अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाटनदेखि बालकोटसम्म : नलेखिएको त्यागको इतिहास 

पाटनदेखि बालकोटसम्म : नलेखिएको त्यागको इतिहास 


१. विषय प्रवेश

नेपालको राजनीतिक इतिहासमा केही व्यक्तित्वहरू सार्वजनिक पदका कारण मात्र होइन, उनीहरूले बाँचेको जीवन, भोगेको सङ्घर्ष र छोडेको नैतिक प्रभावका कारण पनि चर्चा गर्न लायक हुन्छन्, स्मरणीय हुन्छन् र पूजनीय हुन्छन्। यस्ता व्यक्तित्वहरूको मूल्याङ्कन केवल उनीहरूले बोलेका शब्द वा धारण गरेका पदबाट हुँदैन। उनीहरूले आफ्नो कठिन समय कसरी बिताए, आफ्नो परिवार, समाज र राष्ट्रप्रति कस्तो उत्तरदायित्व निर्वाह गरे भन्ने आधारमा पनि हुन्छ। 

राधिका शाक्य त्यस्तै एउटा नाम हो। औपचारिक रूपमा राष्ट्र बैङ्कको उच्च सरकारी पद उहाँको पेसागत जीवन थियो। राधिका शाक्य, सार्वजनिक जीवनमा निरन्तर भाषण गर्ने नेताका रूपमा परिचित नाम होइन। तर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको धर्मपत्नीको नाताले उहाँसँगको लामो सहयात्रा, राजनीतिक उतारचढावका बीच परिवारलाई सम्हाल्ने धैर्य, आर्थिक अभावका दिनमा गरेको त्याग र बालकोटको एउटा साधारण घरलाई राष्ट्रिय राजनीतिक संवादको केन्द्रमा रूपान्तरण गर्ने भूमिका नै उहाँलाई नेपाली समाजले दिएको परिचय हो।

२. पाटनकी छोरी राधिका शाक्य

नेपालको सभ्यता, कला र संस्कृतिको इतिहासमा पाटन एउटा सहर मात्र होइन, समयसँग संवाद गरिरहेको जीवित समाज हो। ढुङ्गाले छापिएका गल्लीहरू, परम्परागत नेवारी बस्तीहरू, प्राचीन मठ-मन्दिर, कलात्मक झ्याल-ढोका, धातुकलाको अद्वितीय परम्परा र हरेक चोकमा गुन्जिने मन्दिरका घण्टीहरू, यी सबैले पाटनलाई एउटा विशिष्ट सांस्कृतिक पहिचान दिएका छन्। यहाँ किताबका पानामा होइन, प्रत्येक गल्ली, प्रत्येक चौतारो र प्रत्येक शिल्पकृतमा पाटनको इतिहास सास फेरिरहेको हुन्छ।

यही ऐतिहासिक वातावरणमा जन्मेकी राधिका शाक्यको बाल्यकाल पनि त्यही संस्कार, अनुशासन र सामाजिक चेतनाको जगमा हुर्कियो। बाल्यकालमा उहाँले देखेको संसार आफ्नो परिवार वा विद्यालयसम्म मात्र सीमित भएन। घरको आँगनबाट सुरु भएको उहाँको दृष्टि बिस्तारै समुदाय, समाज र राष्ट्रसम्म फैलिँदै गयो। पाटनको सांस्कृतिक जीवनले उहाँलाई समाज व्यक्ति भन्दा ठूलो हुन्छ र व्यक्ति समाजप्रतिको आफ्नो उत्तरदायित्वबाट अलग हुन सक्दैन भन्ने एउटा गहिरो पाठ सिकायो। 

पाटनको समाज परम्परागत रूपमा सामुदायिक सहकार्य, परस्पर सम्मान र सामाजिक उत्तरदायित्वमा आधारित छ। गुठी प्रणाली, सामूहिक उत्सव, जात्रा, धार्मिक अनुष्ठान तथा छिमेकीबीचको आत्मीय सम्बन्धले मानिसलाई म भन्दा हामीको भावना पाटनको विशिष्ट पक्ष हो। यही वातावरणमा हुर्कँदै जाँदा राधिका  शाक्यले व्यक्तिगत सफलताभन्दा सामूहिक हितको मूल्य बुझ्न थाल्नुभयो। मानिसको पहिचान उसको सम्पत्ति वा पदबाट मात्र होइन, उसको व्यवहार, इमानदारी र सेवा भावबाट पनि निर्धारण हुन्छ भन्ने संस्कार उहाँमा फराकिलो बन्दै गयो। 

बाल्यकालमा धेरै बोल्नेभन्दा धेरै सोच्ने स्वभाव भएर होला, राधिका शाक्य अरू बालबालिका खेलकुदमा रमाइरहेका बेला उहाँ वरिपरिको संसारलाई नियाल्ने, मानिसहरूको व्यवहार बुझ्ने र जीवनका स-साना घटनाका अर्थहरू खोज्ने गर्नु हुन्थ्यो । उहाँ भित्रको जिज्ञासा असाधारण थियो। कुनै घटना घट्यो भने त्यसको कारण के हो, किन यस्तो भयो, किन सबै मानिसको जीवन समान छैन, किन कसैले अभाव भोग्नुपर्छ र कसैले सुविधा पाउँछ भन्ने जस्ता प्रश्नहरू उहाँको मनमा सानै उमेरदेखि जन्मिन थालेका थिए।

यस्ता प्रश्नहरूको उत्तर खोज्ने क्रममा उहाँको सोच परिपक्व हुँदै गयो। जसले उहाँलाई समाज व्यक्तिहरूको समूह मात्रै नभएर यो अवसर, असमानता, श्रम, सङ्घर्ष र आशाले बनेको एउटा जटिल संरचना हो भन्ने कुरा बुझायो। समाजलाई बुझ्न पुस्तक मात्र पर्याप्त हुँदैन, मानिसलाई बुझ्नुपर्छ, मानिसलाई बुझ्न उसको पीडा, आशा र सङ्घर्षलाई नजिकबाट महसुस गर्नुपर्छ भन्ने चेतना उहाँमा विकसित हुँदै गयो।

राधिका शाक्यलाई विद्यालयको औपचारिक शिक्षाले अक्षर ज्ञान मात्र दिएन, विचार र विश्लेषण गर्ने क्षमता पनि दियो। पाठ्यपुस्तकका उत्तर कण्ठ गर्ने विद्यार्थीभन्दा प्रश्न गर्ने विद्यार्थीका रूपमा उहाँले आफूलाई विकसित गर्नुभयो। पाटनको सामाजिक जीवनले उनलाई महिलाको भूमिकाबारे पनि गहिरो अनुभूति गरायो। घरभित्र महिलाले गर्ने अथक श्रम र त्यसको  सार्वजनिक सम्मान न्यून भएको कारण र परिणामको खोजीले उहाँको मनमा प्रश्नहरू जन्माए, किन महिलाको योगदानलाई स्वाभाविक कर्तव्यका रूपमा मात्र हेरिन्छ ? किन श्रमको मूल्याङ्कन समान हुँदैन ? यिनै अनुभूतिहरूले पछि महिलाको आत्मसम्मान, शिक्षा र सामाजिक सहभागिताप्रति उहाँमा संवेदनशील दृष्टिकोण निर्माण गर्‍यो।

