वीरेन्द्रनगर- यस अघि महिलामैत्री शहर घोषणा गरेकी वीरन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले छोरी बचत खातामा राख्ने रकम दोब्बर बनाउने घोषणा गरेकी छिन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रष्तुत गर्ने क्रममा उनले आज सो घोषणा गरेकी हुन् । महिलाका लागि सुरक्षित शहर भनेर त्यसै अनुसारका पूर्वाधार निर्माणमा लागि परेकी प्रमुख ढकालले यस अघि नगरभित्र छोरी जन्मिदा उनको बचत खातामा राखिदिने १ हजार रुपैंयालाई दोब्बर बनाएर २ हजार पुर्याएको घोषणा गरेकी छिन् । ढकाल यहाँकी प्रथम नगरप्रमुख महिला हुन् ।
यस अघि नै नगर गौरव कार्यक्रमको रुपमा अघि बढाइएको यो कार्यक्रमलाई यसपाली प्राथमिकताका साथ राखेकी छिन् । नीति तथा कार्यक्रमको १०४ नं बुँदामा यस विषयलाई समेटिएको छ । ‘वीरेन्द्रनगर नगरपालिकाको नगर गौरव आयोजनाको रुपमा रहेको छोरी बचत कार्यक्रमलाई निरन्तरता दिंदै बैंक खाता खोल्नेलाई रु १ हजारलाई यस वर्ष देखि २ हजार रुपैंया पुर्याइने छ ’ प्रमुख ढकालले भनेकी छिन् ।
ढकालले निर्माणाधिन भेरी लिफ्टिङ खानेपानी आयोजनालाई थप तिव्रता दिने घोषणा गरेकी छिन् । बजार क्षेत्रको ढल निकासलाई तिव्रताका साथ अघि बढाइने उनले जनाएकी छिन् । नगरबासीलाई यातायातमा सहज पहुँच पुर्याउन नगर बस सञ्चालन गर्ने कार्यक्रम नगरपालिकाले अघि सारेको छ ।






प्रतिक्रिया