अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोजगारीका लागि बिदेसिएको मध्यपहाड

रोजगारीका लागि बिदेसिएको मध्यपहाड


मध्यपहाडी मन्थन-१३


नेपालको चुरेदेखि उत्तरतर्फ र उच्च पहाडभन्दा दक्षिणतर्फको बीचमा पूर्वदेखि पश्चिमसम्म लमतन्न भएर रहेको पहाडी क्षेत्र नै मध्यपहाडी क्षेत्र हो। भौगोलिक आधारमा समुद्री सतहबाट २ देखि ४ हजार मिटरसम्मको उचाइमा पूर्वदेखि पश्चिमसम्म फैलिएको मध्यपहाडले नेपालको क्षेत्रफलको करीब २९ प्रतिशत हिस्सा ओगटेको पाइन्छ। मध्यपहाड जैविक विविधताका हिसाबमा मात्र होइन, जनसांख्यीक, सामाजिक-सांस्कृतिक विविधताका हिसाबमा निकै धनी छ। यहाँ विविध जातजाति, भाषा, संस्कृति, रहनसहन, चालचलन, भेषभुषा भएका मानिसहरुको अन्तरघुलन रहेको पाइन्छ। मध्य पहाड आफैंमा जनसांख्यीक हिसाबले विशिष्ट रहेको छ। यस आलेखमा मध्यपहाडी राजमार्गले छुने २६ जिल्लालाई प्रमुख रूपमा समेटी विश्लेषण गर्ने प्रयास गरिएको छ।

मध्यपहाड प्राचीन समय देखि नै निकै महत्वपूर्ण रहेको स्वीट्जरल्याण्डका प्राध्यापक भ्यान ड्रिमले उल्लेख गरेका छन्। उहाँले प्राचीन समयमा नेपालको हिमालय श्रृंखला अन्तर्गत मध्यपहाडी क्षेत्र जनसंख्या आवतजावतको मार्ग रहेको उल्लेख गरेका छन्। उहाँका अनुसार राम्रो हावापानी भएको मध्यपहाड अन्यत्रबाट आएका आप्रवासी समूहहरूलाई स्वागत गर्ने भूक्षेत्र मात्र नभई एशिया प्रशान्त क्षेत्रमा जनसंख्या विस्तारको सेतुको काम पनि गरेको थियो। यस्तो ऐतिहासिक महत्व बोकेको यो क्षेत्र अहिले पछाडि पर्नु पक्कै पनि राम्रो संकेत होइन। मध्यपहाड, जो सुन फल्ने पहाडका रुपमा पनि परिचित छ, यसको सन्तुलित विकासले मात्र नेपालको सामाजिक, आर्थिक तथा राजनीतिक विकासले गति लिन्छ। यस अर्थमा मध्य पहाडका विकासका सूचकहरूको विश्लेषण महत्वपूर्ण भैसकेको छ। यसै क्षेत्रमा कोरिएको मध्यपहाडी लोक मार्ग दूरगामी लाभ बोकेको राजमार्ग हो।