पाटनको एउटै सहरमा अनेक जातजाति, भाषा, परम्परा र धार्मिक अभ्यासहरू शताब्दीयौँदेखि सहअस्तित्वमा रहेका थिए। पाटनको यही सांस्कृतिक वातावरणले उहाँलाई सहिष्णुता सिकायो। फरक पहिचान भएका मानिसहरूबीचको सहकार्य र पारस्परिक सम्मानले विविधतामा एकताको अर्थ बुझायो। यही अनुभवले उनको व्यक्तित्वलाई सङ्कीर्णता भन्दा समावेशितातर्फ उन्मुख गरायो। 

राधिका शाक्यको बाल्यकाल विलासितामा बितेको थिएन। सामान्य परिवारको अनुशासित वातावरण, सीमित साधन र परिश्रममा आधारित जीवनशैलीले उहाँलाई मितव्ययिता र आत्मनिर्भरता सिकायो। आवश्यकताभन्दा बढी चाहना नराख्ने, श्रमलाई सम्मान गर्ने र उपलब्ध साधनको विवेकपूर्ण उपयोग गर्ने बानी त्यही समयदेखि विकसित भयो। यही संस्कारले पछि जीवनका कठिन मोडहरूमा पनि उहाँलाई धैर्य र आत्मविश्वासका साथ अघि बढ्न मद्दत गर्‍यो।

समयसँगै उहाँलाई गरिबी आर्थिक अवस्था मात्रै होइन, अवसरको अभाव पनि हो। यी अनुभवहरूले उहाँको सोचलाई अझ परिपक्व बनायो। उहाँको व्यक्तित्वको सबैभन्दा उल्लेखनीय पक्ष भनेको करुणा थियो। यो भावुकतामा आधारित थिएन, जिम्मेवारीमा आधारित करुणा थियो। उहाँमा स्थायी परिवर्तन आक्रोशबाट होइन, संवाद, धैर्य र परस्पर विश्वासबाट सम्भव हुन्छ भन्ने करुण भावको विकास भयो। यही कारणले उहाँमा धेरैको कुरा धैर्यपूर्वक सुन्ने, विवादभन्दा समाधान खोज्ने र व्यक्तिभन्दा समस्याको मूल कारण बुझ्ने व्यक्तित्व निर्माण गर्‍यो।

पाटनले राधिका शाक्यलाई जन्मस्थान मात्रै दिएन, एउटा जीवनदर्शन पनि दियो। इतिहासप्रतिको सम्मान, संस्कृतिप्रतिको गर्व, श्रमप्रतिको आदर, महिलाप्रतिको संवेदनशीलता, समुदायप्रतिको उत्तरदायित्व र मानिसप्रतिको करुणा, यी सबै गुणहरू पनि दियो।

जीवनको पछिल्लो यात्रामा उहाँले जति राजनीतिक उतारचढाव, आर्थिक अभाव र व्यक्तिगत चुनौतीहरू सामना गर्नुभयो, ती सबैको सामना गर्न सक्ने नैतिक शक्ति पनि पाटनको त्यही बाल्यकालीन संस्कारबाट प्राप्त भएको हो भन्न सकिन्छ। त्यसैले राधिका शाक्यको जीवन बुझ्न चाहने जो कोहीले सर्वप्रथम पाटनलाई बुझ्नुपर्छ। किनकि उहाँको व्यक्तित्वको बीउ त्यहीँ रोपिएको थियो, पछि देखिएको विशाल वृक्ष त्यसको विस्तार मात्र थियो। त्यसैले हामी गौरवपूर्ण भन्न सक्छौ, राधिका शाक्य पाटनकी छोरी हुनुहुन्छ। 

३. विवाह र त्यसपछिका दिनहरू  

जीवनको यात्रा केवल उमेरसँगै अघि बढ्ने जैविक प्रक्रिया मात्र होइन, त्यो त समय, समाज र परिस्थितिले बुनेको एउटा जटिल कथा हो। विवाहपछिको जीवन अझ बढी जटिल बन्छ। जिम्मेवारीहरू बढ्छन् अपेक्षाहरू गहिरिन्छन् र समयको व्यवस्थापन चुनौतीपूर्ण बन्छ। बिहानदेखि रातीसम्मको दिनचर्या आफ्नो लागि मात्र हुँदैन, परिवारको आवश्यकता, सामाजिक सम्बन्ध र आर्थिक स्थायित्वसँग पनि गाँसिन्छ। सङ्घर्ष विवाह पछिको अनिवार्य सर्त हो। परिवार र समाजको अपेक्षा एकातिर र विचार तथा आदर्श अर्कोतिर हुँदा धेरै मानिसहरू आन्तरिक द्वन्द्वमा फस्न सक्छन्। 

हरेक मानिसको विवाहपछिको जीवन समाजसँगको सम्बन्ध, जिम्मेवारी र परिवर्तनको कथा हो। राधिका शाक्यको जीवन पनि यो भन्दा फरक छैन। राजनीतिक जीवनमा निरन्तर सक्रिय रहेका केपी शर्मा ओलीसँगको सहयात्राले उहाँलाई बारम्बार डेराबाट डेरामा सर्न बाध्य बनायो। उहाँहरूको जीवनमा मन्त्री क्वार्टर, पाटन, बानेश्वर यी सबै ठेगानाहरू अस्थायी भए। आफ्नै भनिने एउटा घरको चाहना भने उहाँको स्थायी सोच थियो।

४. डेरादेखि डेरासम्मको जीवन

राधिका शाक्यको डेरादेखि डेरासम्मको जीवन केवल स्थान परिवर्तनको कथा मात्रै होइन, यो उहाँको अस्तित्वको लडाइको निरन्तर सङ्घर्षको कथा हो। घरको स्थायित्वबाट टाढा हुँदा मानिसले भौतिक बसाइँ मात्र होइन, भावनात्मक र मानसिक रूपमा पनि निरन्तर स्थानान्तरण गरिरहनुपर्छ। हरेक नयाँ डेरामा एउटा नयाँ संसार हुन्छ, नयाँ कोठा, नयाँ छिमेकी, नयाँ नियम, र एक्लोपन।

