काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संघीयताको विपक्षमा उभिएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले (रास्वपा) प्रति लक्षित गर्दै संघीयता आदिवासी जनजाति, मधेसी, दलित, अल्पसंख्यक समुदाय तथा पिछडिएको क्षेत्रका नागरिकहरूको दशकौँ लामो संघर्ष र आकांक्षाको परिणाम भएको बताएका छन्। उनले ऐतिहासिक संविधानसभामार्फत संघीय व्यवस्था संस्थागत गरिएको उल्लेख गरेका छन्।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संघीयता आदिवासी जनजाति, मधेसी, दलित र अल्पसंख्यक समुदाय तथा पिछडिएको क्षेत्रको दशकौँ लामो आकांक्षा र संघर्षको परिणाम हो, जसलाई ऐतिहासिक संविधानसभाले संस्थागत गरेको थियो।’
महासचिव पोखरेलले चुनावका बेला प्रदेश र स्थानीय तहलाई थप बलियो बनाउने प्रतिबद्धता जनाएर जनमत हासिल गरेको रास्वपाले आफ्नो राष्ट्रिय महाधिवेशनमार्फत संघीयताकै विरोधमा उभिने काम गरेको दाबी गरे। उनले निर्वाचनका समयमा एउटा वाचा गर्ने र सत्तामा पुगेपछि त्यसको ठीक विपरीत गतिविधि अघि बढाउनु सत्तारूढ दलको अस्वाभाविक चरित्र भएको टिप्पणी गरेका छन्।
‘तर, विडम्बना ! चुनावका बेला ‘प्रदेश र स्थानीय तहलाई थप बलियो बनाउने’ दाबी गरेर जनताको मत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो राष्ट्रिय अधिवेशन मार्फत संघीयताकै विरुद्धमा आफूलाई उभ्याउने काम गरेको छ। चुनावमा एउटा वाचा गर्ने र सत्तामा पुगेपछि ठीक विपरीत क्रियाकलाप अघि बढाउने सत्तारूढ दलको यो चरित्रले समाजमा नयाँ राजनीतिक द्वन्द्वको बीउ नरोपोस् भन्ने कुरामा सबै सचेत हुन जरुरी छ’ महासचिव पोखरेलले भनेका छन्।
उनले यस्ता गतिविधिले समाजमा नयाँ राजनीतिक द्वन्द्वको बीउ रोप्न सक्ने भन्दै सबै पक्ष सचेत हुनुपर्ने बताएका छन्। साथै, निर्वाचनका समयमा जनतासमक्ष गरिएका प्रतिबद्धताविपरीतका गतिविधिविरुद्ध एकजुट भएर खबरदारी गर्न पनि उनले आह्वान गरेका छन्।






प्रतिक्रिया