अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उद्धार गरेर ल्याइएको हिउँ चितुवा सार्वजनिक

उद्धार गरेर ल्याइएको हिउँ चितुवा सार्वजनिक


काठमाडौँ-पूर्वी नेपालको उर्लाबारी नगरपालिका-१ मा चारघरेमा फेला परेको दुर्लभ वन्यजन्तु हिउँ चितुवालाई उद्धार गरी सदर चिडियाखानामा ल्याएर आज सार्वजनिक गरिएको छ।

समुद्र सतहबाट एक सय ४६ मिटर उचाइमा बाँसको झ्याङमा बसेको अवस्थामा भाले हिउँ चितुवा फेलापरेको र यो अस्वाभाविक रहेको संरक्षण विज्ञहरूले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षणकोषलगायतले सदर चिडियाखानामा पत्रकार सम्मेलन गरी हिउँ चितुवासहित उसको अवस्थाका बारेमा विवरण सार्वजनिक गरेको हो।

विभागका वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहले पाटेबाघको बासस्थानको उचाइमा हिउँ चितुवा देखिनु अस्वाभाविक र अध्ययन अनुसन्धानको विषय बनेको बताउनुभयो । यही माघ ९ गते त्यहाँ देखिएको उक्त चितुवालाई संरक्षणमा सक्रिय विभिन्न संस्थाका प्रतिनिधिको सक्रियतामा उद्धार गरी सदर चिडियाखाना जाउलाखेल ल्याइएको हो।

उक्त हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज भएको, बाहिरी कुनै किसिमको चोट नदेखिएको र अवस्था समान्य रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। विज्ञहरूले उर्लाबारीमा हिउँ चितुवा कसरी आइपुग्यो भन्नेबारेमा अनुसन्धान थालिएको पत्रकार सम्मेलनमा बताउनुभयो। 

नेपालमा हिउँ चितुवा पूर्व कञ्चनजङ्घाबाट पश्चिम अपि नाम्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा पाइन्छ । नेपाललगायत मध्य तथा दक्षिण एसियाका १२ देशमा पाइने हिउँ चितुवा स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक एवं प्राकृतिक खाद्य शृङ्खलाको उच्च तहमा रहेको प्रजाति हो।

विश्वमा पाँच सय मिटरदेखि पाँच हजार आठ सय मिटरको उचाइमा र नेपालमा हिउँ चितुवा दुई हजार मिटरदेखि छ हजार मिटरसम्मको उचाइमा पाइएको छ । हिमाली क्षेत्रको १२ संरक्षित क्षेत्र तथा आसपासका क्षेत्रमा करिब १२ हजार आठ सय १५ वर्ग किलोमिटर क्षेत्रमा सम्भावित बासस्थान रहेको छ।

यसको सङ्ख्याको वितरणका आधारमा पूर्व कञ्चनजङ्घाबाट पश्चिम अपि नाम्पा संरक्षण क्षेत्रसम्मको हिउँ चितुवाको बासस्थानलाई पश्चिमी भूपरिधि, मध्य भूपरिधि र पूर्वी भूपरिधिमा विभाजन गरिएको छ। विश्वमा यसको अनुमानित सङ्ख्या तीन हजार नौ २१ देखि छ हजार दुई ९० रहेको छ। नेपालमा तीन सय एकदेखि चार सय सङ्ख्यासम्म रहेको अनुमान गरिएको छ। यो प्रजाति संवेदनशील वर्गमा र नेपालको संरक्षित सूचीमा पर्दछ।

Skip This