काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतीय लगानी कर्ताहरूलाई नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ।
सोमवार काठमाडौंमा आयोजित नेपाल-इन्डिया बिजनेस फोरमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले द्रुत रुपमा बढ्दो नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको बताउनु भयो।
उहाँले नेपालमा पर्यटन पूर्वाधारको क्षेत्रमा हालै भएको उल्लेख्य विकासबारे चर्चा गर्दै भैरहवा र पोखरामा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनसँगै नेपालमा पर्यटन क्षेत्रको सम्भावनाको ढोका खुलेको बताउनु भयो।
अध्यक्ष ढकालले नेपालमा होटल, केवलकार, थिम पार्क, साहसी पर्यटन, खेल पर्यटन तथा माइस पर्यटनको ठूलो सम्भावना रहेको र यसमा भारतीय लगानीकर्ताले लगानी गर्न सक्ने उल्लेख गर्नुभयो।
‘नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मारेको छ। म भारतीय लगानीकर्ताहरूलाई नेपालमा बढ्दो पर्यटन सम्भावनालाई प्रयोग गर्दै यहाँका विविध क्षेत्रमा लगानी गर्न आग्रह गर्न चाहन्छु’, उहाँले भन्नभयो, ‘दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगसँगै पर्यटकको आगमन बढेको छ । यसले धेरै क्षेत्रमा लगानी गरी फाइदा लिनसक्ने वातावरण बनाइदिएको छ।’
नेपालमा लगानी गरेका भारतीय र बहुराष्ट्रिय कम्पनीले निकै राम्रो प्रतिफल लिइरहेको बताउँदै अध्यक्ष ढकालले भारतीय लगानीकर्तालाई विभिन्न क्षेत्रमा लगानी गर्न र यसको फाइदा उठाउन आह्वान गर्नुभयो।
अध्यक्ष ढकालले क्षेत्रीयरुपमा व्यवसायिक गतिविधि विस्तार गर्न र क्षेत्रीय व्यापार प्रवर्द्धन गर्न आफूले बिम्स्टेक बिजनेस फोरमको प्रस्ताव गरेको बताउनु भयो । त्यसलाई अगाडि बढाउन आवश्यक सहयोग गर्न इन्डियन च्याम्बर अफ कमर्सलाई उहाँको आग्रह थियो।




प्रतिक्रिया