अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलियम कारोबारको एकाधिकार पाएको निगम ५४औँ वर्षमा

पेट्रोलियम कारोबारको एकाधिकार पाएको निगम ५४औँ वर्षमा


काठमाडौँ-मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको एकाधिकार पाएको नेपाल आयल निगम आजदेखि ५४औँ वर्षमा प्रवेश गरेको छ।

करिब डेढ दशकदेखि डिजेल, पेट्रोल र मट्टितेलको आयात, भण्डारण र बिक्री निजी क्षेत्रलाई खुला गरिएको भए पनि एलपी ग्यासको कारोबारबाहेक अन्य पेट्रोलियम पदार्थको कारोबारमा निजी क्षेत्रको सहभागिता हुनसकेको छैन। निगमले विराटनगर, भद्रपुर, अमलेखगञ्ज, वीरगञ्ज, जनकपुर, थानकोट, मन्थली, भैरहवा, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, दिपायल र धनगढीबाट पेट्रोलियम पदार्थको कारोबार गरिरहेको छ। 

निगम केन्द्रीय कार्यालय टेकुमा आज आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरोकारवालासँगको छलफलका आधारमा निगमलाई थप सुदृढ बनाएर लगिने घोषणा गर्नुभयो। निगमले आफ्नो सेवालाई चुस्त बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उहाँले भण्डारण क्षमता विस्तारमा ध्यान दिन आग्रह गर्नुभयो।

निगम सञ्चालक समितिका अध्यक्ष एवं आपूर्तिसचिव नारायणप्रसाद शर्मा दुवाडीले निगमलाई सबल र सक्षम संस्थाका रूपमा विकास गर्न विभिन्न चुनौती रहेको औँल्याउँदै दायित्वमुक्त हुँदैमा वित्तीय अवस्था सुदृढ छ भनेर ढुक्क हुन नहुनेमा सचेत गराउनुभयो। उहाँले व्यावसायिक छवि उकास्न तथा नागरिकप्रतिको दायित्व पूरा गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। 

नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान, नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरे र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष मनोजकुमार दासले निजी क्षेत्रलाई पनि सँगसँगै लिएर अघि बढ्न सुझाव दिनुभयो। 

त्यस अवसरमा मन्त्री रिजालले उत्कृष्ट कर्मचारीलाई पुरस्कार प्रदान गर्नुका साथै निगमको ५४औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित मुखपत्र ‘प्रभात’को विमोचन  गर्नुभयो।  वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार, प्रमाणपत्र तथा पदक प्रदान गरिएको थियो। 

निगमले मुलुकका विभिन्न स्थानमा ७९ हजार नौ सय ९० किलोलिटर क्षमताका भण्डारण ट्याङ्करमा आयातित इन्धन भण्डारण गरी बिक्री वितरणको व्यवस्था मिलाइरहेको छ । निगमसँग १३ हजार छ सय ६२ किलोलिटर पेट्रोल, ४५ हजार आठ सय ४८ किलोलिटर डिजल, दुई हजार छ सय ९५ मट्टितेल र आठ हजार आठ सय १५ किलोलिटर हवाई इन्धन भण्डारण क्षमता छ। 

सरकारी स्वामित्वको निगमसँग १३ दिनको माग धान्न सक्ने भण्डारण क्षमता छ। निगमले इन्डियन आयल कर्पोरेसनबाट वार्षिक करिब रु ३० लाख किलोलिटर पेट्रोलियम पदार्थको आयात गर्ने गरेको छ। निगमले आव २०७९/८० मा करिब रु १६ अर्ब नाफा गरेको निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिनुभयो। पेट्रोलियम पदार्थको मूल्यमा भएको अत्यधिक वृद्धिले आव २०७८/७९ मा निगमले रु ४९ अर्ब नोक्सानी व्यहोरेको थियो। आव २०७९/८० को अन्त्यमा निगमको सञ्चित नोक्सानी रु चार अर्ब ९४ करोड रहेको उहाँको भनाइ छ। 

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नु तथा मितव्ययी कदमले वित्तीय अवस्थामा सुधार भई निगम दायित्वमुक्त भएको निमित्त कार्यकारी निर्देशक साहले बताउनुभयो। 'निगम सम्पूर्णरूपमा दायित्वमुक्त भएको छ, वित्तीय अवस्था सुदृढ बनेको छ, हाल सम्पूर्ण ऋणमुक्त भएको छ', उहाँले भन्नुभयो। गुणस्तरीय पेट्रोलियम पदार्थ सर्वसुलभ मूल्यमा उपलब्ध गराउन निगम क्रियाशील रहेको उहाँले बताउनुभयो छ। 

कुल अधिकृत पुँजी रु ३० अर्ब र चुक्ता पुँजी रु ११ अर्ब रहेको निगममा नेपाल सरकारको ९८ दशमलव ३८ प्रतिशत सेयर रहेको छ। निगमले गत आव २०७९/८० मा करिब रु तीन खर्ब ८३ अर्बको कारोबारमार्फत सरकारलाई रु एक खर्ब १५ अर्ब राजस्व भुक्तानी गरी मुलुकको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको छ।