अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडी राजमार्गको समाजशास्त्र

मध्यपहाडी राजमार्गको समाजशास्त्र


मध्यपहाडी मन्थन- ११
मध्यपहाडी लोकमार्गले छोएका गाउँवस्तीमा विकासको ढोका खुल्दैछ । आर्थिक अवस्थामा सुधार आउँदैछ र नागरिकमा आशाको दियो बालेको छ। यो नेपालको मध्य पहाडी क्षेत्रमा बनेको एक ठूलो लोकमार्ग हो जसले देशको पश्चिमबाट पूर्व, तराई भन्दा माथि जाने राजमार्गलाई जोडेको छ । यो मार्गले मध्य पहाडी क्षेत्रमा रहेका गाउँहरू र नगरहरूलाई विशेष बनाएको छ। यस लोकमार्गले नेपालको ग्रामीण अर्थतन्त्रमा अनेक लाभहरू लिएर आएको जनअनुभूति रहेको छ।

व्यापार र वाणिज्यका गतिविधिहरू बढेका छन् । लोकमार्गबाट उत्पन्न हुने स्थानीय सामाग्रीहरूले विभिन्न वाणिज्यका गतिविधिहरूमा वृद्धि भएको छ । मध्यपहाडी राजमार्गले यातायात मार्फत पहाडी क्षेत्रलाई सहरसँग जोडेपछि स्थानीय उत्पादनको विक्री सहज भएको छ । उत्पादन गरेको वश्तुले बजार र मुल्य दुवै पाउने भएपछि उत्पादनमा सुधार हुँदा बिक्रीमा पनि बढोतरी भएको छ । जसबाट गाउँ समाजको आर्थिक आम्दानी वढेको छ। यो मार्गले समृद्धि हुने विभिन्न क्षेत्रमा रोजगार सृष्टि गरेको छ । सडक निर्माण, रेलिङ, होटल, रेस्टुरेन्ट, ग्यारेज, आदि विभिन्न क्षेत्रमा लोगहरूलाई रोजगारी दिएको छ ।
यस लोकमार्गका कारण शिक्षा र स्वास्थ्यमा पहुँच बृद्धि भएको छ । जसले गर्दा स्कूल र कलेजहरु सहज पठनपाठनका माध्यम भएका छन् । अस्पतालहरूलाई सुधार गर्ने सहारा मिलेको छ । विरामीहरुलाई तत्काल उद्धार गर्न सकिएको छ । कृषकहरूको उत्पादन सजिलै वजारमा पुगेको छ । खेती र पशुपालनमा सुधार आएको छ ।

केही वर्ष अघिसम्म रुकुम पूर्वको खाबाङी बगर दुर्गम बस्तीमा गनिन्थ्यो । त्यहाँका स्थानीयलाई सरकारी कामको लागि पुग्नैपर्ने सदरमुकाम आउन समेत हप्तादिन बढी समय खर्चिनु पर्ने बाध्यता थियो । खर्चको त कुरै नगरौं, आम्दानी नभएको ती बस्तीका नागरिकका लागि हजारौ खर्च गर्नु पर्ने विवशता थियो । आउजाउका लागि सवारी साधन त के समान वोक्ने खच्चड देख्न पनि महिनौसम्म पर्खिनु पथ्र्यो । स्थानीयलाई आवश्यक खाद्य सामाग्री वोकेर आउने खच्चड पनि पालो मिलाएर मात्रै महिनामा आक्कल झुक्कल गाउँतिर आउथे । दुर्गम वस्तीहरु लुगुम,तकसेरा,हुकाम,मैकोट,कोल,राङसी आसपासका बासिन्दाको दैनिक साह्रै कष्टप्रद थियो ।

तर पछिल्ला केही वर्षयता यहाँको अवस्था फेरिएको छ । घोडा खच्चड हिड्ने गोरेटो बाटो पिच भएको छ । सडकमा दैनिकै सयौं सवारी साधन कुद्न थालेका छन्। । हप्ता दश दिन लगाएर सदरमुकाम पुग्ने गाउँलेहरु आजकाल दुई घण्टामै रुकुम पूर्वको सदरमुकाम रुकुमकोट र चार घण्टामै रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगा बजार पुग्ने गर्दछन् । गाउँमा आउजाउ पनि बढेको छ ।

