काठमाडौं-प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद्का महासचिवको नियुक्ति छिट्टै टुंगिने बताउनु भएको छ।
आइतबार प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूसँगको छलफलपछि पत्रकारसँग कुराकानीका क्रममा घिमिरेले यस्तो बताउनु भएको हो।
उहाँले संघीय संसद्का महासचिवको हकमा आफूहरूले आफ्नो काम गरेको बताउँदै सिफारिस भइसकेकाले अब नियुक्ति पनि टुंगिने आशा व्यक्त गर्नुभयो।
सभामुख घिमिरेले भन्नुभयो, ‘हामीले संघीय संसद्को महासचिवका लागि नाम सिफारिस गरेका छौँ। हाम्रो सिफारिसलाई टुंग्याउने ठाउँबाट टुंग्याउला। छिट्टै टुंगिने कुरामा म विभिन्न कोणबाट आशावादी छु। यसमा अन्य कुरा केही छैन।’
मंसिर २५ गते तत्कालीन महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि २७ मा पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिव बनाइएको थियो।
संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा पाण्डेको नाम संघीय संसद्को महासचिवमा सिफारिस भएको थियो।




प्रतिक्रिया