लुङ, मुढे, दिक्तेल, बानाचुङ लगायतका ठाउँमा बजारीकरण बढ्दो छ। खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा करोडौंको लगानीमा सुबिधा सम्पन्न होटलहरू खुलिरहेका छन्। सडक आसपासमा बसेर चिया, खाजा, खाना तथा दैनिक उपभोग्य सामानको व्यापारबाट स्थानीयले आफ्नै गाउँठाउँमा राम्रो आम्दानी गरिरहेका छन्।
सडक र पुल अभावमा खोटाङमा २०६४ सालमा हेलीकोप्टरबाट दुई वटा गाडी भित्र्याइएको थियो। अहिले मध्यपहाडी लोकमार्गले खोटाङबाट भोजपुर, धनकुटा, तेहथुम हुँदै पाँचथर पुग्ने वा ओखलढुंगा, उदयपुर, सिन्धुली हुँदै काठ्माण्डौं आउजाउ गर्ने छोटो र सहज बाटो खुल्दैछ।
मध्यपहाडमा अवसर छ, योजना छैन
करीब १८७९ किलोमिटर लम्बाईको मध्यपहाडी राजमार्गले पुर्व पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाटलाई जोड्छ। कृषि, उद्योग, पर्यटन लगायतको प्रचुर सम्भावना खुले पनि मध्यपहाडीबाट पहाडले फाइदा लिन नसकिएको ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रूम्दाली बताउँछन्। ‘हामीले सडकलाई गाडी चढ्न मात्र प्रयोग ग¥यौं, फाइदा लिन सकेनौं। सडकलाई उत्पादनसँग जोड्न सकिएन, आम नगरिकलाई सडकसँग जोडेर इन्कम जेनेरेट गर्ने कुरा गरेनौं,’ अध्यक्ष राईले भने, ‘गाउँवस्तीमा बाह्य वस्तुहरू ल्याउने माध्यम मात्र बन्यो। इन्टरनेशनल कम्पनीको वस्तुहरू बेचेरै हाम्रो जीवन जाने स्थिति देखिन्छ । स्थानीयवस्तुहरू उत्पादन गर्ने र बजारीकरण गर्ने भन्नेमा न स्थानीय सरकारको सोच रह्यो, न प्रदेश सरकारको रह्यो न संघीय सरकारको भो।’
मध्यपहाडी राजमार्ग आसपासमा परिणाममुखी पशुपालन र दुधको बजारीकरण गर्न सके पहाड चम्किने भोजपुर गोगने सल्लेनीका किसान शम्भु नेपालको धारणा छ। त्यसका लागि राज्यले शतप्रतिशत लगानीमा राजमार्गको ठाउँ–ठाउँमा दुध चिस्यान केन्द्र र गाउँ–गाउँमा दुध संकलन गर्ने भाँडा राख्ने वातावरण बनाइदिनु पर्ने नेपाल बताउँछन् । ‘मध्यपहाड चम्किन नसक्नु नै हामीले परिणाममुखी उत्पादनमा लगानी गर्न नसक्नु हो । त्यो परिणाममुखी उत्पादनका लागि पशुपालन र दुधको बजारीकरण मुल मुद्धा हो,’ नेपाल भन्छन्, ‘यसले बसाईसराई घटाउँछ, सबै घरमा एउटा गाई पाल्दा पनि महिनाको पाँच÷सात हजार आय हुन्छ, माछामासु आफ्नै पैसाले खान पाउँछन् । तर राज्यले मध्यपहाडमा व्यवसायीक इन्भाइरोनमेन्ट क्रियट गर्नै सकेन । बाटो भयो, बाटोले दिने सुविधा उपयोग गरिरहेका छौँ तर त्यो बाटोलाई व्यवसायीक कसरी बनाउन सकिन्छ भनेर अध्ययन नै गरिएन।’
पहाडमा रोकिएन बसाइँ सराई
मध्यपहाडी लोकमार्गले पहाडमा सम्भावनाका ढोका खुलाउँदैगर्दा बसाइसराई दर भने रोकिएको छैन । सडक, विजुली जस्ता पुर्वाधारको विकास भइरहँदा गाउँ छाड्नेको ताँती उस्तैछन् । सुविधाको खोजीमा, रोजगारको नाममा वा बालबच्चा पढाउने नाममा शहर सर्ने क्रम निरन्तर चलिरहेको छ । जंगली जनावरले दिएको सास्तीका कारण पहाडको थाँतथलो छाड्नेहरू पनि उत्तिकै छन् । वैदेसिक रोजगारबाट भएको कमाईबाट शहर बजारमा स्थानान्तरण हुने पनि उल्लेख्य छन् । विशेषगरी ‘नभएर भन्दा पनि भएर’ बसाई सर्नेहरू बढी देखिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई बताउँछिन् । ‘दिगो नहोला तर अहिले वस्ती वस्तीमा बिकास पुगेको छ । पहाडमा सम्भावनाको ढोका खुलिरहेका छन् तर बसाइ सर्ने क्रम रोकिएको छैन,’ मेयर राईले भनिन्, ‘विकास नभएर निराशाले बसाइ सरेका होईनन् । सक्षम भएर अझ सुविधा सम्पन्न ठाउँ खोज्दै सरेका हुन् । कारण शहरमा शिक्षा र रोजगारको अवसर हुन्छ ।’
ठाउँ-ठाउँमा राजमार्गको काम अलपत्र
मध्यपहाडी लोकमार्गको जयरामघाटदेखि चखेवाभञ्ज्याङसम्मको ११२ किलोमिटर खण्ड खोटाङभित्र पर्छ। भोजपुरभित्र पर्ने मध्यपहाडीको काम सम्पन्न भइसकेको छ। ओखलढुंगाभित्र पर्ने १४ किलोमिटर खण्ड पनि बनिसकेको छ। तर, खोटाङभित्र पर्ने चखेवाभञ्ज्याङ-सेखुवा (१० किलोमिटर) सडक हालसम्म अलपत्र छ। भारत कन्स्ट्रक्सन/मैनाचुली-सिद्धिशाही जेभी काठ्माडौंले अलपत्र पारेपछि चखेवाभञ्ज्याङ-सेखुवा सडकको ठेक्का तोडेर पुःन ठेक्का आव्हान प्रकृया अघि बढाइएको छ।
खोटाङमै मध्यपहाडी लोकमार्गमा पर्ने पंखु खोला पुल बन्न सकेको छैन। सिरूवा कन्ट्रक्सन प्रालिले पटक-पटक सम्झौता म्याद गुजार्दा पनि काम सम्पन्न नगरेका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खा रामेछापले पुलको ठेक्का सम्झौता तोडेर पुःन टेण्डर आव्हानको प्रकृया अघि बढाएको छ।
प्रतिक्रिया