स्थानीय रुपमा उत्पादन हुने जौं,कोले,आलु, कोदो, फापर विक्री हुन थालेको छ । घरमा पालिएका दुई चार वटा गाई, भैंसी, बाख्रा,भेडा बेचेर स्थानीयले आम्दानी गर्न थालेका छन् । गाईवस्तुको दुध र घिउ अर्गानिक ब्राण्ड भन्दै माग बढेको छ । कष्टकर दैनिकी विस्तारै सहज बन्दै गएको छ । अध्याँरा जीवन उज्याला बन्दै आएका छन् । रुकुमकोट उद्योग बाणिज्य संघका अध्यक्ष केविन्द्र गौतम भन्नुहुन्छ, ‘मध्यपहाडी बाटोले त हाम्रो कायालपलट नै गरिदिएको छ । रुकुमकोट नमुना शहरमा परेको छ । घडेरी व्यापार ह्वात्तै वढेको छ ।ठुल्ठुला होटेलहरु खुलेका छन् ।’

बटाहरु पिच भएपछि गाउँ विद्यालय र स्वास्थ्य चौकीहरुमा पनि राम्रा शिक्षक र स्वास्थ्यकर्मी आउन थालेका छन् । शिक्षाको उज्यालो र स्वास्थ्य जीवन बाँच्नको फाईदा स्थानीयले थाहा पाउन थालेका छन् । पूर्वी रुकुम र बागलुङ निसीको सिमानामा रहेको उराठ पातीहाल्ने डाँडो पर्यटकीय क्षेत्र बन्दै गएको छ । त्यही डाँडोमा रहेको तिलाचन ताल हेर्न अहिले सयौं मान्छे आउन थालेका छन् । भूमे गाउँपालिकाका पूर्व प्रमुख रामसुर वुढामगर भन्नुहुन्छ, ‘बाटोको सहज पँहुचले मात्रै पनि यति धेरै परिवर्तन हुँदो रहेछ भन्ने कुरा अहिले आएर गाउँलेले पुरै अनुभूति गरेका छन् ।’

हुन पनि हो त्यहाँका ब्याँसी र भीरमा त्यसरी गाडी गुड्लान र त्यही गाडीमा आफु पनि चढ्न पाईएला भनेर त स्थानीयले कहिल्यै कल्पना गर्न सकेकै थिएनन् । अझ वाटोले संगै लिएर आउने परिवर्तनको सपना देख्ने त परको कुरा भयो नै । अहिले त्यहाँका पिच सडकमा दैनिक कुद्ने सवारी साधनमा नै स्थानीयले आफ्नो सुन्दर भविष्य देख्न थालेका छन् । नेकपा एमाले रुकुम पूर्वका अध्यक्ष टोप बहादुर ओली भन्नुहुन्छ, “पिच सडकमा गुड्ने गाडीमा अहिले जनताले आफ्नो भविष्य खोज्न थालेका छन् र आशावादी पनि छन् ।”
दुर्गमका बस्तीमा खुशी दिने र भविष्य देखाउने मध्य पहाडी पुष्पलाल लोकमार्ग अहिले सवैको भरोसाको साथी बन्दैछ । बागलुङ पश्चिमको ढोरपाटन, निसी, वोहोरागाउँ, देविस्थान, बुर्तिबाङ, भीमगिठे, ग्वालीचौर र रिघामा ‘छोरी ल्याउ, छोरी देउ’ चल्न थालेको छ । रुकुम र बागलुङको बीचमा घना जंगल भएको ठूलो डाँडो थियो । जहाँ मानिसहरुको सहज आवतजावत थिएन । तर मध्यपहाडी लोकमार्ग खुलेपछि गाडी चल्न थाले । मानिसहरु बागलुङतिर आउन थाले । त्यसपछि दुईतिरका समाज आपसमा घुलमिल हुन थाले । जसले मानिसहरुलाई कुटम्बेरी सम्बन्ध बनाउन सहज बनायो । राजमार्गले ल्याएको यो परिवर्तन देख्दा अचम्म लाग्छ ।

