काठमाडौं-काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गर्नुपर्ने बताउनु भएको छ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा उहाँले धेरै संख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनःनिर्माणको काम थाल्नुपर्ने जरुरी भइसकेकोमा जोड दिनुभयो।
विद्यालयको पुनःनिर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने उपप्रमुख डंगोलको भनाइ छ।
उपप्रमुख डंगोल भन्नुभयो, ‘हाम्रो देश भूकम्पको जोखिममा विश्वमा ११औं नम्बरमा पर्छ। त्यो भनेको नेपालमा कुनैपनि बेला भूकम्प आउन सक्छ। त्यसका लागि महत्वपूर्ण पाटो सबै सधैँ तयार हुनुपर्छ। पूर्वतयारीलाई काठमाडौं महानगरले प्राथमिकतामा राखेको छ। आगामी दिनमा भूकम्पमात्रै नभइ विभिन्न विपद्बाट जोगिन संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्छ। भूकम्प लगायतका विपद्मा हामीले हाम्रो स्थानीय प्रविधि प्रयोग गर्नसक्ने क्षमता छ, त्यो प्रयोग गरौँ ।’




प्रतिक्रिया