डेराको जीवन सुरु हुँदा पहिलो अनुभूति नै अपरिचयको हुन्छ। भित्तामा झुन्ड्याइएका केही सीमित सामानहरूले मात्र त्यो ठाउँलाई आफ्नो बनाउने प्रयास गर्छन्। तर मन भने अझै पुरानो ठाउँमै अड्किएको हुन्छ। बिहान उठ्दा किचेनको आवाज, पानीको धाराको अनिश्चितता, र सडकको अनजान भीड, यी सबै कुराले प्रत्येक दिनका नयाँ चुनौती बनिरहेका हुन्छन्।

डेराको जीवन स्थायित्व भन्दा बढी अस्थिरता हुन्छ। कहिले घरबेटी बदलिन्छ, कहिले भाडा बढ्छ, कहिले कोठा नै छोड्नुपर्ने हुन्छ। यस्तो जीवनमा डेराको जिन्दगीसँग गहिरो सम्बन्ध गाँस्न कठिन हुन्छ। तर यही अस्थिरताभित्र एउटा समायोजनको मौन शिक्षा लुकेको हुन्छ। डेराको जीवनले मानिसलाई नयाँ छिमेकीसँग बोल्न, अपरिचित वातावरणमा घुलमिल हुन र सीमित साधनमा पनि जीवन चलाउन सिकाउँछ। राधिका शाक्यको विवाहपछिको जीवनमा धेरै किसिमका परिवर्तनहरू भए। जीवनमा डेरा खोज्ने र कोठा फेरिने बाध्यता सुरु भयो। एक ठाउँबाट सुरु भएको बसाई पारिवारिक जिम्मेवारी र राजनीतिक जीवनसँग पनि जोडिन थाल्यो। 

केपी शर्मा ओलीसँग विवाह भएपछि सुरु भएको राधिका शाक्यको डेराको जीवन कहिले एउटा, कहिले दुई वटा कोठामा बित्दै गयो। २०५१ सालमा ९ महिना मन्त्री निवास बसेपछि पनि उहाँको डेराको जिन्दगी सकिएन। मन्त्री निवासबाट बाहिरिएपछि उहाँहरू भाडाको घर लिएर पाटन क्षेत्रमै बस्नु भयो। त्यो समयमा उहाँका बाबुआमा अलग घरमा र उहाँहरू अलग ठाउँमा बस्नुहुन्थ्यो। सेवा सुविधाका हिसाबले त्यो जीवन सहज थिएन। गल्लीभित्र गाडी पुग्ने अवस्था थिएन, बाटो साँघुरो थियो र यातायातको पहुँच पनि सीमित थियो।

त्यो समयमा एक रातको घटना राधिका शाक्यको स्मृतिमा अझै पनि ताजै छ। “एउटा टोयोटा स्टाइलको गाडी साथीभाइको सहयोगमा हामीसँग थियो। तर त्यसलाई राख्ने ठाउँ थिएन। त्यसैले उहाँ (केपी सर) लाई राती घर छोडेर थापाथलीतिर लगेर गाडी राख्ने गरिन्थ्यो। तर एक रात को को थिए, थाहा भएन, गाडी राख्न लिएर गएका मानिसहरूले गाडीलाई मुग्लिनतिर लगेका रहेछन्। हामीलाई केही जानकारी थिएन। बिहानतिर थाहा भयो कि गाडी मुग्लिन छेउमा दुर्घटनामा परेको रहेछ । यसबाट मानवीय क्षति नभए पनि गाडी पूर्णरुपमा ध्वस्त भएको थियो।” राधिका शाक्यले मलाई सुनाएको कथा हो यो। त्यो घटनापछि उहाँको जीवनमा पार्किङ सहितको स्थायी बसोबासको आवश्यकता अझ गहिरो रूपमा महसुस भयो। 

पाटनपछि उहाँहरू बानेश्वर क्षेत्रमा डेरा सर्नु भयो। त्यही बसाइँको क्रममा स्थायी घर बनाउने उहाँको सोच अझ स्पष्ट हुँदै गयो। उहाँ राष्ट्रबैँकको जागिरमा हुनुहुन्थ्यो। राष्ट्रबैँकको बार्दलीमा एक दिनको चिया गफमा घर बनाउने सोच सार्वजनिक भयो र साथीभाइको हौसला र प्रेरणाका कारण पनि उहाँको घर बनाउने सपनाले मूर्तरूप पाउँदै गयो। यसलाई यसरी भन्न सकिन्छ, राष्ट्र बैकको बार्दलीमा सोचेको सोच बालकोटको बार्दलीमा रूपान्तरण भयो। 

घर भनेको विशेष गरी महिलाका लागि अत्यन्त आवश्यक कुरा हो। पुरुष जहाँसुकै गएर बस्न सक्लान्, तर महिलाका लागि आफ्नो भन्ने एउटा सुरक्षित घर हुनुको अर्थ बेग्लै हुन्छ। “त्यति बेला केपी शर्मा ओलीको राजनीतिक उचाइ दिनप्रतिदिन बढ्दै गइरहेको थियो। ओली जनताको नेता बन्दै जानुभएको थियो, तर राधिका शाक्यको मनमा भने सधैँ एउटा फरक चिन्ता रहिरहन्थ्यो। केपी शर्मा ओलीप्रति उहाँको स्नेह, माया र जिम्मेवारी यति गहिरो थियो कि उहाँको मनलाई यदि राधिका शाक्य नरहने हो भने भोलि केपी सर कहाँ बस्नुहुन्छ होला ? उहाँको सहारा को हुन्छ होला” भन्ने प्रश्नले उहाँलाई चिमोटी रहन्थ्यो।  

सन्तान नभएका कारण भोलि छोराछोरी हुर्किएर घर बनाइ देलान भन्ने आशा गर्ने अवस्था पनि थिएन। केपी शर्मा ओलीका नजिकका आफन्त पनि त्यति थिएनन्। उहाँ सानैमा आमाको माया गुमाएर हुर्किनु भएको थियो। त्यसैले राधिका शाक्यको मनमा बारम्बार “यदि मैले जीवनमा अरू केही गर्न नसकेँ पनि, उहाँका लागि एउटा आफ्नै घर बनाइदिन पाए पुग्छ, म रहे पनि, नरहे पनि उहाँ त्यही घरमा सुरक्षित र ढुक्कसँग बस्न सक्नुहुनेछ” भन्ने सोच बारम्बार आइरहन्थ्यो।

