अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदुरपश्चिममा तीन दिनमा नौ जनालाई कोरोना संक्रमण

सुदुरपश्चिममा तीन दिनमा नौ जनालाई कोरोना संक्रमण


कैलाली- पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भारतबाट नेपाल भित्रनेहरूको एन्टिजेन परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार तीन दिनमा ४६४ व्यक्तिको एन्टिजेन परीक्षण गरिएको थियो । तीन दिनयता प्रदेशका सीमानाका गौरीफन्टा, गड्डाचौकी, जुलाघाट र पुलघाट नाकाबाट एक हजार ४४४ व्यक्ति नेपाल भित्रिएका छन् ।
कोरोना संक्रमित आठ व्यक्तिको नमुना संकलन गरी थप परीक्षणका निम्ति क्षेत्रीय प्रयोगशालामार्फत केन्द्रमा पठाइएको थियो ।

गौरीफन्टा सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले कोरोनाभाइरसका संक्रमित फेरि भेटिन थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सुझाव दिए । “सीमानाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमित बढ्दै गएको देखिएको छ,” उनले भने, “हेल्थ डेस्कमा नमुना परीक्षणका लागि आवश्यक स्वास्थ्यकर्मी, एन्टिजेनको किट, मास्क ग्लब्सलगायत सामग्री पर्याप्त छन् ।”