अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमनका थप सात कर्मचारीविरुद्ध पक्राउ पुर्जी

भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमनका थप सात कर्मचारीविरुद्ध पक्राउ पुर्जी


काठमाडौँ-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चलेको प्रहरी अनुसन्धानले देखाएको छ। जिल्ला अदालतले गिरोहमा आबद्ध थप सात अध्यागमन अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

जिल्ला अदालत, काठमाडौँबाट अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डङ्गोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलियामाथिको अनुसन्धान गर्दा थप कर्मचारीको संलग्नता पुष्टि भएको हो । सोही आधारमा केही दिनअघि पक्राउ पुर्जी लिएर यसमा संलग्न थप कर्मचारीको खोजी सुरु भइसकेको छ । यसअघि नै अर्का अधिकृतविरुद्ध मुद्दा दायर भइसकेको छ ।

प्रहरी स्रोतका अनुसार अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले ९ माघमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकृत खड्कासहित १० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । उनीहरूको बयान र मोबाइलमाथि अनुसन्धान हुँदा संगठित गिरोहको संलग्नता पुष्टि भएको हो । अधिकृत खड्काले पक्राउ पुर्जी भएका सातैजनाको नामसमेत लिएर आफूहरूले मिलेरै भिजिट भिसामा यात्रा अनुमति दिने गरेको र पैसा बाँडेर लिने गरेको बयान दिएका छन् ।

उनको मोबाइलमा समेत यससम्बन्धी प्रमाण प्रहरीले फेला पारेको छ । सोही आधारमा उनीहरूलाई समेत प्रतिवादी बनाउन लागिएको हो । भिजिट भिसाको सेटिङमा प्रहरीले लिखत किर्ते तथा संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । अनुसन्धान अन्तिम चरणमा रहेको र केही दिनभित्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारी भइरहेको छ।

दुई महिनाअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस प्रकरणमा प्रारम्भिक अनुसन्धान थालेको थियो। अपराध अनुसन्धान कार्यालयले अधिकृत खड्कासहितलाई पक्राउ गरी विस्तृत अनुसन्धानका लागि परिसरमा बुझाएको थियो। ३९ जना पक्राउ परेकामा किर्ते कागजपत्र बनाउने समूहविरुद्ध यसअघि नै अर्काे मुद्दा दायर भइसकेको छ।

सुरुमा बिचौलिया गीता साहलाई पक्राउ गरी प्रहरीले यसको अनुसन्धान थालेको थियो । उनीमार्फत ट्राभल एजेन्सी सञ्चालक सरोज यादव पक्राउ परेकोमा उनीमार्फत नै प्रहरी अध्यागमन अधिकृत खड्कासम्म पुगेको हो । खड्काले यसमा संलग्न अन्य कर्मचारी र बिचौलियाबारे प्रहरीलाई खुलाएका थिए ।

सोही आधारमा ट्राभल एजेन्सी सञ्चालक पदम लामा, छिरिङ लामा, विनोद कार्की, रामप्रसाद भण्डारी, दिनेश ज्ञवालीलगायतलाई प्रहरीले पक्राउ गरेको हो । अधिकृत खड्काले श्रीमतीको बैंक खातामा समेत घुस लिने गरेका थिए ।

बिचौलियालाई ह्वाटएसपमा उनले श्रीमतीको बैंक खाताको क्युआर कोडसमेत पठाएको फेला परेको छ। अधिकृत भण्डारीकै बयानका आधारमा यसअघि अर्का अधिकृत ताराबहादुर कुँवरविरुद्ध प्रहरीले मुद्दा दायर गरिसकेको छ। अध्यागमनको सेटिङमा दैनिक तीन सयजनासम्म विदेश उड्ने र अध्यागमन कर्मचारीले औसतमा प्रतिव्यक्ति ४० हजार रुपैयाँ पाउने गरेको पक्राउ परेकाबाट खुलेको छ।