यो भावनाले उहाँलाई घर निर्माण गर्न प्रेरित गर्‍यो। तर त्यो सपना सजिलै पुरा हुनेवाला थिएन। राष्ट्र बैंकको कर्मचारीको हैसियतले कमाएको पैसा, झापाको दमकमा किनेको १३ धुर जग्गा र त्यसको विक्रीबाट आएको रकम, गठ्ठाघरमा बेचेको ४ आना जग्गा (कृष्णप्रसाद भट्टराई) प्रधानमन्त्री भएको समयमा राजनीतिक राहत बापत प्राप्त ७५ हजार (पछि सरकारी कोषमै फिर्ता गरिएको) राधिका शाक्यको घर बनाउने अभियानका आर्थिक आधार हुन भन्ने मलाई लागेको छ। जुन रकमबाट २०६० सालमा बालकोटमा १२ लाख रोपनीमा एक रोपनी जग्गा किन्नु भयो र आफ्नो पसिनाले सिँचिएको एक तले घर निर्माण गर्नु भयो। डेराको झन्झटबाट मुक्ति पाएको त्यो दिन सायद तपाईँको जीवनको सबैभन्दा खुसीको क्षण थियो, आफ्नै छत, आफ्नै सुरक्षा र एउटा शान्त संसारको तपाईँको सपना पुरा भएको दिन, त्यो दिन राधिका शाक्यको सबैभन्दा सुकुन् मिलेको दिन थियो। डेरादेखि डेराको जीवनको लामो अस्थिर बसाइँको यात्रापछि पहिलो पटक आफ्नै घरमा प्रवेश गरेको त्यो दिन राधिका शाक्यको जीवनको सबैभन्दा सुखद क्षण थियो। त्यो एउटा दीर्घ सङ्घर्षपछि प्राप्त भएको स्थायित्व, सुरक्षा र शान्तिको अनुभूति थियो। त्यो घर भौतिक संरचना मात्र थिएन, बरु लामो सङ्घर्ष र जिम्मेवारीको परिणाम थियो। यसरी हेर्दा, बालकोटको घर केवल एउटा संरचना होइन, त्यो धेरै वर्षको सङ्घर्ष, अस्थिरता, स्नेह, जिम्मेवारी र भविष्यप्रतिको चिन्तनको परिणाम हो।

५. भाद्र २४, एउटा कालखण्डको कालो दिन 

समय कहिलेकाहीँ मिति मात्र भएर बस्दैन, त्यो हरेक मानिसको स्मृतिमा एउटा प्रश्न बनेर टाँसिन्छ। भदौ २४, २०८२ पनि यस्तै एउटा दिन हो, जसलाई लिएर समाजमा अनेक कथा, अनुभव, प्रश्न र व्याख्याहरू जन्मिएका छन्। भदौ २४ को त्यो कालो दिन, देशले जे देख्यो, जे भोग्यो, त्यो कुनै सामान्य विरोध वा आन्दोलन थिएन। त्यो त हाम्रो सभ्यताको पराजय र अराजकताको नाङ्गो नृत्य थियो । सिंहदरबार जस्तो राष्ट्रको प्रशासनिक मुटु, सर्वोच्च अदालतजस्तो न्यायको मन्दिर, बालुवाटार र शीतल निवासजस्ता राज्यका महत्त्वपूर्ण संरचनामाथि आगो झोस्दै लोकतान्त्रिक संस्थाहरूलाई खरानी बनाउने प्रयास गरिएको दिन थियो। त्यो दिन केवल भवनहरूमा आगो लागेको थिएन, नेपाली जनताको आस्था, विश्वास र राष्ट्रिय आत्म सम्मानमाथि पनि प्रहार भएको थियो। राज्यका प्रतीक, लोकतन्त्रका आधार स्तम्भ र सार्वजनिक सम्पत्तिमाथि गरिएको त्यो आक्रमणले समाजलाई गहिरो घाउ दिएको दिन थियो त्यो। समग्रमा हाम्रा आस्था र विश्वासका धरोहरहरू लगायत नेताहरूका निजी निवास लक्षित आगोको त्यो बर्बर आक्रमण अडोल्फ हिट्लरको ग्याँस च्यामेवरजस्तै एक्काइसौँ शताब्दीको मानवीय इतिहासको क्रूर र कलङ्कको दिन थियो। त्यो दिनले राजनीतिक असन्तुष्टि वा आक्रोशको नाममा विनाशलाई वैधता दिन खोजेको थियो। कथित आन्दोलनले नैतिक उचाइलाई होइन, बरु अराजकताको गहिराइलाई उजागर गरिरहेको थियो। कुनै पनि सभ्य समाजमा विचारसँग विचारको लडाइँ हुन्छ, आगोसँग होइन। तर्कसँग तर्कको प्रतिस्पर्धा हुन्छ, विनाशसँग होइन। जब असहमतिका आवाजहरू संवादको सट्टा ध्वंसमा रूपान्तरित हुन्छन्, तब त्यसले केवल संरचनाहरू मात्र भत्काउँदैन, समाजको नैतिक आधार पनि कमजोर बनाउँछन्। 

