काठमाडौं-मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार दिउँसो बागलुङस्थित कालिका भगवती मन्दिरको दर्शन र पूजा गर्नुभएको छ।
अध्यक्ष ओलीसहितका नेताहरु मन्दिर पुगेर आज पूजाआजा र दर्शन गर्नुभएको हो ।
समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको आठौं दिन विहीबार बागलुङ आउनुभएका अध्यक्ष ओलीले मन्दिरमा पुगेर दर्शन गर्नुभएको हो । साथै उहाँले मन्दिर परिसरको अवलोकन समेत गर्नुभएको थियो ।
एमाले अध्यक्ष ओली लगायतको टोली मन्दिरमा पुग्दा कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का लगायतले ओली लगायतका नेताहरूलाई स्वागत गर्नुभएको थियो। गुठीको तर्फबाट अध्यक्ष ओलीलाई मायाको चिनो समेत प्रदान गरिएको छ।
अध्यक्ष ओलीले पुजारी र व्यवस्थापनसँग मन्दिरको अवस्था र समस्याको बारेमा छोटो छलफल समेत गर्नुभएको छ। सो क्रममा मन्दिरमा राखिएको आगन्तुक पुस्तिकामा ओलीले सुझाव सहित हस्ताक्षर गर्नुभएको छ।
कालीगण्डकी नदीको दक्षिणी किनारमा रहेको यो मन्दिरलाई हिन्दु धर्मालम्बिको धार्मिक शक्तिपीठ मानिन्छ। मन्दिरको प्रत्येक मुख्य दिशामा चारवटा प्रवेशद्वार रहेका छन्। ती मध्ये एउटा प्रवेशद्वार भने खोलिँदैन। मन्दिर परिसरमा शिव, राधा–कृष्ण, लक्ष्मी–नारायण र अन्य देवतालाई समर्पित अन्य साना मन्दिरहरू पनि रहेका छन्।
सो मन्दिरमा बडा दशैँ, चैते दशैँ लगायताका पर्वमा दर्शनार्थीको भिड लाग्ने गर्दछ। मध्यकालमा चौबिसे राज्य अन्तर्गत पर्वत राज्यका राजा प्रतापी नारायण मल्लले १५९१ मा पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग विवाह गर्दा मुकुन्दसेनकी छोरीले माझकी देवीलाई आफूसँगै दाइजोको स्वरूप बुबासँग मागेर ल्याएको बताइन्छ।
पाल्पाबाट पर्वत ल्याउने क्रममा देवी बोकेर ल्याएको डोली हाल कालिका मन्दिर भएको ठाउँमा बिसाएको र पछि उठाउन जति प्रयत्न गर्दा पनि नउठेपछि राजदम्पत्तीले रमणीय कालीगण्डकी नदी किनारमा विधिपूर्वक मन्दिर स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किम्बदन्ती छ।
सो मन्दिरको माथिल्लो छानामा रहेको सुनको मोलम्मा लगाइएको गजुरमा १६३४ लेखिएकाले र पर्वते राजाहरूले शाके सम्वत् लेख्ने गरेको हुनाले यो मन्दिर पेगोडा शैलीमा विसं १७६९ मा निर्माण भएको अनुमान गरिन्छ।
सो मन्दिरमा खड्का क्षेत्री पुजारी छन्। राजा प्रतापी नारायण मल्लले कालिका देवीको खड्ग समाती आउनेलाई खड्गा पदवी दिई पुजारी गराई गुठ राखी दिएको बताइन्छ । त्यसपछि तिनै सन्तानहरूले हालसम्म अविच्छिन्न रूपमा पुजारी भई देवीको सेवा गरिरहेका छन् । कालिका भगवती मन्दिरको पूजा सञ्चालन, संरक्षण, रेखदेखका साथै अन्य आवश्यक व्यवस्थापन कालिका भगवती गुठी सञ्चालक समितिले गर्दै आइरहेको छ ।
मन्दिरभित्र पूर्व खण्डमा तीन फिट जति अग्लो नौ फिट जति चौडाइ भएको चारकुने चौको मण्डप रहेको छ। त्यसै मण्डपमाथि चाँदीको ढकनीले ढाकेका तीन थुम्काहरू छन्, जहाँ महाकाली महालक्ष्मी र महासरस्वतीको प्रतिमा स्थापित गरिएको छ। त्यसको छेउमा शिवलिङ्ग र गणेशको स्थापना गरिएको छ । मूर्तिहरुमाथि तामाको चुँदरी झुण्डाइएको छ।
कालिका भगवती मन्दिरको गर्भ गृहमा एउटा चौका उठाएको छ र त्यस चौकामाथि उत्तर र दक्षिण पारेर लहरैसँग माटोका तीनओटा अर्ध गोलाकार थुम्का उठाइएको छ। त्यसदेखि माथि अर्को एक तह पेटी उठाएर त्यस्तै एउटा थुम्का उठाइएको छ। यी चारै ओटा थुम्कालाई चाँदीको पाताले मोरेको छ । यिनै थुम्काहरूलाई कालिका भगवतीको प्रतीक मानेर पूजा गरिन्छ।
मध्य पहाडको समस्या र विकासको सम्भावना खोज्न नेकपा एमालेले मङ्सिर १४ गते झुलाघाटबाट अभियान सुरु गरेको छ। मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मीक अवस्था बुझ्न तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली यात्रामा छ। यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिने छ।
यात्राको क्रममा बाटोमा पर्ने धार्मिक तथा पर्यटकीय सम्भावना रहेका हरेक स्थानमा छिरेर एमाले अध्यक्ष ओलीले त्यसको बस्तुस्थित बुझ्दै आउनुभएको छ। ती क्षेत्रमा पर्यटन प्रवर्धनको लागि योजना बनाउन उहाँ ती स्थानमा पुग्नुभएको हो।










प्रतिक्रिया