काठमाडौं-रुसी सेनामा कार्यरत रसुवाको नौकुण्ड गाउँपालिका-५ का ३२ वर्षीय सुन्दर मोक्तानको निधन भएको छ।
युक्रेनी सेनाको आक्रमणमा परेर मोक्तानको मृत्यु भएको हो।
मोक्तान गत भदौ अन्तिमतिर रोजगारीका लागि क्रोयसिया जानुभएको थियो । मृतकका आफन्त बुद्धि मोक्तानले कार्तिक अन्तिममा क्रोयसिया छु भनेर कुरा भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘केही दिनपछि जंगलको बाटो भएर रुस जाने भएकाले नेट नलाग्ने भनेका थिए, पछि दुःखद खबर आयो।’
अहिले उहाँको मृत्युको खबरले परिवार शोकमा डुबेको छ। यससँगै रुसी सेनामा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ।
उनको २६ दिनअघि मृत्युको भएको खबर आएको र शव ल्याउनेबारे कुरा भइरहेको नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर तामाङले बताउनु भयो ।
रुसमा रहेका चन्द्र तामाङ नाम गरेका व्यक्तिले उनको मृत्यु भएको खबर परिवारलाई गरेका थिए । नेपाली सेनामा जागिरे सुन्दर सशस्त्र द्वन्दमा माओवादीको दबाबपछि जागिर छाडेका थिए। परिवार पाल्न उनले निर्माण व्यवसाय कम्पनीमा पनि काम गरेका थिए । श्रीमानको मृत्युको खबर सुनेपछि ओमानमा रहेकी उनकी श्रीमती पातली मोक्तान नेपाल आएकी छन् । अहिले उनी श्रीमानको मृत्युको खबर बुझ्न काठमाडौंमा छिन् । कहिले परराष्ट्र मन्त्रालय त कहिले नेपालस्थित रसियन दूतावाससँग हारगुहार गरिरहेकी छन् ।
रोजगारीको सिलसिलामा उनी केही समय अघि मलेसिया गएका थिए । क्रोएसिया जान ठिक पारेको रकम दलालीले खाइदिएपछि उनको क्रोएसिया जाने सपना अधुरै रहेको थियो । त्यसपछि उनी अर्को बाटो अपनाएर क्रोयसिया हुँदै रुस पुगेको पाइएको छ । मोक्तानले गत सेप्टेम्बर २३ मा अन्तिम पटक श्रीमती पातलीसँग कुराकानी गरेका थिए ।
मृतकका बाबु कमानसिंह मोक्तान तामाङको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा माओवादीले हत्या गरेका थिए । ०५९ माघ ९ गते १५र२० जनाको समूहमा माओवादी कार्यकर्ताले आफ्नै घरमा सुतिरहेको अवस्थामा बार्दलीबाट आँगनमा खसालेर कुटपिट गरी धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । सुन्दरको परिवारमा बुढी आमा, श्रीमती र दुई छोराछोरी छन् । उनका दुई भाइ मलेसियामा छन् ।




प्रतिक्रिया