भदौ २४ को त्यो दिन, नेपाली इतिहासमा आक्रोशले विवेक गुमाएको र अराजकताले सभ्यतालाई चुनौती दिएको एउटा पीडादायी अध्यायका रूपमा अङ्कित भएको छ। आज पनि जब म त्यो कालो दिनका दृश्यहरू सम्झन्छु, मेरो मुटुभित्र एउटा असह्य पीडा सलबलाउन थाल्छ। धुवाँले ढाकिएको आकाश, आगोले निलिरहेका संरचनाहरू, त्रासले भरिएका अनुहारहरू र मौन बनेको राष्ट्रको विवेक, यी सबै दृश्यहरू अझै पनि हामी नेपालीका स्मृतिमा ताजै छन्। यी स्मृतिका पानाहरू पल्टाउँदा मनभित्र बारम्बार एउटै प्रश्न उठ्छ, के आन्दोलनका नाममा आफ्नै घर जलाउनु कसरी परिवर्तन हुन सक्छ ? के लोकतन्त्रको रक्षा गर्ने नाममा लोकतन्त्रकै आधार स्तम्भहरूलाई खरानी बनाउने काम कसरी आन्दोलन हुन सक्छ ? त्यो दिन केवल भवनहरू जलेका थिएनन्, नेपाली जनताको विश्वास जलेको थियो। केवल पर्खालहरू भत्किएका थिएनन्, नागरिकको आशा र भरोसाका आधारहरू पनि चर्किएका थिए। आगोले केवल सिंहदरबार, अदालत वा अन्य संरचनाहरूलाई मात्र जलाएको थिएन, त्यसले राष्ट्रको आत्मा समेत जलाइ रहेको थियो। हरेक नेपालीका मनहरूमा आगो लगाएको थियो। सुरसार अहिलेसम्म केही नभए पनि समय बित्दै जाँदा खरानीमाथि नयाँ संरचनाहरू पनि ठडिएलान्। तर भाद्र २४ ले मनमा छोडेका चोटहरू यति सजिलै मेटिने छैनन्। इतिहासका पानाहरूले एक दिन अवश्य न्यायको अक्षरहरू बोल्नेछन् र सत्य एक दिन अवश्य बाहिर आउनेछ। तर त्यो दिनको पीडा, अपमान र हाम्रो राष्ट्रिय चेतनामाथि कोरेको घाउ नेपाली समाजले अझै धेरै वर्षसम्म बोकेर हिँडिरहनु पर्नेछ। आज पनि जब म त्यो बिर्सन नसकिने भाद्र २४ को कालो दिनका दृश्यहरू सम्झन्छु, मेरो मात्रै होइन, हामी सबै नेपालीको मुटुले त्यो पीडा पचाउन सक्दैन। देशभरि आगोको ज्वालाले संरचनाहरूलाई निलिरहेका दृश्यहरू, प्रहरी चौकीहरू र सरकारी भवनहरू धुवाँ र खरानीमा परिणत भइरहेका क्षणहरू, राष्ट्रको सेवा गर्ने कर्मचारीहरू र सुरक्षाकर्मीहरू आफ्नो ज्यान जोगाउन वस्त्र विहीन बनेर निहत्था हात उठाउँदै आत्मसमर्पण गर्न बाध्य भएका दर्दनाक दृश्यहरू, यी सबै सम्झँदा मेरो मनभित्र प्रश्नहरूको आँधी उठ्छ । के त्यो अराजकता साँच्चै देशको हितका लागि थियो ? के ती गतिविधिहरूमा मानवता, संवेदना र विवेकको अलिकति पनि अंश बाँकी थियो ? हामीसँग प्रश्नहरूको लामो सूची छ, तर उत्तर दिनेहरू अझै पनि मौन छन्। हामीलाई यही मौनताले झन् बढी पीडा दिएको छ। कहिलेकाहीँ लाग्छ, के हामी इतिहासका यस्ता काला अध्यायहरूको छाया बोकेर बाँच्न मात्र जन्मिएका हौँ ? कि ती अध्यायहरूको सत्य खोज्न, न्याय माग्न र भावी पुस्ताका लागि सही इतिहास लेख्न पनि जन्मिएका हौँ ? यदि होइन भने, किन आजसम्म त्यो दिनको सम्पूर्ण सत्य सार्वजनिक हुन सकेको छैन ? किन राजनीतिक दलहरू मौन छन ? किन सचेत नागरिक समाजको एउटा ठुलो हिस्सा मौनताको पर्दाभित्र लुकेको छ ? किनभने जब राजनीति विवेकहीन बन्छ, तब त्यसले केवल संस्थाहरूलाई मात्र होइन, समाजको संस्कार, संस्कृति र नैतिक चेतनालाई समेत ध्वस्त पार्न थाल्छ। आज हाम्रो माटोमा अविश्वास, निराशा र अन्यायका बीउ रोपिएका छन्। अपराधीहरू निर्भीक छन्, तर सत्य बोल्नेहरू त्रसित छन्। न्याय खोज्ने नागरिकहरू निराशाका गल्लीहरूमा भौँतारिइरहेका छन् र सत्यको पक्षमा उभिनेहरूलाई चुप लगाउने प्रयास भइरहेको छ। तर, सत्यलाई सधैँका लागि लुकाउन सकिँदैन। केही समयका लागि खरानीले आगोलाई ढाक्न सक्छ, तर आगोको तापलाई मार्न सक्दैन। एक दिन त्यही खरानीमुनिको झिल्को ज्वालामा परिणत हुन्छ। इतिहासलाई दबाउन सकिन्छ, मेटाउन सकिँदैन। सत्यलाई रोक्न सकिन्छ, हराउन सकिँदैन। प्रकृतिको नियमजस्तै सत्यको पनि आफ्नै गति हुन्छ, ढिलो हुन सक्छ, तर अन्ततः त्यसले आफ्नो बाटो आफैँ बनाउँछ। 

त्यो घटना केवल बाहिर देखिएको एउटा राजनीतिक उथलपुथल मात्र थिएन। त्यो त हाम्रो सम्पूर्ण सभ्यता, लोकतन्त्र र राष्ट्रिय आत्मसम्मानमाथि परेको गहिरो चोट थियो। तर, यति ठुलो सत्यलाई पनि हामीले कहिलेकाहीँ सामान्य समाचारजस्तै बनाएर हेर्ने बानी बसालिसकेका छौँ, मानौँ यो हाम्रो जीवनसँग प्रत्यक्ष सम्बन्ध नै नराख्ने कुनै टाढाको कथा हो। हाम्रो मनभित्र अझै एउटा प्रश्न बाँचिरहन्छ, हामी किन यति सजिलै मौन हुन्छौँ ? किन आफ्नै इतिहासका पीडादायी अध्यायहरूबारे बोल्न पनि डराउँछौँ ? के हामीलाई मौन बस्न बाध्य पारिएको हो, वा हामी आफैँले बिस्तारै मौनतालाई स्वीकार गर्दै गएका हौँ ? तर, अझै पनि ढिलो भएको छैन। यदि नेपाली नागरिकका आँखा खुले भने, हामीले देखेका सत्यहरू स्वीकार गर्ने हो भने हाम्रा घाउहरू निको पार्ने बाटो अझै बाँकी छ। 

नेपाली समाजलाई पुरानो लयमा फर्काउने बाटो अझै बाँकी छ। तर यदि हामी फेरि पनि मौन रह्यौँ भने, तिमीहरूले सत्य देखेर पनि किन नबोलेको भनेर इतिहासले हामीलाई फेरि सोध्नेछ। तर त्यो ठाउँ हामीले बाँकी राख्नु हुँदैन। जुन देशले आफ्नो विगतका अपराधहरूलाई बिर्सिन्छ, त्यसको भविष्य कहिल्यै उज्यालो हुन सक्दैन। त्यो भाद्र २४ को बीभत्स कालो छायाले हामीलाई अझै पनि तर्साउन खोजिरहेको छ। जबसम्म हाम्रा प्रश्नहरूको जवाफ मिल्दैन र अपराधीहरूले सजाय पाउँदैनन्, तबसम्म यो राष्ट्रले कहिल्यै शान्तिको सास फेर्न सक्दैन। 

६. बालकोटको घरको राजनीतिक महत्त्व

राधिका शाक्य बालुवाटारमै हुँदा जव उहाँले सिंहदरबार जलेको खबर सुन्नुभयो, बालुवाटारमा सर्वोच्च अदालत, बालुवाटार र अन्य संरचनाहरू ध्वस्त भएको खबर आयो र जब आफैले मेहनत र पसिनाले बनेको तर राज्यलाई सुम्पिई सकेको बालकोटस्थित घर जलेको खबर आयो। उहाँ हतारिएर तपाईको मेहनतमाथि लागेको आगो निभाउन जान खोज्नु भयो। तपाईकै अगाडि देश र बालकोट जलिरहेको सूचना बोकेर बालुवाटारमा देशका सुरक्षा अङ्गका प्रमुखहरू बसेका थिए। उहाँहरुकै अगाडि तपाई बालकोटको जलाउन लागेको घरलाई रोक्न त्यहाँ जाने कुरा गर्नुभयो। तर सेनापति सहितका सुरक्षा प्रमुखहरु थाहा पाएर पनि नपाएजस्तो गरेर बसिरहे। देशको प्रथम महिलाको यो चिच्याहट उनीहरु सुन्न तयार भएनन् र त्यसप्रति उनीहरु मौन बसीरहे। त्यो मौनता उनीहरुको देश जलाउनुको नियतीसँग गाँसिएको थियो। यो सत्य देशले कहिले बुझ्छ होला ? जब यो सत्य देशले बुझ्छ नि, फेरी त्यहाँ यो लुकेको अन्यायको विरुद्ध अर्को क्रान्ति अवश्य हुन्छ। तर भाद्र २४ का पीडा सहनेहरुको एउटै प्रश्न छ, यी जलाउनेहरुको जीन्दगी कसरी वित्छ होला र यिनीहरुको मृत्यु कसरी हुन्छ होला ? 

