काठमाडौँ-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विदेशिएका युवालाई स्वदेश फर्कन आग्रह गर्नुभएको छ।
विदेशमा आर्जन गरेको ज्ञानलाई मुलुक समृद्ध बनाउनका लागि स्वदेश फर्कन उहाँले आग्रह गर्नुभएको हो। राष्ट्रिय बाल अधिकार परिषद्ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले देशमा केही छैन भन्नुभन्दा देशमा फर्केर केही गर्छु भन्ने सोच्न बनाउन आवश्यक रहेको बताउनुभयो।
अध्यक्ष तिमिल्सिनाले देश बिग्रनुको दोष सबै नेतालाई दिन नहुने धारणा राख्नुभयो। ‘राजनीतिज्ञले देशमा बस्ने वातावरण नै बनाइदिएनन् भनेर झोला बेकेर हिँड्नुभन्दा अब युवाले मिलेर देश बनाउनमा लाग्नुपर्छ । युवा अवस्थामै देशको नेतृत्व गर्ने प्रधानमन्त्री भएर निस्किनुपर्छ। त्यसका लागि म सहयोग गर्न तयार छु।’
उहाँले आफ्नो खेत बाँझो राखेर विदेशमा मजदुरी गर्न जान नहुने बताउनुभयो। अब आउने चुनावमार्फत विकास गर्ने नेतालाई निर्वाचित गरी युवाले आफ्नो दायित्व निभाउनुपर्ने उहाँको भनाइ थियो।
राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बालबालिका पनि राजनीतिबारे सचेत हुन आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘बालबालिका राजनीतिक प्रचारप्रसारमा लाग्न पाइँदैन तर राजनीतिक ज्ञान हासिल गर्न अहिलेको आवश्यता रहेको छ।’
सम्मेलनका संयोजक तथा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले सरकारले अब युवालाई देशमै बस्ने वातावरणको सिर्जना गर्न सहयोग गर्नुपर्ने बताउनुभयो।






प्रतिक्रिया