काठमाडौं— नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्य ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पारित दस्तावेजबारे कडा टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै आचार्यले रास्वपाको दस्तावेज पारित भएको हल्ला सत्य भए त्यसले नेपालको संविधानको आधारभूत संरचना (बेसिक स्ट्रक्चर) माथि प्रत्यक्ष प्रहार गर्ने बताएका छन्।
उनले उक्त प्रस्ताव सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत रहेको दाबी गर्दै यसलाई “सस्तो लोकप्रियतावाद (पपुलिजम) र दक्षिणपन्थी सोचको मिश्रण” को संज्ञा दिएका छन्। आचार्यका अनुसार यस्तो अवधारणाको मुख्य उद्देश्य जनतामा वर्तमान व्यवस्थाप्रति वितृष्णा पैदा गर्नु र मुलुकलाई पुनः अस्थिरताको दुष्चक्रतर्फ धकेल्नु हो।
फेसबुक स्टाटसमा उनले रास्वपाको प्रस्ताव संविधानको रक्षा, सङ्घीयताको सुदृढीकरण तथा समावेशी लोकतन्त्रको पक्षमा नरहेको उल्लेख गरेका छन्। “रास्वपाको यो प्रस्ताव परिवर्तनविरोधी र प्रतिगामी भएकाले मुलुकको हितमा कदापि छैन,” उनले लेखेका छन्।
रास्वपाले हालै सम्पन्न महाधिवेशनबाट विभिन्न वैचारिक तथा नीतिगत दस्तावेज पारित गरेको चर्चा भइरहेका बेला एमाले नेताको यो प्रतिक्रिया सार्वजनिक भएको हो। रास्वपाले भने आचार्यको आरोपबारे औपचारिक प्रतिक्रिया दिएको छैन।






प्रतिक्रिया