तपाईको करुणा भाग-२ मा तपाईँले नै लेख्नु भएको छ नि। शक्ति त्यस्तो चीज हो, जसले सत्यलाई सधैँकालागि नभए पनि केही समयका लागि कुल्चन सक्छ। पापीहरूले, दुष्टहरूले, देशघातीहरुले, लोकतन्त्र विरोधीहरूले, विदेशीको जुठो पुरो चाटनेहरुले हाम्रो इतिहासलाई, हाम्रो निष्ठा र सत्यलाई केही समय भ्रमको खेती गरेर इतिहास बङ्ग्याउन सक्छन्। तर जब असत्यको पर्दा च्यातिन्छ नि, त्यस दिन असत्यको अँध्यारो हटेर सत्यको झलमल बिहानी उदाउँछ। तपाईको रगत र पसिनाबाट बनेको घर मानिसहरूले इँटा र सिमेन्टको घर ठानेका छन भने त्यो उनीहरूको गलत बुझाई हो। 

समय बित्दै जाँदा बालकोटको त्यो घर निजी निवास मात्र रहेन। पार्टीका नेता, कार्यकर्ता, कूटनीतिज्ञ, पत्रकार, बुद्धिजीवी र सर्वसाधारणको निरन्तर आवतजावत हुने स्थान थियो। धेरै राजनीतिक निर्णय, संवाद र छलफल त्यही घरमा हुन्थे। एउटा साधारण पारिवारिक घर सार्वजनिक राजनीतिक संवादस्थलमा रूपान्तरण भएको थियो।

यही कारणले राधिका शाक्यले बनाएको बालकोटको घर, एउटा सामान्य घर थिएन, समकालीन नेपालको राजनीतिक यात्रासँग जोडिएको एउटा कालखण्डको साक्षी पनि थियो। त्यसैले त्यस घरलाई बुझ्नु भनेको केवल एउटा भवनलाई बुझ्नु होइन, एउटा युगको सामाजिक, राजनीतिक र मानवीय कथा बुझ्नु हो।

मैले मेरो विद्यावारिधिको दौरानमा अमेरिकाका भूतपूर्व राष्ट्रपति बराक ओबामाको दश वर्षे शासनपछिको बिदाइ समारोहको भाषण सुनेको थिए। बाराकले आँखामा आँसु झार्दै आफ्नो बिदाइ भाषणमा आफनी पत्नी मिसेल ओबामालाई सम्बोधन गर्दै भनेका थिए। मिसेल, यु मेड अ ह्वाइट हाउस पिल्जर इभ्भरीवोडी। आज म एउटा कुरा भन्न चाहन्छु। हामी अमेरिका होइनौ, हाम्रो बालकोट हवाइट हाउस पनि छोइन। तर तपाईँलाई केपी बा ले एक दिन भन्नु हुन्छ होला, उहाँले भन्नैपर्छ, राधिका, तिमीले बनाएको यो घर हरेक नेपालीहरूको, एमाले कार्यकर्ताहरूको साझा घर जस्तो भयो नि। साँच्चै दुष्टहरूले जलाएको त्यो तपाईको मेहनत र पसिनाबाट बनेको घर हरेक नेपालीहरूको साझा घर नै त थियो। त्यो घर इँटा, सिमेन्ट र बालुवाले मात्र बनेको थिएन, त्यो त विश्वास, सद्भाव, प्रेम, आस्था र आशाले पनि बनेको थियो। 

सबैका घर निर्माणका आफ्नै कथा र व्यथाहरू छन् र होलान्। तर बालकोटमा तपाईले बनाएको घर, जहाँ लाखौँलाख मानिसहरूले पाइला टेके । हजारौँ मानिसहरूले त्यो घरका कोठाहरूबाट पाइदाका पोकाहरू बोकेर निस्के। हिजो त्यो घरको गेटभित्र पस्नु मात्र मानिसहरूको गौरवको विषय थियो। तर आज दुर्जनहरूको आगोको सिकार बनेर भग्नावशेष बनेको त्यो घरको बारेमा चुँसम्म पनि बोल्दैनन् बरु उल्टो लाजघीन पचाएर त्यो खरानीको समर्थनका आवाजहरू बोल्न खोज्छन्। किन मान्छेहरू यति निर्लज्ज बनेर बलेको आगो मात्रै ताप्न खोज्छन् ? प्रश्नहरू सवैतर्फ तेर्सिएका छन्। अराजकहरूले तपाईहरुले राज्यलाई सुम्पिइ सकेको त्यो बालकोटको घर मात्र जलाएका छैनन्। त्यो बालकोटको घरसँगै नेपालीहरूको आस्था जलाएका छन। हाम्रो आदर्श जलाएका छन। घरका हरेक भित्ताहरूमा सजाइएका देश विदेशबाट प्राप्त उपहार, सौजन्यहरू मात्र जलाइएका छैनन्, एउटा युगको सम्झना र इतिहास जलाइएका छन। त्यहाँका बहुमूल्य उपहार चोरी भएका छन। जलेकै भए कम्तीमा त्यसको खरानी त त्यहाँ हुुनुपथ्र्यो। तर त्यहाँ त त्यसको खरानी पनि छैन। पछिल्ला वर्षहरूमा बालकोट जति मानिसहरू पुगे, उनीहरूले देखेको हुनु पर्दछ। दुई वटा घरका भ¥याङदेखि हरेक कोठाका भित्ताहरूमा झुन्डिएका सौजन्य र उपहारहरू कुनै भौतिक बस्तु मात्र थिएनन्। यी देशभित्र र बाहिरका मानिसहरूले दिएको माया सम्मान र सम्झनाहरू थिए। नागरिक र केपी बा प्रतिका सम्बन्ध र सम्झनाका सेतुहरू थिए। 

