काठमाडौं-उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन का.मु. उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन का.मु. उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरे बताउनुभयो।
उनीहरुलाई २२ लाख ७८ हजार ३०५ रूपैयाँ ६० पैसा बिगो दाबी गरीआज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेले बताउनु भयो ।
उद्योगको लागि भिएफडी खरिद गर्दा बिना अध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामाग्री खरिद गरेको अनुसन्धानबाट खुलेको छ।

उनीहरुले सामान खरिद पश्चात गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामाग्रीमध्ये १६० किलोवाट भिएफडी प्यानल ‘पार्ट ए’ उदयपुर सिमेण्ट उद्योगले प्राप्त गरेको ५ वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई आवश्यक पर्नेभन्दा अस्वाभाविक रुपमा बढी सामान खरिद गरी गराई हालसम्म परीक्षण नगरिएको एवं सञ्चालनमा नरहेको उक्त १६० किलोवाटको २२ लाख बढीको रकम भुक्तानी दिई दिन लगाई उदयपुर सिमेन्ट उद्योगलाई गैरकानूनी हानि पुर्याएको पुष्टि भएको प्रवक्ता घिमिरेले बताउनुभयो ।
उदयपुर सिमेन्ट उद्योगलाई गैरकानूनी हानी पुर्याएको पुष्टि भएको हुँदा निजहरु सुरेन्द्र कुमार पौडेल, नवल किशोर साहा, पवन कुमार लाल कर्ण, भरत प्रसाद नेपाल, डेमलाल खनाल, कमलराज पौडेल, ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ उपदफा (१) को देहाय (क) र (च) बमोजिमको कसुरमा बिगो रु.२२ लाख ७८ हजार ३०५ रुपैया ६० पैसा कायम गरी निजहरूलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी बिगोसमेत असुल उपर दायर गरिएको प्रवक्ता घिमिरे जानकारी दिनुभयो।
उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजायसम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लिखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निज सुरेन्द्र कुमार पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायसमेत हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरे बताउनु भयो ।





प्रतिक्रिया