अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नबिल बैंकले पारित गर्‍यो सेयरधनीलाई दिने ११ प्रतिशत लाभांश

नबिल बैंकले पारित गर्‍यो सेयरधनीलाई दिने ११ प्रतिशत लाभांश


काठमाडौं-नबिल बैंक लिमिटेडले ३९औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। 

बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक साधारणसभा सम्पन्न गरिएको हो। 

सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेबमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिअनुसार आ.व. २०७९/०८० को मुनाफाबाट सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंक आ.व. २०७९/८० मा  ६ अर्ब ४० करोड मुनाफा गर्न सफल भएको थियो।

नबिलले वित्तीय क्षेत्रमा करिब चार दशक समय अघिदेखि गुणस्तर बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। पछिल्लो समय यस बैंकले दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै  डिजिटल बैंकिङको लागि एनबैंक सञ्चालनमा ल्याएको छ। 

‘क’ वर्गको बैंकहरूमध्ये निरन्तर देशकै अग्रणी वाणिज्य बैंकको पहिचान पाएको यस बैंकले दिगो बैंकिङ प्रणालीमा जोड दिएको छ।बैंकका अध्यक्ष पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैंकले आफ्ना गतिविधि सञ्चालन गरेको बताउनु भयो ।

‘देशको अर्थतन्त्रको पछिल्लो परिदृष्यहरूलाई मध्यनजर गर्दै नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगी भूमिका निर्वाह गरेको छ’, उहाँले भन्नभयो ।  

बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेको उहाँले बताउनु भयो ।

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम सञ्चालन गरेको छ। समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने, नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको हो। 

हालसम्म ३३५ जना विद्यार्थीहरूको सहभागिता भएको यस कार्यक्रमले ५२ वटा उद्यम जन्माएको र ८७२ जनाले रोजगारी पाएको उहाँले जानकारी दिनुभयो। साधारण सभालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष पौड्यालले विगतका वर्षहरूमा बाँडफाँड गरेको नगद लाभांशका साथै बजार पुँजीकरण तथा जेथामा भएको अभिवृद्धि समेतलाई दृष्टिगत गर्दा नबिल बैंकमा सेयरधनीहरूले लगानी गरेका स्थापना कालको चुक्ता पुँजी हालसम्म आउँदा ९६० गुणाले वृद्धि भएको कुरा बताउनु भयो। 

संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यलाई केन्द्रबिन्दुमा राख्दै बैंकले आफ्नो व्यवसाय विस्तार गरिरहेको र सो अन्तर्गतका विभिन्न लक्ष्यहरू जस्तै गरिबी निवारण, शिक्षा, स्वास्थ्य आदिलाई आधार मानी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम समेत अगाडि बढाइरहेको जानकारी गराउनु भयो। त्यस्तै बैंकले स्थापनाकालदेखि हालसम्म देशको राजस्वमा समेत महत्वपूर्ण योगदान दिँदै आएको जानकारी गराउनु भयो ।

नबिलले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालाहरूसँग सँगै अघि बढ्ने विश्वास राखेको छ। 

Skip This