केपी बा प्रति देश विदेशका नागरिकहरूको सम्मान सायद अर्को नेपालीले पाएको थिएन। ती सबै प्राप्त उपहारहरूलाई आउँदो पुस्ता कालागि प्रेरणा बनुन भनेर तपाईले बर्सो मेहनत गरेर किला काँटी समेत ठोकेर तिनीहरुको जतन गर्नुभएको थियो। आफ्नो जीवनपछि देशले उपयोग गर्नेगरि राज्यलाई सुम्पिएको यो घरमा एउटा कालखण्डको इतिहास तपाईले तयार पार्नु भएको थियो। तर फटाहा र अराजकहरूले ती सबै सौजन्यहरूमा आगो लगाए। यहाँ आगो लगाउँदा केपी शर्मा ओलीको घर मात्रै जलेको थिएन, अराजकहरूले एउटा युगका अभिलेखहरू समेत जलाएका थिए । तर यत्रो इतिहास जल्दा पनि नागरिक मौन छ अहिले ? जलेका धरोहरहरू कहिले बन्छ भनेर नागरिक प्रश्न गर्दैन अहिले ? सरकार मौन छ, मानिसहरू त्रासदीपूर्ण मन बोकेर रमिता हेरिरहेका छन। आखिर यो समाज किन बोल्दैन ? के मानिसहरूमा संवेदना हराएकै हो ? देशको सार्वभौमिकतामाथि धावा बोल्दा, खुलेर टीओवीहरु सडकमा निस्कदा, मान्छेहरूका घर र देशका आस्थाका केन्द्र जलाउँदा पनि मान्छेहरू किन प्रश्न गर्दैैनन आमा ? सुकुम्वासीहरूका घरमा डोजर जलाउँदा, लोकतान्त्रिक अधिकार भनेर खुलेका पेसागत सङ्गठनहरू बन्द गराउँदा समेत मानिसहरू किन हातमुख बन्द गरेर बसेका होलान् ? देशमा रोजगार छैन, मानिसहरू आर्थिक सङ्कटमा छन्। सेवा सुविधालाई केन्द्रीकरण गर्न खोजिएको छ। तर पनि मानिसहरू किन चुपचाप छन ? के नेपाली समाज मनोवैज्ञानिक त्रासमा फस्दै गएको हो ? के नेपाली समाज मूल्य विहीन समाज बन्दै गएको हो र मानिसहरू सामाजिक निराशाको रोगको सिकार बन्दै गएका हुन ? नभए त वीरता र गौरवले भरिएको यो नेपाली समाजले कम्तीमा प्रश्न त राख्नु पर्ने हो। तर मानिसहरू अराजकताको समर्थन गर्दै मौनताका मलामी बनिरहेका छन्।

बालकोट पार्टीका नेता कार्यकर्ताहरूको साझा गन्तव्य थियो। हाम्रो केपी बा ले मान्छेहरूको भेटघाट कि त पार्टी कार्यालय, कि त बालकोट मै गर्नुभयो । पार्टीको अध्यक्षको हैसियतले उहाँले बालकोटमा कूटनीतिक नियोग देखी अन्य स्वदेशी तथा विदेशी मानिसहरूलाई त्यो तपाईले बनाएको घरमा नभेटेर कुनै महँगो होटेलमा भेटेको भए, त्यो विल पार्टीले तिर्नु पर्दथ्यो । कम्तीमा तपाईले बनाइदिएको त्यो घर हरेक कूटनीतिक मानिस देखी देशी विदेशी मानिसहरूको भेटघाटको केन्द्र बन्यो। यो भेटघाटमा चिया चमिना पनि त खर्च भयो होला। के यो तपाईले पार्टीलाई गरेका योगदान होइन र ? हामी द्वन्द्वात्मक भौतिकवादका विद्यार्थी हौ। हामीलाई रातपछि दिन र दिनपछि रात आउँछ भन्ने कुरा राम्रोसँग थाहा छ। सत्य असत्य अग्लो, होचो, अँध्यारो, उज्यालो, कालो, सेतोको अस्तित्वको द्धन्द्धवादी नियम थाहा छ। आज देशको लोकतन्त्रको आस्थामाथि प्रहार हुँदा आफनाहरु आगोमाथि घ्यू थप्न खोजिरहेका छन् । तर भौतिक संरचनालाई खरानी बनाएर मानिसको इतिहास जलाउन सकिँदैन। केही थान पुस्तकहरू जलाएर मानिसको विचार जलाउन सकिँदैन । केही थान घर जलाउँदैमा मानिसको सङ्घर्ष र अस्तित्व जलाउन सकिँदैन। यो विदेशीको जुठोपुुरो खाएर उनीहरूको इसारामा राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्नेहरूले बुझनु पर्दछ। बैमानहरुले, देशघातीहरुले हाम्रो संरचना जलाए होला, तर हाम्रो विचार, हाम्रो अठोट र हाम्रो गन्तव्य जलाउन सक्ने छैनन् । यति वेला हाम्रो शक्ति भनेको त्यही खरानी हो। खरानी हाम्रो कसम हो। त्यही खरानीलाई मुठिठमा कसेर हामी उठ्ने छौ। हामी उठेको दिन, देशलाई माया गर्ने देशभक्तहरू उठेको दिन जलाउनेहरूले देशमा बास समेत पाउने छैनन्।

भेटघाट, राजनीतिक महत्व, यो घरमा बसेर गरिएका राजनीतिक निर्णय, देश विदेशमा त्यो घरकाबारेमा भएको चर्चा र यो घरले नेपाली राजनीतिमा गरेको योगदानका कारण आज जलेको नै भएपनि बालकोटको केपी शर्मा ओलीको घर राष्ट्रिय घर हो, भने त्यो घरका बा र आमा दुवै राष्ट्रिय बा र आमा हुन्। राधिका शाक्य केपी शर्मा ओलीको जीवनको आरोह अवरोहको एउटा सजीव यात्री हुनुहुन्छ। केपी शर्मा ओलीको राजनीतिक उचाईमा तपाईको योगदान छ। आज केपी शर्मा ओलीले पार्टीको राजनीतिक जीवन र देशको जीवनमा जुन योगदान गर्न सक्नु भयो र गरिरहनु भएको छ, त्यसमा तपाईको योगदान छ। तर तपाईका योगदानहरु धेरै छाँयामा छन्। बालकोटको घरले पार्टी र देशलाई जुन योगदान दियो, बालकोटको घरले जुन सार्वजानिक र राष्ट्रिय छवि बनायो, जुन घरमा लाखौलाख मानिसहरुले पाइला राखे। त्यस घरको सृष्टि र निर्माणकर्ता र त्यसको योगदानका आधारमा तपाई अव तपाई केपी शर्मा ओलीको धर्मपत्नी मात्रै होइन, एक लेखिका र समाजसेवाको छवि बनाइसक्नु भएकी राधिका शाक्य पार्टी कार्यकर्ताहरुकालागि एक आमा पनि हुनुहुन्छ।  