मध्यपहाडमा कति मानिस बस्छन् ?
कुल जनसंख्याको करीब २० प्रतिशत (१९.८) बसोबास गर्ने नेपालको मध्यपहाडमा पछिल्लो जनगणना २०७८ का अनुसार २६ जिल्लामा ५७,७८९८५ जनसंख्या बसोबासरत् छन्। यहाँ जम्मा १४,२३,७३९ परिवारमा बसोबास गर्दछन्। यसअघि ०६८ मा मध्यपहाडका २६ जिल्लामा रहेका १२,७८,८०७ घरपरिवारमा ५९,४३,१४६ जनसंख्या बसोबास गर्दथे। यसरी १० वर्षको अवधिमा मध्यपहाडबाट १,६४,१६१ जनसंख्या घटेको देखिन्छ। जनसंख्या घटे पनि परिवार संख्या बढ्नु भनेका मध्यपहाड बिस्तारै संयुक्त परिवारबाट एकल परिवारको ढाँचामा अघि बढेको पुष्टी हुन्छ। त्यसैको उदाहरण हो, १० वर्षमा १ लाख ६४ हजार १६१ जनसंख्या घटेपनि झण्डै त्यही अनुपातमा परिवार संख्या बढेको छ। यस अवधीमा १ लाख ४४ हजार ९३२ परिवार मध्यपहाडमा थपिएका छन्। मध्य पहाडमा पुरुषहरुको जनसंख्या २७ लाख ८८ हजार ८२२ रहेको छ भने महिलाहरुको संख्या २९ लाख ९० हजार १६३ रहेको छ। महिला र पुरुषको लैंगिक खाडले हेर्दा के स्पष्ट हुन्छ भने मध्य पहाडका पुरुषहरू कामका खोजीम बैदेशिक यात्रामा छन्। यसरी हेर्दा नेपालको जस्तै लैंगिक बनोटको चित्र मध्य पहाडको पनि देखिन्छ। यहाँको जनसंख्यामा महिलाहरु २ लाख १ हाजर ३४१ जना बढी मात्रामा रहेका छन्। मध्य पहाडमा अहिले प्रति एक सयजना महिलामा ९३.२७ जना पुरुष रहेका छन् जुन नेपालको औषत लैंगिक अनुपात भन्दा म देखिन्छ।

मध्यपहाडको जनसंख्या बृद्धिद्धर
मध्यपहाडमा रहेका जिल्लाहरुको अधिकांश (२० वटा) जिल्लाहरुको जनसङ्ख्या वृद्धिदर हेर्दा ऋणात्मक देखिन्छ भने ६ वटा जिल्लाहरु (उदयपुर, सिन्धुली, कास्की, रुकुम पूर्व, जाजरकोट, रुकुम पश्चिम) को जनसंख्या बृद्धिदर सकारात्मक देखिएको छ। समग्रमा मध्य पहाडका २६ जिल्लाको जनसंख्याको बृद्धिदर बिगतको दशक (२०६८-२०७८) मा ०.२७ % ले ऋणात्मक देखिन्छ। यसरी नै ती जिल्लाहरुको बृद्धिदरको ढाँचामा पनि एकरूपता देखिदैन। यसरी सन् २०११ को तुलनामा सन् २०२१ मा जनसङ्ख्या वृद्धिदर अप्रत्यासित रूपले तिव्र गति (–०.२७ %) मा घटेको देखिनुमा विभिन्न कारणहरूले भूमिका खेलेका हुन् सक्दछन्।

जसमध्ये सबैभन्दा महत्वपूर्ण कारण त सन् २०११ का तुलनामा सन् २०२१ मा मध्यपहाडबाट ठूलो सङ्ख्यामा नागरिकहरु वैदेशिक रोजगारीका सिलसिलामा देशबाहिर जानु, मध्य पहाडबाट तराई क्षेत्र तर्फ आन्तरिक बसाई सराइ गर्नु ,पहाडमा निर्माण भएका सडक,यातायात जस्ता सुविधाले मानिसहरुलाई बसाँइसर्न सजिलो हुनु आदि मूख्य कारण हुन् । अर्को त्यतिकै महत्वपूर्ण कारण जन्मदर घटेको कारणले गर्दा पनि यस प्रकारको परिणाम आएको हुन सक्दछ। यसरी मध्यपहाडी क्षेत्रमा जनसङ्ख्याको वितरणको स्वरूपमा कमी आउनुमा त्यस क्षेत्रको भौगोलिक कठिनाइ, गरिबी, यातायात र सञ्चार सुविधाको अभाव, शिक्षा तथा स्वास्थ्य सुविधाको अभाव र द्वन्द्वको प्रभाव आदि रहेका छन्।