सडकले कतिपयका दुःख त हरण गरिदियो कतिपयका उस्तै छन् । रोजगारीको अभावमा बैधानिक र अबैधानिक बाटो भएर विदेश भासिनेहरु पनि रुकुम पश्चिम र रुकुम पूर्वमा उस्तै छन् । युवाहरु बैदेशिक रोजगारीतिर गएपछि महिला र वृद्धवृद्धाका काँधमा परिवार र समाजको जिम्मेवारी थपिएको छ । छोरा हुर्किएर पालो पाएका वृद्धहरु छोराहरु विदेश गएपछि फेरी हलोको अनौ समाउन विवश दृष्यहरु यी क्षेत्रमा देखिन्छ । मलामी र जन्तीमा युवा थोरै वृद्ध र महिलाको संख्या उल्लेख्य देखिन्छ । हामीलाई आशा छ,मध्यपहाडी लोकमार्गले ल्याउने समृद्धिले हाम्रो रुकुमको यो सामाजिक चित्र बदलिदिनेछ । हामी आशा गर्छौं यो लोकमार्गले यहाँका गाउँ रित्याउने गरी युवाहरुलाई सहर,मधेस र विदेश मात्र नओसारोस,यहाँको उत्पादन,यहाँको सीप,यहाँको पर्यटनको पनि निर्यात गरोस । जहाँबाट गाउँलेहरु गाउँमा आर्थिक समृद्धि हासिल गरुन् ।

बागलुङ र रुकुमपूर्वका मानिसहरुलाई यही मार्गले व्यवसायमा पनि पार्टनर बनाइदिएको छ । बागलुङको निशीखोला र भूमे गाउँपालिकाका किसान र रुकुम पूर्वका केही पशुपालक किसान मिलेर भेडापालनका साझा खर्क निर्माण गर्न थालेका छन् । मध्यपहाडी राजमार्गमा गाडी चलेपछि भेडाको उन र मासु बिक्री गर्न समस्या रहेन ।

पूर्वी रुकुमको सबै र पश्चिम रुकुमको कनेक्टिभिटी मध्यपहाडी राजमार्गले कताबाट कता पुर्याइदियो । पहिला यहाँका बासिन्दा बजार भर्न दाङतिर झर्थे । सुविधाको खोजीमा बसाँइसर्नेहरु नेपालगञ्ज,कोहलपुरतिर सर्थे । तर मध्यपहाडी पछि यी क्षेत्रको गन्तव्य स्थल नै बदलिएको छ । यहाँका मानिसको बजार अहिले बुटवल भइदियो । मध्यपहाड हुँदै गुल्मी,पाल्पा भएर बुटवल र भैरवहाका सामान गाउँगाउँ पुग्न थाले । मानिसहरु बिरामी हुँदा पोखरा झर्न थाले । बागलुङको वुर्तिवाङलाई दैनिक किनबेचको बजारको रुपमा मानिसहरुले विकास गरिरहेका छन् ।

गुल्मी,भैरवहा,पाल्पा,आदि ठाउँबाट आउन थाल्यो । रुकुमपूर्वका मानिस पहिला दांग,नेपालगञ्ज,अब पोखरा,बुटवल,वुर्तिवांग जान थाले । मुख्य बजार बुर्तिवांगलाई बनाउन थाले । अछामको मानिसको अछाम बाजुरा,डोटी भएर धनगढी झर्थे । अछामका मानिसको सुर्खेत र राकम कर्णाली हुनथालयो ।

रुकुम पश्चिमको चौरजहारीवाट एउटा रात्री वस दैनिक रुकुम पूर्व,बाग्लुङ,पोखरा हुँदै काठमाडौ चल्न थालेको छ ।
मध्यपहाडी आसपासका गाउँहरु पनि सडक विस्तारसंगै आम्दानीमा जोडिन थालेका छन् । यी गाउँवस्तीमा विकासको ढोका खुल्दैछ । आर्थिक अवस्थामा सुधार आउदैछ र नागरिकमा आशाको दियो बलेको छ ।

हुन पनि पूर्वको पाँचथर चिवाभञ्ज्याङदेखि पश्चिमको बैतडीसम्मका नेपालीले पहाडी लोकमार्गको यात्रा गर्दा सिस्ने गाउँपालिकाको रुकुमकोटमा रहेको सुन्दर कमल ताल,मुसीकोटमा रहेको मुसी दरबार,रुकुम पश्चिम र जाजरकोटको सिमानामा पर्ने सानीभेरी र ठुलीभेरीको संगमस्थल रिम्ना दोभानको दृष्यावलोकन गर्न पाइन्छ । सिस्ने गाउँपालिकाका उपप्रमुख एवं नेकपा एमाले रुकुम पूर्वका सचिव गोपाल रेउले भन्नुहुन्छ, ‘ रुकुमकोटमा रहेको असाध्यै सुन्दर कमलतालका कारण एक छाक खाना खाने,बास बस्ने र फोटो खिच्ने अवस्था सिर्जना भएको छ । यसले आर्थिक उपार्जन पनि भएको छ । भविष्यमा पर्यटन विकास गर्ने अवसर सिर्जना भई यहाँको समृद्धिको ढोका खोल्ने ठुलो सम्भावना देखाएको छ ।’ बाउन्न पोखरी र त्रिपन्न टाकुरीको जिल्ला भनेर चिनिएको रुकुम जिल्लामा अग्ला टाकुरा मात्रै होइन टप्पा र सिङारुको मौलिक साँस्कृतिक सम्पति पनि प्रसिद्ध रहेको छ ।