बालकोट, बालुवाटार र पछिल्लो अवधिमा गुण्डुका हरेक कोठाहरूमा केपी शर्मा ओलीसँग संवाद, सहकार्य, फाइदा बेफाइदाका भलाकुसारीहरूको प्रत्यक्षदर्शी नेपालमा कोही छ भने त्यो तपाई मात्रै हुनुहुन्छ। १४ बर्ष जेल जीवन विताएका दुई पटक मिर्गौला प्रत्यारोपण गरेका केपी शर्मा ओलीको स्वास्थ्य तन्दुरुस्त बनाएर देशको सेवाकालागि तयार बनाउने तपाई बाहेक कोही होइन, त्यहाँ तपाईको योगदानको मूल्य आज छाँयामा पारिएको छ। तर जव तपाईको यो योगदानको मूल्य नेपाली समाजले बुझने छ नी, त्यसपछि तपाईको नेपाली राजनीति र समाजप्रतिको योगदानलाई पनि सँगसँगै बुझने छ । केपी शर्मा ओलीले आफना धेरैजसो राजनीतिक भेटघाट बालकोटको घरबाट गर्नुभयो। मानिसहरुले घरबाट राजनीति गर्ने भनेर उल्टो अर्थ लगाउन खोजे। तर यो भेटघाटले तपाईको व्यक्तिगत समय खोसिएको मानिसहरुलाई पत्तै भएन। यो भेटघाटको आर्थिक बोझ र त्यसको मूल्य मानिसहरुलाई थाहा नै भएन। जव मानिसहरुले तपाईको खोसिएको व्यक्तिगत समयको मूल्य र आर्थिक बोझको मूल्य थाहा पाउँछन नी, त्यसपछि उनीहरुले तपाईको देश र पार्टीप्रतिको योगदान पनि थाहा पाउँछन। 

मानिसहरुले आफनो घरमा केही पाहुनाहरु आउँदा झर्को मान्ने समाजमा तपाईको त्यो बालकोटको घरले त्यत्रो भीडको व्यवस्थापन कसरी ग¥यो होला ?“ यो प्रश्न हरेक नेताकी श्रीमतिहरुले सोचेका छन की छैनन होला ? यसपछि पनि पार्टीमा कोही व्यक्ति अध्यक्ष हुन सक्ला ? उनीहरुले राजनीतिक काममा उपयोग भएको बालकोटको घरजस्तै उनीहरुको नीजि निवासको उपयोग गर्छन की गर्दैनन् होला ?” राधिका आमाको प्रश्न हो यो। उतर त समयले नै देला। 

७. देखिएको तर नलेखिएको एउटा इतिहास 

केपी शर्मा ओलीको जीवनको आरोह अवरोहकी साक्षी, विना कुनै स्वार्थ केपी शर्मा ओलीको राजनीति र उहाँको देशप्रतिको योगदानमा आपना जीवनका सबै तागत र ऊर्जा खर्चनु भएकी राधिका शाक्यको पार्टी र देशप्रतिको योगदान निस्वार्थ छ। 

राधिका शाक्यको पहिचान पारिवारिक भूमिकामा सीमित छैन, हामी धेरैले उहाँलाई सरल, संयमित र संवेदनशील स्वभाव भएकी व्यक्तित्वका रूपमा जान्दछौ। सार्वजनिक रूपमा धेरै नदेखिने भए पनि उहाँको राजनीतिक जीवनको पृष्ठभूमि निकै मूल्यवान् छ। राधिका शाक्यको व्यक्तित्वमा देखिने प्रमुख पक्ष करुणा र सादगी जीवन हो। सार्वजनिक जीवनको उच्च दबाब र राजनीतिक अस्थिरताबीच शान्त जीवनशैलीलाई प्राथमिकता दिने व्यक्तित्व राधिका शाक्य सधैँभरि विवादभन्दा टाढा रहनुभयो। राजनीतिक नेतृत्वसँग जोडिएका परिवारजनहरूको भूमिका बाहिरबाट कम देखिए पनि भित्री रूपमा जोडिएको भावनात्मक सहयोग महत्त्वपूर्ण हुन्छ । यसको एक ज्वलन्त उदाहरण राधिका शाक्य हुनुहुन्छ।

आज पार्टीको राजनीति जुन ढङ्गले अगाडि बढिरहेको छ। त्यो हिजो र आजको फरक राधिका आमालाई राम्रोसँग थाहा छ। आफ्नो स्वार्थ पुरा गर्न, आफ्नो पदीय हैसियत कायम गर्न, मन्त्री बन्न, कसले के मात्र गरेनन्, त्यसको उहाँ जीवन्त साक्षी हुनुहुन्छ। देशका प्रशासनिक निकायका मान्छेहरू, सुरक्षा अङ्गका मान्छेहरू आफ्नो स्वार्थ पुरा गर्न के के सम्म गरे, त्यसको एक मात्र गवाही हुनुहुन्छ। आज पार्टीभित्र र बाहिरबाट हाम्रो आस्था र विश्वासको धरोहर केपी शर्मा ओलीमाथि जुन आरोप छ, ती फाइदाका पोखा पन्त्यौरा बोक्नेहरूबाटै छ। हाम्रो तपाईँलाई अनुरोध छ, सुरक्षा, प्रशासनदेखि पार्टीभित्रको वास्तविकताका बारेमा तपाई एकपल्ट बोल्नै पर्दछ। तपाईँको आवाजबाट भ्रम र स्वार्थको इतिहास च्यात्न एउटा युगको साक्षीको रुपमा नयाँ पुस्तालाई वास्तविकता बुझाउन तपाई बोल्ने बेला आएको छ। 

यसरी हेर्दा राधिका शाक्य एउटा व्यक्ति होइन, एउटा चेतना र व्यवहार जस्तो लाग्दछ। म उहाँलाई “पाटनकी छोरी” र प्रतीकात्मक अर्थमा पार्टीप्रति उहाँले गरेको योगदानलाई एउटा अलिखित इतिहास भन्न रुचाउँछु। यो कुनै राजनीतिक घोषणा होइन। यो उहाँप्रतिको एउटा भावात्मक सम्मान हो। त्याग, करुणा, धैर्य र संरक्षणको प्रतीकका रूपमा गरिएको सम्बोधन हो ।

अन्त्यमा, इतिहास आवाज र अक्षर मात्रै होइन, कर्म हो। मानिसले आवाज सुन्ने र अक्षर पढ्ने मात्रै होइन, नलेखिएका कर्महरू पनि सम्झन्छ । मानिस आरोप प्रत्यारोपभन्दा माथि उठेर वास्तविक योगदानको मूल्य सम्झन्छ। यसरी हेर्दा पाटनदेखि बालकोटसम्मको नलेखिएको एउटा त्यागको इतिहासले राधिका शाक्यको परिवार, पार्टी र देशप्रति गरेको कर्म बोल्दछ।  

Skip This