रोजगारीको खोजीमा बिदेसिँदै  मध्यपहाड
पछिल्लो जनगणनाले उल्लेख गरे अनुसार मध्यपहाडबाट जम्मा ३,३०,३७७ परिवारका ४,७८,२२३ जना ब्यक्तिहरु बिदेशिएका छन्। जसमा ३,८६,३२९ जना पुरुषहरु तथा ९१,८९४ जना महिलाहरु रहेका छन्। यो आँकडा भन्दा पनि धेरै युवा जनसंख्या ती जिल्लाहरु बाट बिदेशिएको अनुमान गर्न सकिन्छ। यसरी नै आन्तरिक बसाइँ सराइका कारण पनि मध्य पहाडमा रहेका घरहरु रित्तो हुन पुगेका छन् । तथ्यांकले हरेक एक घरबाट एकजना भन्दा बढी युवा विदेशिएको देखाउदछ। यसको कारण मध्यपहाडमा विकास गयो तर रोजगारी गएन भन्ने नै हो। जसका लागि सरकारले दीर्घकलिन सोच बनाएर मध्यपहाडमा ठूलो उद्योगको स्थापना गरेर यहाँका युवालाई रोजगारीको सुनिचितता गरिदिनु पर्दछ।

मध्यपहाडका तीन चौथाई मानिस लेखपढ गर्न सक्छन्

जनगणनाले ‘कुनै पनि भाषा बुझेर पढ्न, लेख्न र दैनिक व्यवहारका साधारण हर-हिसाब गर्न सक्ने क्षमतालाई साक्षरता भनी परिभाषित गरे अनुसार २०७८ सालको जनगणनाले मध्यपहाडको ७५.८ प्रतिशत जनसंख्या साक्षर रहेको देखाएको छ, जुन नेपालको औषत साक्षरता दर (७६.२ प्रतिशत) भन्दा न्यून रहेको देखिन्छ। जसमा पुरुष साक्षरता दर ८३.८ प्रतिशत र महिला साक्षरतादर ६८.५ प्रतिशत हुन आएको छ। 

सन् २०११-२०२१ को अवधिमा पुरुष साक्षरतादर र महिला साक्षरता दरमा ठूलो लैगिक खाडल रहेको देखिन्छ। यसरी पुरुष तथा महिला साक्षरतादरमा १५.३ प्रतिशतको लैंगिक खाडल विद्यमान रहेको देखिन्छ।

मध्यपहाडको अपांगता
२०७८ सालको पछिल्लो जनगणनाले मध्य पहाडमा जम्मा १,६६,८७९ जना मानिसहरु कुनै न कुनै अपांता भएका छन्, जसमा पुरुषको संख्या ८९,६४९ तथा महिलाहरुको संख्या ७७,२३० रहेको छ। जुन मध्य पहाडको कुल जनसंख्याको २.९ प्रतिशत हुन आउँदछ। मध्यपहाडमा अपांगताको संख्या देखिनु विगतको शसस्त्र द्वन्द्व पनि हो। माओवादीले सञ्चालन गरेको १० वर्षे युद्धको मूख्य भूमी यही मध्यपहाड थियो। यो पहाडमा हजारौं मानिस युद्धमा मारिएनन् मात्र धेरै मानिसहरु घाइते र अपांग भएर पनि बाँचिरहेका छन्।

अन्त्यमा,
नेपालको ऐतिहासिक एवम् भौगोलिक हिसाबबाट विशिष्ट महत्व बोकेको मध्य पहाडको जनसांख्यीक वितरण तथा बनौट तथा सन्तोषजनक रहेको छैन। वैदेशिक रोजगारी तथा आन्तरिक बसाँइसराइ अनि न्यून प्रजनन दरका कारण यस क्षेत्रको जनसंख्या ऋणात्मक बन्न पुगेको छ। प्राय: सबै जसो जनसांख्यीक सूचकहरु, आर्थिक सूचकहरु निराशाजनक भइरहेको परिप्रेक्ष्यमा हुन लागेको नेकपा एमालेको मध्यपहाडी यात्राले त्यस क्षेत्रलाई अझ सबै सामु संवेदनशील बनाउन, त्यस क्षेत्रमा बसुँ बसुँ लाग्ने वातावरणको सिर्जना गर्न तथा वर्तमान जनसंख्याको अनियन्त्रित तथा असन्तुलित वितरणलाई सन्तुलित बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ।

(लेखक जनता बहुमुखी क्याम्पस इटहरीमा जनसंख्या विषय प्राध्यापन गर्नुहुन्छ।)