अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुकुम पश्चिममा प्रहरीलाई कुटपिट गर्ने चारजना पक्राउ

रुकुम पश्चिममा प्रहरीलाई कुटपिट गर्ने चारजना पक्राउ


रुकुम पश्चिम-रुकुम पश्चिममा ड्युटीमा रहेका दुई प्रहरी कुट्ने चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले ड्युटिमा रहेका प्रहरीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा चार जनालाई पक्राउ गरिएको बताउनु भयो।

पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका-४ का २८ वर्षीय लक्ष्मण बिक, सोही वडाका २२ वर्षीय जनक खनाल, वडा नम्बर ५ का २२ वर्षीय कैलाश पुरी र वडा नम्बर ६ का १५ वर्षीय बालक छन् ।

सोमबार प्रहरी निरीक्षक खड्काको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । आइतबार साँझ जिल्लाको बाँफिकोट-३ स्यार्पुमा ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवानहरु महेन्द्रबहादुर शाही र हिमराज खड्का माथि कुटपिट भएको थियो। 

प्रहरीका अनुसार होहल्ला गर्दै हिँडेका युवालाई सम्झाउन खोज्दा प्रहरीमाथि हातपात र  ढुङ्गा प्रहार भएको थियो। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ। उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।