अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकैवर्षमा ५ पटक लोकसेवामा पास भएकी मनीषालाई अध्यक्ष ओलीको बधाई

एकैवर्षमा ५ पटक लोकसेवामा पास भएकी मनीषालाई अध्यक्ष ओलीको बधाई


काठमाडौं-एकै वर्षमा पाँच वटा लोकसेवा परीक्षा उत्तीर्ण गर्न सफल गुल्मी धुर्कोट गाउँपालिका-३ की मनीषा जिसीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिनुभएको छ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत मनीषालाई बधाई दिनुहुँदै अब कामको सफलताको शुभकामना पनि दिनुभएको हो। मनीषाको सफलताले मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सन्देश दिएको ओलीले उल्लेख गर्नुभएको छ।

हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन गर्ने धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गर्नुभएको हो । यो समाचार बिहीबार बिहान प्रकाशन भएको थियो।

समाचार आएपछि अध्यक्ष ओलीले फेसबुकमा लेखेर बधाई दिनुभएको हो।

अध्यक्ष ओली लेख्नुहुन्छ, ‘गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरूमा पढेँ। यो सुखद खबर हो । मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ। मनीषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्, शुभकामना ।’

जिसीले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र संघीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गर्नुभएको हो।

उहाँले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गर्नुभएको हो।यसपछि उहाँले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गर्नुभयो।

उहाँले माध्यमिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गर्नुभएको हो।

​​​​​​​