अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आरती साह मृत्यु प्रकरण: श्रीमान मोतीबाबु पक्राउ

आरती साह मृत्यु प्रकरण: श्रीमान मोतीबाबु पक्राउ


जनकपुर-धनुषाकी आरती साह मृत्यु प्रकरणमा अभियुक्त बनाइएका आरतीका पति मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ। साहलाई प्रहरीले आज सोमबार बिहान जनकपुरधामको सगुन होटेलबाट पक्राउ गरेको हो। सो प्रकरणमा गत मंसिर २० गते सर्वोच्च अदालतले गरेको फैसलामा आरतीका पती साहलाई पक्राउ गर्ने आदेश दिइएको थियो।

गत जेठ ७ गते आफ्नै घरमा मृत फेला परेकी आरती साहको हत्या भएको भन्दै आरतीका माइती पक्षले जाहेरी दिएका थिए। सो घटनामा प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको भन्दै माइती पक्षले लामो समयदेखि काठमाडौंस्थित माइतीघरमा धर्ना दिँदै आएका थिए। पक्राउ परेका मोतीबाबुलाई सार्वजनिक विदा पछि अदालतमा पेश गरिने छ। माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो।

उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय धनुषाले १ असारमा जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो। थुनछेक बहसपछि ५ असारमा जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको थियो।

उच्च अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले मंसिर २० मा सुनुवाइ गरेको थियो। सुनुवाइपछि ससुरा मदनमोहन ब्याहुत सुडीलाई रिहा गर्ने उच्च अदालतको आदेश सदर गरेको छ भने श्रीमान् मोतीबाबुलाई भने थुनामा पठाउने आदेश दिएको थियो। सर्वोच्चको आदेश अनुसार उनका श्रीमानलाई पक्राउ गरिएको हो।

छोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आरतीकी आमा, बुबा, बहिनी, भई मामा लगायत करिब तीनमहिनादेखि काठमाडौंको माइतीघरमण्डलमा धर्ना दिँदै आएका थिए । आरती र मोतीबाबुबीच २९ असार २०७७ मा विवाह भएको थियो। दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना पाएको र मृत्युको कारण पनि यही भएको माइती पक्षको आरोप छ।