मध्य पहाडी पुष्पलाल लोकमार्गले जिल्लाको मात्रै होइन, कर्णाली प्रदेशको समृद्धिको यात्रालाई पनि संगै उजिल्याएको छ । यो प्रदेश देउडा संस्कृतिका साथै पर्यटकीय र आर्थिक विकासको सम्भावना बोकेको क्षेत्र हो । यस लोकमार्गले रुकुम पूर्व, रुकुम पश्चिम,जाजरकोट र दैलेखलाई नागबेलीमा चिरेर हिडेको छ । मध्यपहाडी लोकमार्गबाट प्रशस्त फाइदा लिन सकिने आधार रहेको अधिवक्ता रचना मल्ल भन्नुहुन्छ, ‘मध्यपहाडी लोकमार्गले कर्णाली प्रदेशका लागि समृद्धिको ढोका खोलेर आएको छ । यसको भरपूर उपयोग गर्न सकियो भने कर्णाली प्रदेशलाई सुनको डल्लो बनाउन सकिन्छ ।’

मुख्य मुख्य ठाउँ पहिचान गरेर अवलोकन स्थल निर्माण गरेर यात्री अडिने मार्गको रुपमा यसलाई विकास गरेर लैजाने छलफल भैरहेको दैलेखका समाजसेवी रुद्र शाहीले बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘मध्य पहाडी लोकमार्गले सवै क्षेत्रमा सम्भावना बोकेर आएको छ । हामी यसलाई उच्चतम उपयोग गरेर समृद्धिको यात्रामा लामवद्ध भएकाछौं । अछामको सिमानामा पर्ने दैलेखको राकम नयाँ शहर बन्दैछ । जुन साविक कर्णालीको प्रवेशद्धार हो । यो बजार बाट भारतीय मालसामान चीनतर्फ र चीनियाँ मालसामान भारततर्फ आयात निर्यात हुनेछ ।’

लोकमार्गका यी सवै सम्भावनालाई उजागर गरी समृद्धिको यात्रा अगाडि बढाउन नेकपा एमालेले मंसिर १४ गतेदेखि झुलाघाट चिवाभञ्ज्याङ संकल्प यात्रा सञ्चालन गर्न लागेको छ । नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाह भन्नुहुन्छ, ‘एमालेले दिर्घकालिन सोचका साथ अगाडि सारेको मध्यपहाडी लोकमार्गको महत्व दर्शाउन झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सञ्चालन गर्न लागिएको हो ।’ संकल्प यात्रामा स्थानीय जनतासंग संवाद गर्दै अगाडि बढ्ने कार्यक्रम रहेको छ । मंसिर १७ गते दैलेख र अछामको सिमाना बजार दैलेखको राकम कर्णालीमा आमसभा, मंसिर १८ गते विहान जम्बुकाँध,चगत्रा र दुल्लुमा जभेटघाट,पेट्र««ोलियम पदार्थ उत्खनन स्थल र कहिलै ननिभ्ने श्रीस्थान ज्वालाको अवलोकन,मंसिर १८ गते दिउँसो प्रदेश राजधानी सुर्खेतमा आमसभा, मंसिर १९ गते जाजरकोट र रुकुम पश्चिमको सिमाना बजार रिम्नामा भूकम्प पीडित लगायतका सर्वसाधारणसँग अन्तरक्रिया गरी उदियमान शहर रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा बास र मंसिर २० गते विहान कार्यालय प्रमुख,पार्टी कार्यकर्ता र सर्वसाधारणसँग भलाकुसारी गर्ने र बाग्लुङ प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।
यसपटकको संकल्प यात्राले मध्यपहाडी लोकमार्गको दुरगामी महत्व र जनआकर्षण झनै बढाएको सुर्खेत बहुमुखी क्याम्पसमा प्राध्यापनरत डा.दीपक गौतमले बताउनु भयो ।

(लेखक खलंगा बहुमुखी क्याम्पस पश्चिम रुकुममा प्राध्यापन गर्नुहुन्छ।)